सीप विकास तालिम प्रतिष्ठान सुनसरीमा निशुल्क तालिमको अवसर
व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान इटहरी सुनसरीले एकसय जनाको लागि ३ सय ९० घण्टाको निशुल्क रुपमा विभिन्न सीपमुलक तालिम सञ्चालन गर्ने भएको छ । जसमा सिलाई कटाइ, इलेक्ट्रिकल, ब्युटिसियन, प्लम्बिङ्ग सम्बन्धी तालिम दिइने प्रतिष्ठानले बताएको छ।
कक्षा ७ उत्तीर्ण गरेका र १८ पुरा भई ४५ वर्ष ननाघेकोले सिधै प्रतिष्ठानको कार्यालय इटहरीमा गएर आवेदन दिन सक्नेछन् । आवेदन बुझाउने अन्तिम मिति यही बैशाख २० सम्म रहेको छ ।
प्राप्त भएका दरखास्तहरू अध्ययन गरी शैक्षिक योग्यताका आधारमा प्रतिष्ठानले अन्तर्वार्ता मार्फत प्रशिक्षार्थीहरू छनोट गर्नेछ । प्रशिक्षार्थी छनोट गर्दा विपन्न, दलित, अपाङ्ग, शहीद परिवार, एकल महिला र पिछडिएका क्षेत्रका व्यक्तिलाई बढी प्राथमिकतामा राख्ने प्रतिष्ठानले बताएको छ ।
प्रतिष्ठानका अनुसार छनोट परेकाहरूले तालिम अवधिभरको बस्ने र खाने व्यवस्था आफैले गर्नु पर्नेछ, भने तालिम सञ्चालन भएको दिनमा आवेदकलाई खाजा खर्च वापत प्रतिव्यक्ति ५० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको छ ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार एक समूहमा २० जना प्रशिक्षार्थीहरूलाई सहभागी गराइने र तालिम पश्चात प्रशिक्षकहरूले सम्बन्धित क्षेत्रमा रोजगारको लागि पनि सहयोग गरिदिने व्यवस्था गरिएको छ ।