अंकमा स्थानीय तह निर्वाचन-२०७९
आगामी वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन, २०७९ हुँदै छ । गत वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । आयोगका अनुसार स्थानीय तहको निर्वाचनका लागि प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य गरेर उम्मेदवारी दर्ता गर्नेको संख्या (अद्यावधिक गरिएको) एक लाख ५३ हजार २ पुगेको छ ।
स्थानीय तह निर्वाचनसम्बन्धी यी कुराहरू थाहा पाइराखौँ ।
नेपालमा जम्मा ७५३ स्थानीय एकाइ छन् । जसअन्तर्गत ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ वटा नगरपालिका र ४६० वटा गाउँपालिका रहेका छन् ।
स्थानीय तहको निर्वाचनबाट ३५ हजार २ सय २१ जना प्रतिनिधि निर्वाचित हुनेछन् । जसमध्ये
नगरपालिकामा: ५८६ मेयर / उपमेयर
गाउँपालिकामा: ९२० अध्यक्ष / उपाध्यक्ष
६ हजार ७ सय ४३ वडा: ३३ हजार ७१५ अध्यक्ष र अन्य पदाधिकारी निर्वाचित हुने छन् ।
यसपटकको स्थानीय तह सदस्य निर्वाचनमा ७९ दलले उम्मेदवारी दिएका छन् भने सयौँको सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि कुनै जिज्ञासा भएमा निर्वाचन आयोगको कल सेन्टरमा सम्पर्क गर्न सकिन्छ । निशुल्क टोल फ्री नम्बर ११०२ रहेको छ ।
यसपटक मतदाता नामावलीमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता दर्ता भएका छन् । कूल मतदातामध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता रहेका छन् । अन्य मतदातामा १ सय ८३ जना रहेका छन्।
यसपटक ३६ लाख ५९ हजार २ सय ९९ नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगको वेबसाइट election.gov.np/np/page/voter-list-db मार्फत मतदाता नामावलीमा आफ्नो नाम हेर्न सकिन्छ ।