‘यी प्रकृया पुर्याए सजिलै पाईन्छ वैदेशिक रोजगार बोर्डबाट सहयोग’ (भिडियो)
वैदेशिक रोजगारीमा रहेका धेरैले वैदेशिक रोजगार कल्याणकारी कोषबाट सहयोग पाउने प्रकृयाका बारेमा धेरै नै अस्पष्टता र दुविधा भएको जानकारी आएपछि जीविकोले यसका बारेमा वैदेशिक रोजगार बोर्डका निर्देशक (प्रशासन,योजना तथा अनुगमन शाखा) मैया कडेलसँग कुराकानी गरेको छ। उनीसँगको कुराकानीको सार यस्तो छ:
वैदेशिक रोजगारीमा जाने नेपालीहरूले श्रम स्वीकृति लिएसँगै १ हजार ५ सय रुपैयाँ वैदेशिक रोजगार कल्याणकारी कोषमा अनिवार्य जम्मा गर्नुपर्ने प्रावधान छ । आफ्नो तथा परिवारमा भइपरी आएमा सहयोग लिनेगरि केही रकम सरकारी कोषमा जम्मा गर्छन् । जसलाई वैदेशिक रोजगार कल्याणकारी कोष भनिन्छ ।
कल्याणकारी कोषमा जम्मा गरिएको रकम नेपाली श्रमिकले वैदेशिक रोजगार बोर्डबाट आफू बस्दै आएको देशमा मृत्यु भएमा, मृतकको सव नेपाल झिकाउनु परेमा, बिरामी वा अंगभंग भएमा आर्थिक साहयता लिन सक्नेछन् । यसबाहेक पनि श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटुसम्बन्धी रोग र पार्किन्सन जस्ता ५ किसिमका दीर्घ रोग लागेमा पनि कोषबाट आर्थिक सहयोग प्राप्त गर्न सक्नेछन् ।
वैदेशिक रोजगारीका क्रममा यदि कुनैपनि श्रमिकको मृत्यु भएको खण्डमा कोषबाट रू ७ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग निजको हकवालालाई प्रदान गर्ने प्रावधान छ । त्यस्तै श्रमिक कुनै कारणवश बिरामी वा अंगभंग भएमा प्रकृति हेरी आर्थिक सहयोग दिइने व्यवस्था छ । कोषको रकम मृतकको सब नेपाल झिकाउने र सब ढुवानी गर्न, रोजगारीका क्रममा अलपत्र परेमा वा बेपत्ता श्रमिकको खोजतलास गर्नुपरेमा पनि प्रयोग गरिने व्यवस्था छ ।रोजगारीका क्रममा श्रमिकलाई कुनै कानुनी सहयोग चाहिएमा कोषबाट प्रति व्यक्ति १५ लाखसम्म आर्थिक सहयोग गर्ने नियममा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका श्रमिकले माथि उल्लेखित सेवाहरूमध्ये १०० प्रतिशत नै आर्थिक साहयता लिएका छन् भने उनीहरूका १८ वर्षमुनिका छोराछोरीले नर्सरी देखि १२ कक्षासम्म छात्रवृत्ति पाउनेछन् । यो छात्रवृत्ति श्रमिकका सबै छोराछोरीले पाउने छन् ।
त्यस्तै महिलाका लागि पूर्व प्रस्थान अभिमुखीकरण तालिम (Pre Departure Orientation Training-PDOT) को शुल्क सोध भर्नाको लागि पनि कोषको रकम खर्च गर्ने प्रावधान छ ।
यसरी बोर्डबाट पाइने आर्थिक साहयता श्रम स्वीकृति नगरी विदेशिएका श्रमिकहरूको हकमा भने लागू हुने छैन । त्यस्तै श्रम नवीकरणको म्याद नाघिसकेपछि आर्थिक साहयता माग गरेमा पनि बोर्डले साहयता प्रदान नगर्ने नियम छ । तर श्रमिकले २ वर्षको श्रम स्वीकृति लिएर गएको र नवीकरण नगरी निजको मृत्यु भएमा ३ वर्षसम्म हकवालाले आर्थिक साहयताको माग गर्न सक्नेछन् । ३ वर्षको म्याद पनि सकिएको खण्डमा मृतक परिवारलाई बोर्डले २५ हजार रुपैयाँ मात्र आर्थिक सहयोग दिने व्यवस्था छ । कामदारको मृत्यु भएको १ वर्ष भित्र नै बोर्डमा साहयताको लागि निवेदन दिइसक्नुपर्ने छ । सम्पूर्ण आर्थिक साहयताका लागि पेस गरिने कागजातहरू आधिकारिक निकायबाट प्रमाणित भएको हुनुपर्ने छ । आर्थिक सहायताका लागि निवेदन फारम वैदेशिक रोजगार बोर्डको वेवसाइट https://www.feb.gov.np/ बाट डाउनलोड गर्न सकिन्छ ।
स्थानीय तहबाट निवेदन दिँदा सम्बन्धित स्थानीय तहको आधिकारिक इमेल ठेगानाबाट पठाउनुपर्ने नियम रहेको छ । आर्थिक साहयताको लागि बोर्डको इमेल [email protected] मा निवेदन पठाउनुपर्ने हुन्छ ।
थप जानकारीका लागि – ९८०१८०००१३ वा ०१-५९०००८ मा सम्पर्क गर्न सकिने छ।
हेर्नुहोस्, वैदेशिक रोजगार बोर्डका निर्देशक (प्रशासन,योजना तथा अनुगमन शाखा) मैया कडेलसँग जीविकोले गरेको भिडियो संवाद: