माघेसङ्क्रान्तिमा बाउ छोराको उद्यम: दैनिक १८-२० घण्टा खटाइ, लाखौं कमाइ (भिडियो)

बिना सुनार २०७९ पुष २९ गते १३:५४

चाकुको हर्रर बासनासहित् स्वागत गर्‍यो टोखाले हामीलाई । यहाँका पसलहरू अहिले चाकु, तिलको लड्डु, सक्खर, मुरइको लड्डुले भरिएका छन् । सर्वसाधारणलाई माघेसङ्क्रान्तिको किनमेल गर्न चटारो छ । टोखाकै चाकु किन्ने भनेर काठमाडौं उपत्यका अनि नुवाकोट लगायत छिमेकी जिल्लाबाट पनि मान्छेहरू यहाँ आउने गर्छन् । टोखाको चाकु उत्तिकै प्रसिद्ध छ जति भक्तपुरको जुजु धौं:, खोकनाको तेल, मुस्ताङको मार्फा अनि इलामको चिया प्रसिद्ध छन् ।

माघेसङ्क्रान्तिमा काठमाडौँ उपत्यकासँगै देशका विभिन्न स्थानमा टोखाको चाकु पुग्ने गर्छ । माघेसङ्क्रान्तिलाई नै लक्षित गरेर यहाँका स्थानीयले चाकु र तिलको लड्डुको व्यापार व्यवसाय गर्छन् अनि राम्रै आम्दानी गर्छन् ।

‘राम्रै आम्दानी’ भन्नाले कति जति हुन्छ होला सिजनमा कमाइ ?

माघेसङ्क्रान्तिको छेकोमा खटिएर उद्यम गर्नेहरूका कथा खोज्दै हालै जीविको टिम टोखा पुगेको थियो। मङ्सिर र पुषमा दैनिक १८ देखि २० घण्टासम्म चाकु बनाउन खटिने बाबु छोरा; न्हुच्छे नारायण श्रेष्ठ र जितेन्द्र श्रेष्ठ भेटिए । पुस्तौंदेखिको चाकु बनाउने उद्यमलाई उनीहरूले निरन्तरता दिँदै आएका छन् । छोरो जितेन्द्र चाकु बनाउन भित्र खटिँदै थिए भने बाबु न्हुच्छे नारायणले बाहिर पसलमा आफ्नै उद्योगमा उत्पादन भएका चाकु बेच्दै थिए । उनीहरूको सिजनल उद्यमले यहाँ २० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।

“पहिला यहाँ उखुको घारी थियो नि ! घरहरू फाट्टफुट्ट मात्र थिए, बाटो पनि साँघुरो थियो, हिँड्दा उखुबारी भित्रैबाट हिँड्न पर्ने,” काठमाडौं टोखा-३ का स्थानीय ६५ वर्षे न्हुच्छे नारायण ले विगत सम्झिए । 

चाकु व्यवसायी न्हुच्छे नारायण श्रेष्ठ, फोटो : पुष्कल श्रेष्ठ/जीविको

टोखालाई केही दशक अगाडिसम्म काठमाडौँ उपत्यकाको उखुको जोन भनेर चिनिन्थ्यो । अहिले पनि टोखा गेटबाट भित्र छिर्ने बित्तिकै सक्खरको वासना आइहाल्छ, फरक यति हो पहिला यहाँकै उखुले सक्खर बनाइन्थ्यो, अहिले भने तराइबाट सक्खर आउँछ । 

नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । काठमाडौंको टोखामा पहिले धेरै उखु खेती गरिने हुँदा त्यो ठाउँको नाम नै टोखा रहेको बताउँछन्, न्हुच्छे नारायण । 

उखु बारीमा खेल्दै हुर्केका न्हुच्छे नारायणलाई टोखाको इतिहास मानसपटलमा ताजै छ । अझ उखु, सक्खर अनि यसैबाट बन्ने चाकुसँग उनको विशेष परिचय जोडिएको छ । उनका पुर्खाले नै टोखामा चाकु बनाउने काम सुरु गरेका थिए । बाबु बाजेसँगै हिँडेका उनले सानै उमेरदेखि चाकु बनाउने काममा हात बढाए ।

