भिजिट भिसामा अब नयाँ नियम !
सरकारले पर्यटन(भिजिट) भिसामा विदेश घुम्न जाने नेपाली पर्यटकमाथि कडाइ गर्दै नयाँ कार्यविधि लागू गरेको छ । यसअघि भिजिट भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ लाई गृह मन्त्रालयले स्वीकृत गरेपछि भिजिटमा जान यो नियम लागू भएको हो ।
यसरी गृहले जारी गरेको नयाँ कार्यविधि अनुसार भिजिट भिसामा विदेशिन चाहने नेपालीहरूको बैङ्कमा कम्तिमा २ लाख रुपैयाँ मौजाद भएको हुनुपर्ने सँगै भारत र खाडी बाहेकका कम्तिमा दुई देश घुमेकै हुनुपर्ने नियम रहेको छ ।
“भिजिट भिसाको नाममा विदेशमा लगेर काम गर्न लगाइएका धेरै घटनाहरू आएपछि, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागको सामूहिक निर्णयबाट भिजिट भिसामा कडाइ गर्नेसम्बन्धी कार्यविधि जरूरी भएको निष्कर्ष निकालेपछि गृहबाट कार्यविधि पारित गरिएको हो,” अध्यागमन विभागका निर्देशक अन्जन न्यौपानेले बताए ।
यसबाहेक पनि भिजिट भिसामा विदेश जाने नेपालीको वार्षिक करयोग्य आम्दानी ४ लाख हुनैपर्ने नियम कार्यविधिमा राखिएको छ । भिजिट भिसामा विदेशिन चाहने नेपालीले टिकट काट्नु अघि माथि उल्लेख गरिएका सम्पूर्ण कागजात पूरा गरि अध्यागम विभागको स्वीकृति पनि लिनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।
सरकारले ल्याएको कार्यविधि सुरुवातमा खाडी राष्ट्रहरू मलेशिया, अफ्रिकी राष्ट्रहरू साथै दक्षिण अमेरिकी राष्ट्रहरूमा लागू हुने छ । कार्यविधिमा भिजिट भिसामा जान चाहने नेपालीले ट्रान्जिट भिसालाई दुई देश घुमेको प्रमाणको रूपमा सामेल गर्न पाउने छैनन् । यसरी भिजिटमा जानुपूर्व कम्तिमा १ साता अगाडि अनलाइन मार्फत अध्यागमन विभागबाट सिफारिस लिइसक्नुपर्ने छ ।
अन्जन भन्छन्, “नयाँ कार्यविधि स्वागतयोग्य छ, यो कार्यविधि अब लागू भए लगत्तै भिजिट भिसामा हुने मानव तस्करीको नियन्त्रण हुन्छ ।”
यसअघि पनि २०७७ मा सरकारले भिजिट भिसासम्बन्धी कार्यविधि लागू गरेको थियो । उक्त कार्यविधिमा अङ्ग्रेजी बोल्न जान्नुपर्ने, कम्तीमा प्रवेशिका तह उत्तीर्ण गरेको हुनुपर्ने, वार्षिक आम्दानी १० लाख रुपैयाँ हुनुपर्ने साथै विदेश जानुअघि खातामा ५ लाख रुपैयाँ मौज्दात भएको हुनपर्ने नियम राखिएको थियो । तर, उक्त नियमको चौतर्फी आलोचना भएपछि सरकारले सो कार्यविधिलाई हटाएको थियो ।
यो पनि
अध्यागमन विभागका निर्देशक भन्छन्: भिजिट भिसाका नाममा हुने ठगी अब नियन्त्रण हुन्छ (अडियो)