वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायता लिन काठमाडौं आउनु पर्दैन, आफ्नो पालिकामा निवेदन बुझाऔं : बोर्ड
सरकारले वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायताका लागि सम्बन्धित पालिकाबाटै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका श्रमिकको करार अवधि भित्र वा करार अवधि समाप्त भएको एक वर्ष भित्र कुनै कारणले मृत्यु भएमा, मृत्यु भएको मितिले एक वर्षभित्र आर्थिक सहायताको लागि स्थानीय पालिकाबाटै निवेदन दिन सकिनेछ । वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीन वन्धु सुवेदिका अनुसार पालिकाले मृतकको आफन्तबाट निवेदन प्राप्त भएको सात दिनभित्र बोर्डमा सक्कल फाइल पठाइसक्नुपर्ने नियम बनाइएको छ । मृतकको हकवाला पालिकाले प्रमाणित गरेपछि र बैंकले सोही हकवालाको खाता नं प्रमाणीकरण गरे पछि आर्थिक सहायता निकास गरी सिधै बैंक खातामा पठाइने व्यवस्था रहेको छ । बोर्डले प्रतिमृतक परिवार सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।
यस अघिसम्म आर्थिक सहायताको लागि काठमाडौंमै धाउनु पर्ने बाध्यता थियो, तर अब भने पीडितका आफन्तले आफ्नै पालिकाबाटै निवेदन दिन सकिने व्यवस्था गरे पछि पीडित परिवारले ठूलो राहत पाउने दीनवन्धुको भनाइ रहेको छ । “यसले गर्दा पीडितको आर्थिक तथा समयको पनि बचत हुनुको साथै पालिकाबाट तथा बैंक खातामार्फत भुक्तानी हुने व्यवस्था भएपछि पीडितले प्राप्त गर्ने आर्थिक सहायता सुनिश्चित भएको छ,” दीनवन्धु बताउँछन ।
निवेदन कसरी दिने ? पेश गर्नु पर्ने कागजात के के हुन् ?
वैदेशिक रोजगार बोर्डले तयार गरेको निवेदनको फारम सम्बन्धित व्यक्तिले भरेर आफ्नो पालिकामा बुझाउने । त्यो सँगै निम्न कागजातहरू पनि सामेल गर्नु पर्दछ ।
गन्तव्य देशमा पुगेको प्रमाणित हुने छाप भएको पृष्ठ र राहदानीवाहकको राहदानी नं, नाम र फोटो भएको पृष्ठको प्रतिलिपि,
विदेशस्थित रोजगारदाता कम्पनी, नियोग र अस्पतालको मृत्युको प्रमाणपत्र
शव ल्याउदाको प्रज्ञापन पत्रको प्रतिलिपि
नेपालमा मृत्यु भएकाको हकमा निज वैदेशिक रोजगारीबाट फर्केको आगमनको छाप लागेको पृष्ठको प्रतिलिपि
पालिकाले प्रदान गरेको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
हकवालाको नागरिकता प्रमाणित वा अविवाहित भए पालिकाबाट अविवाहिताको सिफारिस पत्र,
पालिकाबाट हकवाला खुलेको फोटो
‘क’ वर्गको वाणिज्य बैंकको खाता विवरण, बैंकको पत्र
यदी सेवाग्राहीलाई निवेदन दिन समस्या परेमा वा सेवा लिने प्रक्रिया र आवश्यक कागजातको बारेमा बुझ्न परेमा वैदेशिक रोजगार बोर्डको कल सेन्टरको ११४१ मा र बोर्डको सचिवालयको फोन न. ४२२०३११ मा फोन गरेर सोध्न सकिन्छ भने बोर्डको वेबसाइटः- http://feb.gov.np मा गएर पनि हेर्न सकिन्छ । यससँगै वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका, अङ्गभङ्ग भएका वा उनीहरूका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्तिको लागि पनि आवश्यक कागजात सहित पालिकाबाट निवेदन दिन सकिन्छ ।