युक्रेनमा रहेका नेपालीहरु उद्धारको पर्खाइमा, सरकार भने मूकदर्शक बन्दै युक्रेनको राजधानी किएभ/(Sergei Supinsky / AFP)

जीविको २०७८ फागुन १२ गते १९:४४

रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि युक्रेनको राजधानी किएभमा रहेका नेपालीहरूले सरकारले तत्कालै अन्य देशले जस्तै उद्धारका लागि जहाज पठाउनुपर्ने माग गरेका छन् ।

नेपाल सरकारले भने त्यहाँ रहेका नेपालीहरूलाई व्यवसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन र अत्यावश्यक बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरेको छ । तर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सुरक्षाको कारण देखाउँदै युक्रेन सरकारले बिहीबार बिहानदेखि उडान बन्द गरेको छ ।

युक्रेनमा कति नेपाली छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने बारेमा नेपाल सरकार भने अझैसम्म प्रस्ट भइनसकेको  सरकारले बताउँदै आएको छ ।

त्यहाँ रहेका नेपाली नागरिकलाई सहयोग आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न भन्दै नेपाली राजदूतावास, बर्लिनका कर्मचारी र सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत शुशिल घिमिरेलाई सम्पर्क गर्न सकिने भन्दै  सूचना मन्त्रालयले जारी गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले ठाउँठाउँमा विस्फोट र क्षेप्यास्त्र प्रहार भएपछि ४० भन्दा बढी युक्रेनीको ज्यान गएको र  युक्रेनको राजधानी किएभ छाड्नेको सङ्ख्या बढिरहेको बताएका छन् । नेपाल सरकारले भने आफ्ना नागरिकलाई कसरी उद्धार गर्ने भनेर हालसम्म पनि ठोस योजना बनाउन सकेको छैन । परराष्ट्र मन्त्रालयकी सहायक प्रवक्ता तथा सूचना अधिकारी रिता धितालले प्रवक्ता मार्फत नै आधिकारिक सूचना आउने भन्दै आफू बोल्न चाहिनन् । प्रवक्ता सेवा लम्साललाई निरन्तर सम्पर्क गर्दा उनको फोन उठेन ।

मन्त्रालयले जारी गरेको सूचनाका अनुसार ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग दूतावास सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको बताएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार सन् २०२१-२२ मा ४७ जना पुरुष र ६ जना महिला व्यक्तिगत श्रम स्वीकृति लिएर युक्रेन गएका छन् ।

आज मात्रै प्रेस वक्तव्य जारी गर्दै गैरआवासीय नेपाली संघले युक्रेनमा ४४ विद्यार्थीहरू र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरू रहेको जनाएको छ । संघका प्रवक्ता डिबि क्षेत्रीका अनुसार हिजोसम्म युद्ध नै हुन्छ भन्ने कल्पना आफूले नगरेको र आज परिस्थिति अर्कै सिर्जना भएकाले त्यहाँको अवस्था बुझेर आवश्यक योजना बनाउने बताए ।

डिबि भन्छन्, “राष्ट्रिय समन्वय परिषद युक्रेनका अध्यक्ष हरि मल्ल सहयोगका लागि सम्पर्क व्यक्ति हुनुहुन्छ । हाम्रो संघका प्रतिनिधिहरू त्यहाँको वास्तविक अवस्था बुझ्दै हुनुहुन्छ । हाम्रो तर्फबाट गर्ने पहल हामी गर्दैछौं ।”

भारतले २ दिन अगाडि नै संकटग्रस्त युक्रेनबाट २४२ जना आफ्ना नागरिकहरूलाई त्यहाँबाट उद्धार गरिसकेको छ भने बाँकी रहेकालाई पनि उद्धारका लागि काम गरिरहेको छ ।

पूर्व परराष्ट्रमन्त्री तथा पूर्व राजदूत डा. भेष बहादुर थापाले यसप्रकारका विषयमा सरकार चनाखो र संवेदनशील हुनुपर्ने बताए । उनी भन्छन्, “यस प्रकारका समस्या विश्वव्यापी हुन् तर पनि हाम्रो कुटनीतिक अभ्यास बलियो हुनुपर्छ ।  हाम्रा विषयवस्तुमा हामी चनाखो हुनुपर्छ ।”

यसबीचमा परराष्ट्र मन्त्रालयले अर्को एउटा विज्ञप्ति जारी गर्दै तनाव नबढाउन र संयमता अपनाउन रुस र युक्रेनलाई आग्रह गरेको छ ।

हाल विकसित अवस्थालाई हेर्दा रुस र युक्रेनको द्वन्द साम्य हुने भन्दा पनि झनै तनावपूर्ण हुँदै गएको छ । पछिल्लो केही घन्टा यता भौतिक क्षतिसँगै  मानिसहरूको ज्यान गएको समचार निरन्तर आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *