लोकसेवा आयोगले खुलायो तीन सय स्टाफ नर्सका लागि आवेदन
लोकसेवा आयोगले तीन सय स्टाफ नर्स पदको लागि आवेदन खुलाएको छ । स्वास्थ्य सेवा तर्फ जनरल नर्सिङ समूहको स्टाफ नर्सको पदपूर्ति गर्नको लागि आयोगले आवेदन खुलाएको हो ।
लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार लोकसेवा आयोगले यति ठूलो सङ्ख्यामा स्टाफ नर्सको आवेदन माग गरेको यो पहिलो पटक हो । उनी भन्छन्, “वीर अस्पताल भित्र कोभिड उपचारका लागि छुट्टै युनिट खोल्ने पहल सुरु भएको छ । यो बाहेक पनि देशका विभिन्न ठाँउमा स्वास्थ्य कर्मचारीको अभाव भएका कारण जनशक्ति परिपूर्ति गर्नका लागि विज्ञापन जारी गरिएको हो ।”
आयोगले खुला तर्फ १६५, महिला तर्फ ४५, आदिवासी/जनजाति तर्फ ३६, मधेसी तर्फ २९, दलित तर्फ १३, अपाङ्ग तर्फ ७ र पिछडिएको क्षेत्रतर्फ ५ गरी तीन सय जनाका लागि विज्ञापन खुलाएको छ ।आवेदन दिन चाहनेले psconline.psc.gov.np मा गई आगामी चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुरमा तिरेर भने चैत २९ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
हेर्नुहोस सूचना
नेपालमा प्रत्येक वर्ष सरदर ७ हजार ५ सयले नर्सको पढाई सकेर श्रम बजारमा आउने गरेका छन् । नेपाल नर्सिङ काउन्सिलमा हालसम्म १ लाख भन्दाबढी नर्स, सहायक नर्स मिडवाइफ र विदेशी नर्स दर्ता भएका छन् । यसरी वर्षेनी यति ठूलो सङ्ख्यामा नर्सहरू उत्पादन भइरहेको अवस्थामा लोकसेवा आयोगले खुलाएको अवसरले स्टाफ नर्स गरिरहेकाहरूको लागि रोजगारीको राम्रो अवसर मिल्ने प्रवक्ता तोयनारायण बताउँछन् ।
यसअघि शैक्षिक सत्र २०७५-७६ मा नेपाल नर्सिङ काउन्सिलले नर्सिङ अध्ययनमा पुरुषहरूलाई पनि समावेश गर्ने व्यवस्था गरेको थियो । १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय अनुसार हाल पुरुषले पनि नेपालमा यो विषय अध्ययन गर्दै आइरहेका छन् ।
लोकसेवा आयोगले खुलाएको विज्ञापन दरखास्त दस्तुर चार सय रुपैयाँ तोकिएको छ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि दुई सय रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ । आवेदक १८ वर्ष उमेर पुरा भएर ४५ वर्ष ननाघेको हुनु पर्नेछ । बहालवाला स्थायी निजामती कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।
उम्मेदवारले शैक्षिक योग्यता ( एसईई पछि ३ वर्षे स्टाफ नर्स), तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा pdf format मा अपलोड गर्नु पर्नेछ । आवेदकले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी jpeg format मा अपलोड गर्नुपर्नेछ । अनुभवको अवधि आवश्यक पर्ने विज्ञापनहरुको हकमा सम्बन्धित पदको लागि तोकिएको दरखास्त दिन पाउने अन्तिम मितिसम्ममा न्यूनतम सेवा अवधि पूरा भएको हुनु पर्नेछ । आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका समावेशी समूह लाई विशेष प्राथमिकता दिने आयोगले बताएको छ ।