“पहिले यहाँको लोकल उखु सानो अनि मसिनो खालको हुन्थ्यो, अहिलेको जस्तो बजार कहाँ हुनु र ? सबै उखुको खेत थियो । हामी सिजनमा उखु काटेर, खाल्टो खनेर गुँड, सक्खर बनाउने अनि हातले नै मुछेर चाकु बनाउने गर्थ्यौ । अहिले जस्तो कहाँ हो र ?” न्हुच्छे नारायण सुनाउँछन्  । 

बाबु बाजेले धानेको पेसा नारायणका छोरा जितेन्द्र श्रेष्ठले पनि छाडेनन् । अब नारायणको शरीरमा चाकु मुछ्‌ने बल घट्यो, छोराले बुबाको भार सम्हाले ।  

चाकु पकाउँदै टोखा चाकु उद्योगका सञ्चालक जितेन्द्र श्रेष्ठ फोटो : पुष्कल श्रेष्ठ/जीविको

 अहिले जितेन्द्रले टोखामा टोखा चाकु उद्योग खोलेर आधुनिक तरिकाबाट धमाधम चाकु बनाइरहेका छन् । “मैले पनि बाजे बुबाले झैँ चाकु नै बनाउने सोचेँ, पुर्खाको पेसा अनि टोखाको चिनारी मैले छाड्नै सकिँन,” जितेन्द्रले सुनाए । 

माघेसङ्क्रान्ति नजिकिँदा देशभरबाट चाकुको माग बढेर गएको छ । माघेसङ्क्रान्तिको तयारीका लागि मङ्सिर र पुष महिनाभर त जितेन्द्रलाई चाकु बनाउन भ्याइनभ्याइ हुन्छ । यो दुई महिनासम्म दैनिक १८ देखि २० घण्टासम्म चाकु बनाउन खटिने उनी बताउँछन् । 

जितेन्द्र भन्छन्, “बिहानको ३ बजेदेखि बेलुकी १० बजेसम्म म कारखानामै हुन्छु, मसँगै अरू २५\३० जना यही काममा खटिरहनुभएको छ । त्यही पनि बजारको माग धान्न हम्मेहम्मे नै पर्छ ।” 

 जितेन्द्र श्रेष्ठको टोखा चाकु उद्योग टोखामा नाम चलेको उद्योग हो । यहाँबाट बाह्रैमास चाकु उत्पादन भएपनि माघेसङ्क्रान्ति बाहेक अरू समयमा खासै चाकुको माग हुँदैन, त्यसैले यो व्यवसाय गर्नेले अन्य महिनामा दैनिक ज्यालादारीको काम गर्ने गर्छन् । मौसमी व्यवसाय भएता पनि मङ्सिरदेखि माघसम्म बनाएको चाकुबाट राम्रै आम्दानी गर्ने अनुभव जितेन्द्रले हामीलाई सुनाए ।   

टोखा चाकु उद्योगमा उत्पादन भएको चाकु तथा अन्य खाद्य पदार्थ| फोटो : पुष्कल श्रेष्ठ/जीविको

“एक सिजनमा हामीले खर्च कटाएरै पनि ५ लाख हाराहारी पैसा कमाउँछौँ, यसबाहेक दैनिक गर्ने ज्यालादारीले पनि अन्य समयको गर्जो टारेकै छ, मौसमी काम भएपनि मज्जाले खट्दा गतिलो आम्दानी हुने भएकाले म चाहिँ खुसी छु,” जितेन्द्र भन्छन् 

अब आउने पुस्ताले पनि यो व्यवसाय सम्हालुन् जस्तो लाग्छ, जितेन्द्रलाई । उनले युवा उमेरमा पुर्ख्यौली व्यवसायलाई अगाडि बढाएझैँ अब आउने पुस्ताले टोखाको इतिहास बचाइराख्ने हो भने परम्परागत उद्यम पहिचान पनि जीवित रहने र  आम्दानी पनि हुने उनको बुझाई छ ।

हेर्नुहोस्, माघेसङ्क्रान्तिको छेकोमा खटिएर पुर्ख्यौली व्यवसाय चलाइरहेका टोखाका बाबु छोराको भिडियो कथा : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *