ठगी गर्ने एजेन्ट र म्यानपावरको नाम अब सरकारी वेबसाइटमा
वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने व्यक्ति तथा एजेन्टहरूको विवरण अब सरकारले सार्वजनिक रूपमै अनलाइनमा राख्न थालेको छ। वैदेशिक रोजगार विभागले ठगी नियन्त्रण गर्ने र नयाँ युवाहरूलाई फस्नबाट जोगाउने उद्देश्यले आरोपीहरूको नामावली विभागको आधिकारिक वेबसाइट www.dofe.gov.np मा सार्वजनिक गर्ने निर्णय गरेको हो।
विभागले हालै मात्र गत मार्च महिना (फागुन १७ देखि चैत १७ सम्म) मा ठगी गरेको आरोप लागेका ३ सय ५२ जनाको सूची सार्वजनिक गरेको छ। यो नामावलीलाई विभागले हरेक तीन/तीन दिनमा अपडेट गर्ने नीति लिएको छ, जसमा पीडितसँगको लेनदेन मिलाएर उजुरी फर्स्यौट भएमा मात्र सूचीबाट नाम हटाइनेछ। अहिले सार्वजनिक भएका अधिकांश आरोपीहरूले संस्थागत नभई व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ ठगी गरेका छन्। विभागमा प्रमाणसहित उजुरी परेपछि आरोपीविरुद्ध जारी भएको पक्राउ पुर्जीको जानकारी पीडितले अब एसएमएसबाटै पाउने व्यवस्थासमेत मिलाइएको छ।
ठगी नियन्त्रणसँगै श्रम मन्त्रालयले श्रमिकहरूको हकहितका लागि अन्य महत्वपूर्ण निर्णयहरू पनि कार्यान्वयनमा ल्याएको छ। बिदेसिने श्रमिकको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट तोड्दै मन्त्रालयले अब सबै योग्यता पुगेका स्वास्थ्य संस्थाबाट मेडिकल गर्न पाउने बाटो खोलेको छ। यसका साथै, निजी क्षेत्रका अस्पताल, नर्सिङ होम र निजी विद्यालयहरूमा ‘ट्रेनी’ वा ‘इन्टर्न’का नाममा विना पारिश्रमिक काम लगाउने प्रवृत्तिलाई रोक्न सरकारले कडा निर्देशन दिएको छ। श्रम ऐन, २०७४ को दफा १८ (३) बमोजिम अब इन्टर्नका रूपमा कार्यरत व्यक्तिलाई पनि अनिवार्य रूपमा न्यूनतम पारिश्रमिक (हाल मासिक १९,५५० रुपैयाँ), बिदा, उपदान, सञ्चयकोष र बिमा जस्ता सामाजिक सुरक्षाका सुविधा उपलब्ध गराउनुपर्नेछ। यो नियम पालना नगर्ने संस्था वा रोजगारदातालाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
