लोकसेवाले छान्यो,किवी खेतीले तान्यो
तारामणि खतिवडा वर्षदिन काठमाडौंमा जागिर गरेपछि छुट्टिमा ठुलो झोला भिरेर गाउँ पुगे । उनी गाउँ पुग्दा सबैलाई कोसेली हेर्ने हतार थियो । उनले आफ्नो झोला खोले जहाँ केही किवीका बिरुवा अनि केही प्याम्प्लेट मात्र थियो ।
झोलामा किवीका बिरुवामात्र थिएनन् तारामणिका सबै त्याग अनि श्रीमती, छोराछोरीको भविष्य पनि त्यही झोलामै थियो । उनी भन्छन् “सबै त्याग परिश्रम किवीमा लगाएँ, मेरो त्याग र परिश्रमले सफलता भेट्टाएँ । अहिले म लाखौँ कमाउँछु ।”
पूर्वी पहाडी जिल्ला इलामको सन्दकपुर गाउँपालिकामा बस्ने कृषक तारामणि खतिवडालाई दशक अगाडिसम्म सबैले सुब्बा साहेब भनेर बोलाउने गर्थे । सर्वोच्च अदालतमा नायब सुब्बाको जागिर खान्थे तारामणि । अहिले भने तारामणि कृषक भनेर चिनिन्छन् । उनले सरकारी अवकाश पाएर कृषि पेसामा लागेका भने होइनन् । उनलाई किवीको मोहले यसरी तान्यो कि उनले सुब्बाको जागिर नै छाडिदिए । उनी भन्छन् “विद्यार्थी जीवनमा लोकसेवाको मोह थियो, पछि किवीको मोहले सरकारी जागिरको मोहलाई पनि जित्यो” ।
सरकारी जागिरलाई छाडेर किवीको खेती गर्ने सोच कसरी आयो हामीले तारामणि खतिवडा सँग बुझ्न खोज्यौँ ।
तारामणिलाई किवी खेती गर्ने सोच २०६३ ताका आएको रहेछ । सर्वोच्च अदालत काठमाडौंमा काम गर्दै गरेका तारामणि एकदिन कार्यलयबाट फर्कँदा भाटभटेनीमा नयाँ फल देखे र २६६ रुपैयाँमा ३ दाना किवी खरिद गरे । उनलाई स्वाद मिठो अनि भाउ महँगो लाग्यो । यसको खेती आफ्नो गाउँमा पनि सम्भव होला भन्ने लाग्यो र किवी खेतीको खोजी सुरु गरे । १ वर्ष किवीबारे अध्ययन र खोज गरेपछि उनी इलाम फर्किए र किवी खेती सुरुवात गरे ।
जीविको सँग कुरा गर्दै उनले भने “खोजी गर्दा गर्दै किवीले मन तान्यो काठमाडौंको जागिर गर्दै गाउँमा खेती गर्न सम्भव भएन र अन्तत: किवीको लागि जागिर छोडिदिएँ ।”
सन्दकपुर गाउँपालिका तालगाँउमा तारामणिको किवी फार्म छ । कृषक उद्यमी र सफल व्यवसायी तारामणि आफ्नो दैनिकी किवीकै बगानबाट सुरुवात गर्छन् । उनी दिनभर खेतीमै लागिरहन्छन् । तारामणिले ५ जनालाई रोजगारी पनि दिएका छन्, उनीहरू वर्ष भरी नै फार्ममा काम गर्छन् । अप्रतक्ष्य रोजगारी त सयौँलाई दिएको बताउँछन् उनी ।
उनी भन्छन् “सुब्बाको जागिर भए अहिले ४०-५० हजार आम्दानी हुन्थ्यो, अहिले लाखौँ आम्दानी छ ।”
देशमा अहिले पनि ७० प्रतिशतभन्दा बढी नेपाली कृषि पेशामा नै रहेता पनि कृषकको सम्मान र यस पेशा प्रतिको आकर्षण भने घट्दो छ । जसका कारण बिहानदेखि बेलुकासम्म खेतबारीमा काममा खट्ने या दैनिक गाईवस्तुको स्याहार गर्ने मानिसको कमी हुँदै गएको छ । तर तारमाणि भने सरकारी जागिर छोडेरै व्यावसायिक कृषि पेशामा संलग्न भएका छन् । खतिवडाले सर्वोच्च अदालतको जागिर छोड्दा धेरैले उनलाई मति बिगारेको पनि भने । तर अहिले भने तिनै मानिस उनको प्रशंसा गर्छन् ।
उनी भन्छन् “पहिला म र मेरो परिवारले सुरुवात गर्यो । अहिले किवी बस्तीका प्रत्येक घर किवी खेतीमा जोडिएका छन् । यस्तो सफलता पाउँदा हामी सबै खुसि छौँ ।” किवीबस्तीमा अहिले ५० बढी परिवारले किवीकै खेति गर्छन् । गाउँमा किवी भित्र्याएका तारामणिले सबैलाई उद्यमी बनाएका छन् ।
इलामको सन्दकपुर गाउँपालिका किवी फल उत्पादन गर्ने खानी नै हो । किवी बस्ती नाम भने यस ठाउँको पुरानो नाम होईन । दशक अगाडीसम्म यस क्षेत्रलाई तालगाँउ भनेर चिनिन्थ्यो । तर पछिल्लो एक दशकमा किवी खेती व्यापक बनेपछी अहिले आगन्तुकहरु यस ठाँउलाई किवी बस्ती भनेर चिन्ने गर्छन् । किवी बस्तीमा अहिले प्रत्येक घरमा किवीका बगान भेटिन्छन् । परम्परागत खेती खासै लगाईदैन, अधिकांश खेत बारीमा किवी रोप्ने गरिन्छ । किवीलाई किवीबस्तीमा ब्राण्ड बनाएका तारामणि २०६३ देखी अहिलेसम्मको समयलाई जीवनको फलदायी समय भन्छन् ।
उनी भन्छन् “रहरको पेसा गरेको छु, माटोमै सुन फलाउदै छु ।” किवीमै सफलता भेट्टाउने आँट त उनिसँग थियो तर उनले किवीबाट अहिले पाएको सफलता यति छिटै भेटिन्छ भन्ने सोचेका थिएनन् । “५० बर्षको लक्ष्य १५ बर्षकै मेहनतमा भेट्टाएका छौँ, किवी जस्तै हरियाली आम्दानी बटुलेका छौँ ।“ उनी भन्छन् “सुब्बा साहेब देखी उद्यमीसम्मको १५ बर्षे यात्रा साह्रै सुखद छ ।”
झण्डै १५ वर्ष अघि काठमाडौंबाट किवीको ज्ञान लिएर गएका तारामणि किवी बस्तीमा सबैलाई यस्को खेती सिकाए अहिले गाउँ किवीमय छ । किवीलाई एक ब्रान्डका रुपमा विकास गर्न उनको भूमिका महत्वपूर्ण छ । उनी किवी फल मात्र बेच्दैनन्, यसको बिरुवा बेचेर पनि लाखौँ कमाउछन् । देशका बिभिन्न जिल्लामा तारामणिको बगानमा उम्रिएका किवीका बिरुवाहरु पुगेका छन् । बार्षिक १० हजार देखी २० हजार वटा त बिरुवा नै बेच्छन् उनी । धेरै किसान किवी खेतीबारे जानकारी लिन तारामणिसम्म पुग्छन् । सिक्न चाहानेलाई पनि खुलेर सिकाउछन् उनी । अहिले किवी तारामणिबाटै किवीको ज्ञान लिएर जिल्लाका सबै स्थानीय तहमा धेरैले व्यावसायिक खेती गरिरहेका छन् । पाँचथर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटालगायत जिल्लामा समेत इलामबाट नै किवीका बिरुवा लगेर रोप्न शुरु गरिएको छ ।
नेपालका लागि किवी नयाँ भने होइन । परम्परागत फल भएपनि नेपालमा यसको व्यवसायिकता भने थिएन । नेपालीमा किवीलाई ठेकी फल भनेर पनि चिनिन्छ । गाउँघरमा दहि जमाउन राखिने ठेकी आकारको देखिने भएकाले पनि यसलाई ठेकी फल भनिएको हो । किवीका बिरुवा, दाना र प्रशोधन गरिएका वस्तुहरुबाट राम्रो आम्दानी हुने गरेको तारामणि भनाइ छ । किवीको बिरुवा प्रतिगोटा १ सय रुपैयाँदेखि ३ सयसम्म पर्दछ । जात अनुसार बिरुवाको मूल्य फरक पर्ने किसानको भनाइ छ । किवी बहुवर्षे बिरुवामा पर्छ । एक पटक रोपेपछि २० वर्षभन्दा बढि आम्दानी लिन सकिने तारामणि बताउछन् ।
किवी खेती बढ्दै गएपछि सरकारले सन्दकपुर गाउँपालिकामा किवी जोन नै घोषणा गरेर यस खेतीलाई विस्तार गर्ने काम गरिरहको छ । किवी जोनमार्फत किसानले अनुदानमा उपकरण र बिरुवा पाउने गरेका छन् । इलाममा उत्पादित किवीका बिरुवा नेपालभर नै बिक्री भइरहेको छ । नेपालमा प्रायः एलिसन, हेवार्ड, रेड (रातो) किवी मन्टी, सोयु ब्रुनो लगायत जातका किवी पाइन्छन् । किवीबाट किसानले फल र बिरुवाबाट उत्तिकै आम्दानी लिने गरेका छन् । दुवैबाट उत्तिकै आम्दानी हुने भएपछि पनि किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् । लहरा प्रजातिको किवीको सामुद्रिक सतहदेखि एक हजार ४०० मिटरदेखि दुई हजार ५०० मिटर उचाइको भूगोलमा खेती गर्न सकिने बताइएको छ ।
किवीलाई नेपालमा महङ्गो फलका रुपमा लिइन्छ । शुरुमा प्रतिकिलो ६ सय रुपैयाँदेखि १ हजारसम्म किनबेच भएको किवी हाल सस्तो बन्दै गएको छ । हाल प्रतिकिलो डेढ सय रुपैयाँदेखि ३ सयसम्ममा किनबेच भइरहेको छ । एउटै फलमा धेरै फलफूलको स्वाद पाइने र धेरै पौष्टिक तत्व पाउन सकिने भएकाले यो फलको महत्व बढेको किसान बताउँछन् । एकथरी किवीमा बाहिर झुस जस्तो हुन्छ भने रातो किवीको बोक्रा चिल्लो हुन्छ । काट्दा भित्र हल्का हरियो भएको किवीलाई ‘ग्रिन’ अर्थात् हरियो किवी भनिन्छ । काट्दा भित्र रातो देखिने किवीलाई ‘रेड’ किवी भनिन्छ । रेड किवी दुई वर्ष अघिदेखि मात्र नेपालमा पाउन थालिएको हो । किवीमा गुलियो र अमिलो स्वादको मिश्रण पाइन्छ । पोषिलो र औषधीय गुण रहेको र रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले पनि यो फल नेपालमा लोकप्रिय बन्दै गएको किवी किसान बताउँछन् ।