सहज छैन आम मान्छेलाई जीविको चलाउन दुर्गा तामाङ, उनको बुहारी अनि नातिहरु, तस्विर: सुप्रिम बिष्ट/जीविको

बिना सुनार २०७८ माघ १४ गते १९:१४

काठमाडौं बुढानीलकण्ठ चोक छेउको एउटा चौतारीमा पुरानो ठेलाबाट धुँवा उडिरहेको थियो । ठेलामा तीन / चार पाथी जति बदामको थुप्रो  थियो । दुर्गा तामाङ (५५) ठेलामाथि राखिएको हाँडीमा बेला मौका काठका टुक्राहरू थप्थिन्, दाउरा विस्तारै सल्किदै थियो । काठबाट निक्लेको पिरो धुँवाले उनका आँखाबाट आँसु झरिरहेको थियो । आँसु पुछ्दै उनी बाटोमा हिँड्ने मान्छेले बदाम किनिहाल्छन् कि भन्ने आशले खाउँ खाउँ तातो तातो झुरुम झुरुम बदाम भन्दै ग्राहक बोलाउँदै थिइन् ।

विगत १ वर्षदेखि बुढानीलकण्ठ नारायण मन्दिर अगाडि बदाम बेच्दै आएकी दुर्गाको ठेलाबाट धेरै दर्शनार्थीहरुले बदाम किनेर खाए, उनका सयौँ ग्राहक बने तर  बदाम बेचेर कति कमाइ हुन्छ भन्दा उनी अकमक्क परिन् । उनी भन्छिन्, “के कमाई हुनु र, बाटो ढुकेर बसेको छु २ \ ४ पैसा भए पनि बच्चालाई दूध किन्न हुन्छ त्यति हो ।”

१५ वर्ष अगाडि नुवाकोटबाट आएर काठमाडौं बसेकी दुर्गालाई सँधै कामको चटारो हुन्छ । बिहान चार बजेदेखि अरुको घरमा सरसफाइ गर्ने भाँडा माझ्ने, लुगा धुने, खेतीपातीको काम सघाउने र कोही घरमा सुत्केरी छन् भने उनीहरूको स्याहार गर्न उनी जाने गर्छिन् । यसरी नै उनको ढेड दशक बितिसक्यो तर उनको जीवनमा सुख कहिल्यै आएन ।

उनी भन्छिन्, “सुख लुक्छ दु:ख लुक्दैन, जति काम गरे पनि दुई छाक खान सँधै धौधौ नै छ ।,
यसरी बिहानदेखि बेलुकासम्म खट्ने दुर्गाले घर परिवारको जिम्मेवारी आफैँ धानेर बसेकी छिन् । श्रीमानले परिवार नहेरेको कारण घर व्यवहार उनकै काँधमा छ । भएको एउटा छोरा पनि झैँ झगडाको कारण जेलमा छन् ।

११ वर्षको नाति,  वर्षकी नातिनी अनि ५ महिनाको सानो नाति र बुहारीको जिम्मेवारी पनि उनले नै लिनु परेको छ । घरमा जहान ठूलो भयो, काठमाडौंको महङ्गीमा बिहान बेलुका अरुको घरमा काम गरेर मात्र उनलाई जीविको चलाउन कठिन भएका कारण उनले थप काम गर्ने सोचिन् । काम के गर्ने  ? पढाई लेखाइ पनि छैन उमेरले पनि ५० नाघिसक्यो बलको काम गर्न पनि सकिनन् । यही दुःख उनले गाउँकै एक भाइलाई सुनाइन् । उनले पनि दुर्गालाई काम दिन सक्दैन थिए । तर आफूले काम गर्ने अफिसबाट उनलाई दैनिक ५० रुपैयाँ भाडामा  ठेला मिलाइदिए त्यही ठेलामा दुर्गाले बदाम बेच्न थालिन् ।

काठमाडौं बालाजु बसपार्कबाट ३०० रुपैयाँ पाथीको बदम किनेर उनी ९ बजे तीर बुढानीलकण्ठ आफ्नो ठेलामा पुग्छिन् । ३०० सय रुपैयाँ पाथीमा बदाम किनेर बेच्दा उनलाई डेढ सय रुपैयाँ मात्र नाफा हुन्छ । दैनिक चार पाथीसम्म बदाम बेचेर उनी ६ सय रुपैयाँ नाफा हुने उनी बताउँछिन् । तर बालाजुदेखि बदाम ल्याउन उनलाई १०० रुपैयाँ त बस भाडामै लाग्ने गर्दछ ।  त्यसैले खासै फाइदा भने नहुने उनी बताउँछिन् ।
उनी भन्छिन्, “बदाम बेचेर मात्र राम्रो कमाइ हुँदैन, यसमा अरु सामान पनि राखेर बेच्न पाए केही फाइदा हुन्थ्यो तर मसँग अरु सामान किनेर राख्ने पैसा छैन ।”

दुर्गा कोठा भाडामा लिएर बस्छिन् । उनको कोठाको भाडा मासिक ३५ सय रुपैयाँ छ । बिहानको काम गरेर उनी कोठाभाडा तिर्छिन् । बदाम बेचेर परिवारलाई खुवाउँछिन् । दिनरात काम गरेर खट्दा पनि नाति नातिनालाई पढाउन नपाएकोमा उनलाई चिन्ता लाग्छ । उनी भन्छिन्, “आफूले पढ्न पाइन, अहिले नाति- नातिनालाई पनि पढाउन सकेको छैन दुःख लाग्छ ।”

विगत डेढ दशकमा दिन, महिना अनि वर्ष उसैगरी बितिरहे तर तर दुर्गाको जीवन भने दिनरात मजदुरी गरेरै दुई छाक टार्न मै सीमित रह्यो । हिजो उनको जीवन जस्तो थियो अहिले पनि उस्तै छ ।

एक दिन मात्र काम गरिनन् भने उनको घरमा चुल्हो बल्दैन । उनलाई सधैँ उस्तै छ । उनलाई कहिल्यै पनि फुर्सद मिलेन कामबाट न त ऋणले नै उनलाई छाडेको छ । उनी भन्छिन्, “एकतिरबाट ल्यायो अर्को तिर तिर्‍यो, अर्कोबाट ल्यायो अर्को तिर तिर्‍यो, जति काम गरे पनि खर्च धान्न गाह्रो हुन्छ । बाँच्नलाई खान परिहाल्यो । खोइ, यो बदाम बेचेर कसरी धान्नु ?”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *