जसले धरहराको पेटीमा बसेर जुत्ता मात्र सिलाएनन्, परिवारका दुःख पनि सिलाए …
२०७२ वैशाख १२ गतेको दिन सम्झँदा सबैको मन थरर हुन्छ । बिनासकारी भुकम्पले कति टुहुरा भए कतिको सिउँदो उजाडियो, ठूलो जनधनको क्षति भयो भने नेपालको ऐतिहासिक स्तम्भ धरहरासम्म लड्यो । धरहरा लड्दा सारा नेपाली दुखी थिए तर सबैभन्दा पीडा सप्तरीका रामकुमार रामलाई पर्यो । धरहराको पेटीमा आफ्नो दैनिकी बिताउँदै आएका रामकुमार रामलाई (४६) आफ्नो प्यारो घर भत्किएझैँ लाग्यो । अझैपनि बैशाख १२ गतेलाई सम्झँदा उनको आँखा रसाउँछ ।
उनी भन्छन् “तीन दशक धरहराकै ओतमा जीविको कटाएको थिएँ, आफ्नो घर भन्दा प्यारो लाग्थ्यो । भत्कँदा आफ्नो छाहारी नै टुटेझैँ लाग्यो ।” आफ्नो बाल्यकाल सप्तरीको राजबिराजमा कटाएका रामकुमार राम १४ वर्षको उमेरमा काठमाडौं आए । घरमा आर्थिक अभाव थियो आम्दानीको स्रोत पनि ठूलो थिएन । रामका बुबाले साहुको जमिन कमाउँथे आम्दानी पनि प्रशस्त थिएन ।
राम भन्छन् “काठमाडौंले परिवारको दु:ख सिलाउँछ कि भन्ने लाग्यो त्यसैले बस चढेर काठमाडौं आएँ ।” तीन दशक अघिबाट सुन्धारामा रहेको धरहराको पेटीमा आफ्नो दैनिकी बिताउँदै आएका सप्तरीका रामलाई धरहराको पेटी आफ्नो घर जस्तै लाग्छ । दैनिकी यहीँ सुरुवात हुन्छ अनि घाम अस्ताउँदासम्म यहीँ बित्छ । भूकम्पले दिएको चोट केही शान्त भएपछि राम पुन: भत्किएको धरहरा अगाडि जुत्ता सिलाउन बसे धरहराको केही सानो अवशेष मात्र देख्दा नरमाइलो लाग्थ्यो राम भन्छन् ।
अहिले पुरानो धरहराको छेउमै नयाँ धरहरा बनेको छ । रामले पुन: आफ्नो प्यारो धरहरा पाएका छन् । नयाँ धरहरा बनेपछि भने अहिले धरहराको छायाँमा शीतल अनुभव गर्ने गरेको राम बताउँछन् । सप्तरीको राजबिराजबाट काठमाडौं छिर्दा रामको मनभरि सपना थियो अनि काँधमाथि कमाउनु पर्ने, परिवार हेर्नुपर्ने अनि आफ्नो गर्जो टार्नुपर्ने थुप्रै जिम्मेवारी । सानै उमेरमा काठमाडौं त पुगे तर कहाँ के गर्ने गर्जो कसरी टार्ने उनले सोचेका थिएनन् । काठमाडौंमा धेरै भौँतारिए चावहिलमा डेरा लिएर बसेका उनी पछि गलैँचा कारखानामा काम गर्न थाले। उनले सप्तरीमा हुँदा सिकेको सीप पनि “सिलाउने” रहेछ । गाँउबाट आउँदा उनीसँग सिलाउने मात्र सीप भएको कारण सियो र धागोको भरमै आफ्नो जीविका टार्नुपर्छ भन्ने थाहा थियो त्यसैले काठमाडौं आउँदै गोजीमा सियो र धागो चाहिँ आफूसँगै लिएर आएका थिए । गलैँचा सिलाउने काम जानेका उनले जुत्ता सिलाउन चाहिँ काठमाडौं आएर नै सिके । गलैँचा कारखानामा राम्रो कमाई भएन अनि सन्तुष्टि पनि पाइएन त्यसैले धरहराको पेटीमा जुत्ता सिलाउन बसेको बताउँछन् उनी ।
सुन्धाराको पेटीमा ३२ वर्षअगाडि उनी जुत्ता सिलाउन बस्दा उनको उमेर १४ वर्षको मात्र थियो । उनले यही पेटीमा बाल्यकाल बिताए, युवा अवस्था बिताए अहिले उनका कपाल फुल्न लागेको छ । त्यही पेटीमा उनको अगाडि पुरानो धरहरा हुन्थ्यो । आँखा अगाडि धरहरा लड्यो, अहिले भर्खरै नयाँ धरहरा बनेको छ उनी त्यहीँ अगाडि बसेर जुत्ता सिलाउँछन् । धरहरासँग ठूलो सामिप्यता रहेको बताउँछन् राम ।
धरहराको पेटीमा बस्दा रामले जुत्ता मात्र सिलाएनन् परिवारको दु:ख सिलाए, जीवन सिलाए । दैनिकी जुत्ता सिलाएरै जीविको चलाउने रामलाई अन्य काम गर्न आउँदैन, खासै रुचि पनि लाग्दैन । जीविकोसँग कुरा गर्दै रामले भने “जुत्ता सिलाएरै मसिक ३० हजार बढी बचाउँछु । मेरा छोराहरुलाई यही पेसाबाट डाक्टर, इञ्जिनियर पढाउन सक्ने आँट छ मेरो ।”
धरहराको आडमा लाईनै १०-१५ वटा जुत्ता सिलाउने स्टल छन् । त्यहाँ जुत्ता सिलाउन बसेका अनुहारहरु खासै फेरिदैनन् । दशकौँ अघिबाट जुत्ता सिलाउन बसेकाहरुले काठमाडौं भित्रका मानिसहरुलाई जुत्ता सिलाउने ठाउँ भन्ने वित्तिकै धरहरा छेउको पेटी नै याद आउँछ त्यसमाथी मानिसको घुईँचो धेरै हुने ठाउँ भएकाले त्यसठाउँमा जुत्ता सिलाउन बस्नेको आम्दानी पनि राम्रै हुने गर्छ । सटर भाडा बुझाउनु नपर्ने भएकाले त्यहाँ जुत्ता सिलाउनेले आफ्नो आम्दानीलाई अलिक बचाउन सक्छन् ।
जुत्ता सिलाउन बसेको बेला कतिपय मानिसहरु सन्की स्वभावमा कुरा गर्ने, कामको इज्जत नगर्ने जस्ता कारण बेलाबेला मन दुख्ने गर्छ रामको । कतिपयले त जुत्ता सिलाउने, पालिस गर्ने गरेको पैसा नै नदिई हिड्ने गरेको गुनासो पोख्छन् उनी । “बालबच्चा साना हुँदा घरमा आफ्ना बुबा आमा पनि रहेको र खर्च बढी हुँदा केही समय ठूलो पारिवारिक संघर्ष उठाउनुपर्यो अहिले भने एकजना छोराको बिहे भईसक्यो अरु दुईजनालाई पढाएर पारिवारिक खर्च कटाएर पनि मासिक ३० हजार भन्दा बढी बचाउँछु” उनी भन्छन् ।
धरहराको पेटीमा बसेर कमाएको पैसाले नै रामले सप्तरीमा जग्गा जोडीसके अनि एउटा घर पनि बनाए । एक छोराको बिहे गर्दिसकेका छन् भने अन्य दुई छोरा मध्ये ठूलो छोरा ९ कक्षामा पढ्ने भइसक्यो, सानो छोरा पनि ७ कक्षामा पढ्छ । घरमा तीन छोरा, श्रीमती र बुहारी गरेर ६ जना बस्छन् । काठमाडौंमा सुरुवाती संघर्षका दिनहरु सम्झदैँ राम भन्छन् “गलैँचा कारखानामा काम गर्दा साहुले ज्याला दिन्थेन । कतिदिन त भोकै पनि बस्नुपर्यो । अहिले भने मलाई कसैको चाकडी गर्नुपर्दैन किनभने मेरो पेसाको म आफैँ मालिक हुँ र श्रमिक पनि हुँ ।”