अनलाइन श्रम स्वीकृति नवीकरण प्रणालीले कामदारहरुलाई ठूलो राहत

प्रतिक ढकाल २०७८ माघ ५ गते १७:४२

विगत १० वर्षदेखि वैदेशिक रोजगारीको क्रममा दुबई बस्दै आएका इनोद सुनारले घर मै बसी बसी श्रम स्वीकृति नवीकरण गरे । वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर आफ्नो पासपोर्ट नम्बर राखेसँगै बाँकी व्यक्तिगत विवरण भर्दै गएपछि करिब १० मिनेट भित्र श्रम स्वीकृति नवीकरण भयो । “यो त गज्जबै भयो” । अब वैदेशिक रोजगार विभाग धाइराख्नुपर्ने, घण्टौँ सम्म लाइन बस्नुपर्ने भएन । इन्टरनेट भए त जहाँ बाट पनि नवीकरण गर्न पाइने भयो ।” उनले आफ्नो खुसी लुकाउन सकेनन् ।

श्रम तथा रोजगार मन्त्रालयले गत शुक्रबारबाट वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको पुनः श्रम स्वीकृति लिने प्रक्रियालाई अनलाइन बनाएपछि इनोदले तुरुन्तै प्रयास गरेका थिए । अब इन्टरनेटको पहुँच र ज्ञान भएकाहरूलाई तत्काल संसारको कुनै कुनाबाट पनि श्रम स्वीकृति नवीकरण गर्न सहज भएको छ । फारम भर्ने, बुझाउने अनि अफिसको झ्यालमा कुर्दै बस्ने झन्झट रहेन ।

त्यस्तै  वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।

अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिनका लागि सहज र चाँडो भए पनि धेरैलाई यो सेवाको बारेमा जानकारी नहुनु अनि अधिकांश कामदारहरूको इन्टरनेट पहुँच नहुनु तथा उनीहरूलाई इन्टरनेट चलाउने पर्याप्त ज्ञान नभएको कारण धेरैले सेवा लिन सकेका छैनन् । अनलाइन सेवा यति सहज छ कि वैदेशिक रोजगार विभागको वेबसाइट https://dofe.gov.np/ अन्तर्गत रहेको अनलाइन श्रम स्वीकृति भन्ने लिङ्कमा थिचेर मागिएको  सूचना भर्दै जाने हो भने १० मिनेट भित्र श्रम स्वीकृति नवीकरण भै सक्छ ।

“यसले कामदारहरूको समय र श्रम दुवै बचत हुन्छ । आफ्नो फुर्सदमा कार्यस्थलबाटै श्रम स्वीकृति नवीकरण गर्न सक्छन्,”- वैदेशिक रोजगार विभागको कार्यलयका निर्देशक (सूचना अधिकारी) हरिराम नागिला बताउँछन् । तर व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिँदा भने अहिले पनि व्यक्ति स्वयम् र संस्थागत श्रम स्वीकृति लिँदा  उनीहरूलाई प्रतिनिधि गर्ने संस्था अर्थात् म्यानपावर कम्पनी वैदेशिक रोजगार विभागमा  उपस्थित भएर श्रम स्वीकृति निकाल्नु पर्ने हुन्छ ।

संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृतिको सुरुवाती प्रक्रिया पनि विभागले अनलाइननै बनाएको छ । तर अनलाइन प्रक्रिया सकिएपछि भने व्यक्तिगत हिसाबले वैदेशिक रोजगारीमा जान लागेका श्रमिक र संस्थागत हिसाबले श्रम स्वीकृति लिन लागेमा सम्बन्धित मेनपावरका कर्मचारी विभागसम्म पुग्नुपर्छ । संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिको लागि सुरुवाती अनलाइन फारम भर्ने प्रक्रिया पनि पुनः श्रम स्वीकृति लिँदा गरिने प्रक्रिया जस्तै हो ।

यसको लागि श्रम स्वीकृति लिनका लागि दरखास्त दिने श्रमिकले आफ्नो नाम, ठेगाना, पासपोर्टका विवरण लगायत सबै कानुनी व्यक्तिगत विवरण अनलाइनमा राख्नुपर्छ । यो राखेपछि सिस्टममा पछि ‘लग इन’ हुन आफ्नो एउटा युजर र पासवर्ड पनि सेट गर्नुपर्छ । यो फेसबुक बनाएजस्तै सरल प्रक्रिया हो । इन्टरनेटमा आफ्नो डाटा राख्न सक्नेले यसलाई सजिलै प्रयोग गर्न सक्छन् ।

यो आइडी बनाएपछि आफू जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपिसहित आवश्यक कागजात अनलाइनमा अपलोड गर्नुपर्छ । जसलाई विभागले अफिसियल अनलाइन डकुमेन्टका रुपमा स्वीकार गर्छ ।

यसैका आधारमा विभागले यो व्यक्ति कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण प्राप्त गर्छ । त्यसअनुसार अब विभागले सो व्यक्तिको श्रम इजाजतको प्रक्रिया अघि बढाउँछ । अनलाइन आवेदन गरेपछि तपाईंको प्रक्रिया प्रमाणित (एप्रोभ) भएको जानकारी विभागले कामदारकै इमेलमा पठाउँछ ।  श्रम स्वीकृतिका यी तिनै प्रक्रिया अनलाइन भएतापनि व्यक्तिगत श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति लिनका लागि भने व्यक्तिगतको हकमा स्वयम् व्यक्ति तथा संस्थागत स्वीकृतिको हकमा मेनपावर कम्पनीको प्रतिनिधि वैदेशिक रोजगार विभागसम्म पुग्नुपर्ने भएता पनि पुनः श्रम स्वीकृतिको हकमा भने श्रम स्वीकृति लिँदा विभागसम्म जानु पर्दैन ।  वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृतिलाई अनलाइन प्रविधिमा लगेपनि सबैभन्दा धेरै श्रम स्वीकृति लिने संस्थागत श्रम स्वीकृति तथा व्यक्तिगत श्रम स्वीकृतिलाई भने अनलाइन गर्न सकेको छैन । जसका वैदेशिक रोजगारीका लागि जाने नयाँ श्रमिकहरू बिचौलियाबाट ठगिने सम्भावना भने उत्तिकै छ ।

हरिराम नागिला पनि संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति पूर्णतया अनलाइन माध्यममा लैजान नसक्दा ठगिने समस्या बढेको स्वीकार गर्छन् उनी भन्छन्, “संस्थागत श्रम स्वीकृति लिनलाई मेनपावरका एजेन्टहरू आउँदा श्रमिकलाई भने अनुरूपको काम बाहेकका अन्य कामको श्रम स्वीकृति लिने गरेकाले वैदेशिक रोजगारीमा जान चाहने नयाँ श्रमिकहरू ठगिने गरेका छन् ।”

अब संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृतिलाई पनि मन्त्रालयको निर्देशिका आउने बित्तिकै पूर्णतया अनलाइन माध्यममा लैजाने हरिराम बताउँछन् । उनी भन्छन् “प्रयास भइरहेको छ छिट्टै यी दुई किसिमका श्रम स्वीकृतिलाई पनि अनलाइन बनाउँछौँ ।”

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *