पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले खुलायो ५ सय ६० जनाको लागि सशुल्क तालिम          

जीविको २०७८ चैत २२ गते १५:२८

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले विभिन्न ९ शीर्षकमा ५ सय ६० जनाका लागि सशुल्क तालिमको दरखास्त आव्हान गरेको छ । टुरिस्ट गाइड, चाइनिज कुक, इन्डियन कुक, बारटन्डिङ जस्ता शीर्षकमा तालिमका लागि आवेदन माग गरिएको हो ।  जसमा २ सय टुरिस्ट गाइड, बेसिक फुड प्रिपरेसन कुकका लागि ८० जना साथै बेकरी बारटेन्डर, चाइनिज कुक, इन्डियन कुक, हाउसकिपिङ, सामान्य कुक जस्ता विषयमा ४०-४० जनाको दरले दरखास्त आव्हान गरिएको न्याथमले जनाएको छ ।

तालिमका लागि १० हजार देखि २५ हजारसम्म तालिमको विषय र अवधि हेरेर शुल्क लाग्नेछ । आवेदन चाहनेले न्याथमको वेबसाइट www.natham.gov.np बाट फारम डाउनलोड गरि आवेदन दिन सक्नेछन् । दरखास्त फारमसँग हालसालै खिचिएको पासपोर्ट साइज फोटो, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्ने छ । दरखास्त फारमको लागि ५ सय रुपैयाँ दस्तुर लाग्ने न्याथमले जनाएको छ ।  सहभागीको छनोट अन्तरवार्ताको माध्यमबाट गरिनेछ । दरखास्त दिने अन्तिम मिति आगामी वैशाख २० गतेसम्म रहेको छ ।

“हामीले दिएका तालिमहरू व्यवहारिक हुन्छन्, विगत ५० वर्षदेखि सञ्चालन गरिँदै आएको तालिममा उत्साहजनक सहभागी हुने गरेका छन्,” न्याथमका प्रवक्ता ज्ञानेन्द्र पण्डितले बताए ।

प्रदेशस्तरमा पनि न्याथम स्थापना गर्ने सोचले भौतिक संरचनाहरू निर्माण हुँदै आएको र भविष्यमा प्रदेशस्तरमा पनि यस किसिमका कार्यक्रमहरू सञ्चालन गरिने उनले जानकारी दिए ।  नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) पर्यटन तथा होटल व्यवसायीक शिक्षाका प्रदान गर्ने गुणस्तरीय शैक्षिक संस्था हो । नेपालमा पर्यटन तथा होटल व्यवसाय क्षेत्रको दिगो विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्न सुरुवात गरिएको न्याथम, होटल तथा पर्यटन शिक्षाका लागि नेपालकै अग्रणी संस्था पनि हो ।

पर्यटन तथा होटल व्यवसायको दिगो विकासका लागि सीपयुक्त मानव संसाधन उत्पादन गर्ने उद्देश्यले सन १९७२ मा न्याथमको स्थापना गरिएको थियो । सरकारी तवरबाट सञ्चालीत शैक्षिक संस्था गुणस्तरीय नहुने भन्ने मान्यतालाई चिर्दै न्याथमले नेपालको पर्यटन तथा होटल व्यवसायको गुणस्तर अभिवृद्धि गर्न योगदान दिँदै आएको छ ।

हेर्नुहोस् सूचना

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *