संस्थागत श्रम स्वीकृति अब अनलाइनबाटै
आगामी बैशाख २ गते देखी लागू हुनेगरि वैदेशिक रोजगार विभागले अनलाइन प्रणालीबाट संस्थागत श्रम स्वीकृति जारी हुने व्यवस्था सुरु गर्ने भएको छ । वैदेशिक रोजगार विभागका कार्यालय प्रमुख रमेश अर्यालका अनुसार संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरूका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो ।
आधुनिक प्रविधिको प्रयोगपछि सहज र सरल तरिकाबाट छिटोछरितो रूपमा गुनासो रहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशनानुसार पुनः श्रम स्वीकृतिसँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको रमेशको भनाइ छ । विभागले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ ।
विभागले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै सेवा लिँदै आएका छन् । वैदेशिक रोजगार विभागको तत्थ्यांक अनुसार गत फागुनमा मात्रै २४ हजार ९ जनाले संस्थागत श्रम स्वीकृति लिएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीति अनुसार अनलाइन प्रणालीको विकास गरिएको बताए । कागजात जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुनसक्ने भएकाले तीन दिनअघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई कार्यालयले अनुरोध पनि गरेको छ ।