पोर्चुगल जानेलाई राहत: काठमाडौँमै खुल्ने भयो कन्सुलर कार्यालय, दिल्ली धाउनुपर्ने बाध्यता अन्त्य!

जीविको २०८२ चैत २२ गते १४:२९

 युरोपेली मुलुक पोर्चुगलले नेपालको राजधानी काठमाडौँमा आफ्नो कन्सुलर कार्यालय स्थापना गर्ने औपचारिक घोषणा गरेको छ। पोर्चुगलको विदेश मन्त्रालयले सामाजिक सञ्जाल फेसबुक र एक्स (ट्विटर) मार्फत यो महत्वपूर्ण निर्णय सार्वजनिक गरेको हो। नेपालले लामो समयदेखि काठमाडौँमै दूतावास वा कन्सुलर तहको कूटनीतिक उपस्थिति जनाउन आग्रह गर्दै आएकोमा पोर्चुगलको यो कदमले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

काठमाडौँमै कन्सुलर सेवा सुरु भएपछि पोर्चुगल जान चाहने र त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई ठूलो राहत मिल्नेछ। विशेष गरी भिसा प्रक्रिया र कागजात प्रमाणीकरणका लागि भारतको नयाँ दिल्लीस्थित पोर्चुगलको दूतावास धाउनुपर्ने झन्झटिलो र खर्चिलो बाध्यता अब अन्त्य हुने देखिएको छ। यसले नेपालमा पोर्चुगलको कूटनीतिक पहुँच बढाउनुका साथै व्यापार, लगानी, पर्यटन, ऊर्जा, कृषि र प्रविधि जस्ता क्षेत्रमा आपसी सहकार्य र हित विस्तारमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यसअघि नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच भएको टेलिफोन वार्ताले यो प्रक्रियालाई थप गति दिएको थियो। उक्त संवादमा मन्त्री खनालले नक्कली छाप (फेक स्ट्याम्प) का कारण कानुनी समस्यामा परेका २ हजारभन्दा बढी नेपाली नागरिकको गम्भीर विषय उठाउँदै सहजीकरणका लागि विशेष आग्रह गरेका थिए।

जवाफमा विदेशमन्त्री रान्जेलले पोर्चुगलको अर्थतन्त्रको विकासमा नेपाली समुदायले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका थिए। उनले समस्यामा परेका नेपालीका मुद्दालाई मानवीय आधारमा समाधान गर्न पहल गर्ने ठोस आश्वासन समेत दिएका छन्। कन्सुलर कार्यालयको स्थापनासँगै दुई देशका नागरिक तहको सम्बन्ध अझ प्रगाढ हुने र नेपाली कामदार तथा विद्यार्थीहरूले भोग्दै आएका कानुनी जटिलताहरू हल हुने मार्ग प्रशस्त भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *