काठमाडौं महानगरमा २ सय ३१ जना गणक र सुपरिवेक्षक माग
काठमाडौं महानगरपालिकाले पाँच महिनाको लागि गणक र सुपरिवेक्षक पदमा २ सय ३१ जना कर्मचारीको आवेदन माग गरेको छ, जसमा २ सय १० जना गणक र २१ जना सुपरिवेक्षकको माग गरिएको हो ।
महानगरपालिका अन्तर्गत रहेका गरिब परिवार पहिचान गरि परिचय पत्र वितरण गर्ने कामको लागि कर्मचारी आवश्यक परेकोले आवेदन माग गरेको महानगरपालिकाले जनाएको छ ।
तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणित विषयमा कम्तिमा १२ कक्षा उत्तीर्ण गरेका वा सो सरहकाले गणकमा र सोही विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेकाले सुपरिवेक्षकमा आवेदन दिन सक्नेछन् । छनोटमा कम्प्युटर सम्बन्धी ज्ञान भएकालाई प्राथमिकता दिने भनिएको छ । माघ २४ गतेभित्र दरखास्त दिन सकिने र दरखास्त दिँदा कुनै पनि शुल्क नलाग्ने महानगरपालिकाले जनाएको छ ।
आवेदकले www.kathmandu.gov.np मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । छनोट भएका उम्मेदवारलाई सीप परीक्षणका लागि इमेल मार्फत जानकारी दिइने छ, त्यसपश्चात आवेदकको अन्तर्वार्ता गरेर छनोट गरिने महानगरले जनाएको छ ।
हेर्नुहोस् सूचना
गरिब घरधुरीको पहिचान गर्ने र तिनको अवस्थाका आधारमा परिचय पत्र दिएर गरिबी निवारणका लागि विभिन्न सेवा सुविधा दिने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब पहिचान कार्यक्रम सञ्चालन गरेको ९ वर्ष वितिसक्दा पनि गरिबिको तथ्यांक आउन नसकेको कारण मन्त्रालयको सहयोगको लागि महानगरपालिकाले यो काम सुरु गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार यस कार्यक्रमले काठमाडौं उपत्यकामा रहेका गरिब परिवारको पहिचान गरि सरकारले प्रदान गर्ने सेवा सुविधामा उनीहरूको पहुँच सहज बनाउन सहयोग गर्नेछ ।
बसन्त भन्छन्, “उपत्यकामा निम्न आम्दानी भएका परिवारहरुको तथ्यांक नहुँदा यस्ता परिवारले सरकारी अवसरहरु प्राप्त गर्न सकेका छैनन्, यस किसिमको कार्यक्रमबाट उनीहरुलाई राज्यका कल्याणकारी कार्यक्रममा पहुँच बढाउन सहयोग पुग्नेछ ।”
गरिब घरपरिवार पहिचान तथा परिचयपत्र बितरण निर्देशिका,२०७५ अनुसार जनसांख्यिक तथा मानवीय अवस्था, रोजगारीको अवस्था, परिवारमा आश्रित व्यक्तिहरुको संख्या, भौगोलिक क्षेत्रजस्ता विषयलाई आधार बनाएर गरिब घरपरिवार पहिचानको सुचक तयार गरिएको छ । पहिचान भएकामध्ये अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो रंगको परिचय पत्र वितरण गरिने निर्देशिकामा उल्लेख छ ।
यसअघि बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, मनाङ, मुस्ताङ लगायतका २६ जिल्लाका ३ लाख ९१ हजार ८ सय ३१ गरिब परिवारको पहिचान गरिसकिएको छ । सर्वेक्षणअनुसार दार्चुलामा ६२.२, डोटीमा ६३.७ प्रतिशत गरिबी रहेको देखिएको थियो । स्थानीय तहमार्फत गरिएको सर्वेक्षणमा ४ सय ५६ गणक र ८४ जना सुपरीवेक्षक परिचालन गरिएको थियो ।
………..
०१-४२६५४२४ मा फोन गरेर वा [email protected] मा इमेल गरेर पनि यस बारेमा थप जानकारी लिन सकिन्छ ।