विदेशबाट फर्किँदा सर-सामान ल्याउँदै हुनुहुन्छ भने..

जीविको २०८० साउन ३० गते २०:३९

यदि तपाईं विदेशबाट नेपाल आउँदै हुनुहुन्छ भने अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै तपाईंले आफूसँग भएको सरसमान/मालवस्तुको स्वः घोषणा गर्नुपर्ने हुन्छ । यसका लागि विदेशबाट आउने व्यक्तिहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सञ्चालनमा ल्याएको स्वघोषणा कक्षमा फारम भरेर बुझाउनु पर्ने हुन्छ ।

विदेशबाट नेपाल आउँदा तपाईंसँग मापदण्ड भित्र रहेको मालवस्तु छ भने कुनै शुल्क तिर्नु पर्दैन भने मापदण्डभन्दा बढी मालवस्तु भएको खण्डमा सो सामान बराबरको भन्सार महसुल बुझाई सजिलै लैजान पाउने व्यवस्था गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिका प्रसाद खनालले जानकारी दिए । 

विदेशबाट फर्किनेहरूले मापदण्ड भन्दा बढी सुनका गरगहना, विदेशी मुद्रा, टिभी तथा मोबाइल फोन ल्याउने र स्वः घोषणा नगरी बाहिरिँदा भन्सार छली अनुसार कारबाहीको भागीदार हुने गरेका थिए।

विदेशबाट सुनका गरगहना, मोबाइल तथा टेलिभिजन ल्याउने सम्बन्धी पछिल्लो व्यवस्था:

महिलाले हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्मको सुनका गहनामा भन्सार तिर्नुपर्दैन। थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ। विमानस्थल भन्सार कार्यालयका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानूनी व्यवस्था रहेको छ।

त्यस्तै, मोबाइलको हकमा भने आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन। श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ। यस्तोमा थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकाले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ। तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन्।

अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नुपर्ने व्यवस्था रहेको छ। यसैगरी ५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वः घोषणा गर्नुपर्छ। रकम घोषणाको भने कुनै महशुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *