पुरानो कपडा सिलाएरै मासिक लाख कमाउने उद्यमी महोमद मन्सुरी (भिडियो)

जीविको २०७८ पुष ३० गते १७:१९

‘फिटिङ एण्ड रिपेयरिङ टेलर्स’ भन्ने ठुलो साइन बोर्ड भएको पसल ललितपुरको लुभु  चोकमा पुग्ने बित्तिकै देखिन्छ । हुनतः रिपेयरिङ भन्ने बित्तिकै हामी सबैले सोच्छौ मोबाइल, टिभी, रेफ्रिजेरेटर, कम्प्युटर लगायतका समान बनाउने ठाउँ । तर सुनसरीका नेक मोहमद मन्सुरी (४०) भने पुराना लुगाकपडाको रिपेयरिङ गर्ने काम गर्छन् । 

विगत १५ महिनादेखि लुभुमा पुरानो च्यातिएको, फाटेको, उद्रिएको लुगाहरूको रिपेयरिङ गर्ने तथा नयाँ कपडा जुन ठूलो-सानो हुन्छ, त्यसको फिटिङ गर्ने टेलर्स खोलेर काम गर्दै छन्।   उनी भन्छन्  “नयाँ कपडा सिलाउन नआएर मैले पुरानो कपडा सिलाउने टेलर्स खोलेको होइन, पुरानो लुगालाई पनि बनाएर लगाए सबैको पैसा बचोस् भन्ने सोचले यो व्यवसाय गरेको हुँ ।”  

यसरी पुरानो लुगा कपडा रिपेयरिङ गरेर सबैको सेवा गर्दै आएका नेक कामको सिलसिलामा काठमाडौं मात्र होइन भारतको गुजरात, कतार अनि दुबई पनि पुगेका थिए । तर जहाँ गए पनि उनको काम भनेको लुगा सिलाउने नै रहेको उनी बताउँछन् । 

“वैदेशिक रोजगारीमा जाँदा पनि हातमा सीप लिएर गयो भने गार्हो छैन, मलाई पनि गार्हो भएन, विदेशमा राम्रो कमाइ हुँदा हुँदै पनि कोरोना महामारीले कम्पनी नै बन्द भएपछि म नेपाल फर्किए, नेपाल फर्किएर आफूसँग सीप भएको कारण टेलर नै खोलेर काम गर्न थालेँ” – उनी भन्छन् ।

नेक ७ वर्षको हुँदा उनको बुबाको मृत्‍यु भयो । घरको एक्लो छोरा भएकोले परिवारको सबै जिम्मेवारी उनको काँधमा पर्‍यो ।  बुबाको मृत्युपछि आर्थिक अवस्था नाजुक बन्दै गयो गर्जो टार्नै गार्हो भयो, भएको जग्गा जमिन पनि बुबाको उपचारमा खर्चेका कारण उनीसँग केही थिएन । नेकको परिवारको यस्तो अवस्था देखेपछि उनका बुबाका साथीले उनलाई सिलाउने काम सिकाए । त्यही सिलसिलामा उनी काठमाडौंसम्म आइपुगे, काठमाडौं आएपछि उनले बुबाको साथीसँगै काम सुरुवात गरे । ११ वर्षको उमेरमा नै घरको जिम्मेवारी उठाउन थालिसकेका थिए नेकले ।

यसरी  सानै उमेर देखी गर्दै आएको काम बाट अहिले  मासिक १ लाख भन्दा बढि आम्दानी गर्छन् उनी । कुनै समय आफूसँग केही पनि नभएको सम्झँदै नेक भन्छन् “साथीसँग १५ सय रुपैयाँ सापटी गरि पुरानो मेसिन किनेको थिए, अहिले मसँग दुईवटा इलेक्ट्रिक मेसीन छ”

उनीमात्र होइनन् उनकी श्रीमती दुई छोरा पनि यहि पेसमा छन् । उनले आफ्नो छोराहरुलाई पनि यहि सीप सिकाए जेठा छोरालाई त उनले सिलाउने काममै वैदेशिक रोजगारीका लागि कतार पठाएका छन्। बुबाले सीप सिकाएका कारण उनका छोरा कौशर मन्सुरीले पनि वैदेशिक रोजगारीको क्रममा दुःख नपाएको बताउँछन् उनी भन्छन् “मलाई बुबाले सीप सिकाएर वैदेशिक रोजगारीमा पठाएको कारण गार्हो परेन तर मसँगै सीप नसिकी जाने साथीहरुलाई त्यहाँ काममा कठिनाइ छ” 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *