च्याउ खेतीबाटै बन्न सकिन्छ उद्यमी
व्यवसायीक रुपमा च्याउ खेती गरी यसलाई रोजगारकै आधार बनाएर कृषकले राम्रो आम्दानी लिन थालेका छन् । सामान्य तालिम लिएर च्याउ खेती गर्न सकिने भएपछि किसानहरू यस तर्फ आकर्षित भएका छन् । मुख्य गरी नेपालमा गोब्रेच्याउ, कन्ये च्याउ, सिताके, पराले, दुधे च्याउहरूको व्यवसायीक खेती हुँदै आएको छ ।
कम लगानी र स्थानीय स्रोत साधनको प्रयोगबाट च्याउखेती सहजै गर्न सकिने हुँदा यसले किसानलाई छोटो समयमा ठूलो फाइदा दिने गर्छ । त्यसैले च्याउको व्यवसायीक उत्पादन बढ्दै गएको छ । यही विषयमा जीविकोले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्कका) कृषि वैज्ञानिक प्रेम बहादुर मगर सँग च्याउको व्यसायीक खेती कसरी गर्ने, च्याउ खेतीका फाईदाहरुका बारेमा कुराकानी गरेका छौः
च्याउ खेती गर्नलाई के के सामाग्री आवश्यक पर्छ ?
- सुकेको पराल
- गुणस्तरीय बीउ
- बाँस
- कैँची
- फर्मालिन
- कृषि चुन
- क्यालसियम (कार्बोनेट)
- पारदर्शी प्लास्टिक
- पराल भिजाउने पानी ट्याङ्की
- खेती गर्ने ठाँउ (कोठा, टनेल)
- वाटर स्प्रे
- थर्मोमिटर
- स्टोभ वा चुलो
च्याउको बीउ कस्तो हुनुपर्दछ ?
यसको बीउ तयार गरी राखेको बोतलमा सेतो ढुसी राम्रोसँग फैलिएको र अन्य प्रकारको ढुसी वा जीवाणु नउम्रिएको हुनु पर्दछ। यसको बीउ सरकारी तथा व्यक्तिगत तर भरपर्दो ठाउँबाट खरिद गर्नु पर्दछ।
बीउ कति गहिराइमा र कसरी रोप्नु उपयुक्त हुन्छ ?
तयार भएको ब्याडबाट १-१.५ इन्च मल हटाएर बीउ छरी फेरी सोही मलले छोपी हल्कासँग थिची सम्म बनाउनु पर्दछ। बीउ रोपेपछि ब्याड माथि २ प्रतिशत फर्मालिन (१ लिटर पानीमा ५० मि.लि. फर्मालिन) ले उपचार गरी राखेको खबर कागजले छोप्नु पर्दछ।
ब्याडमा चिस्यानको मात्रा कसरी कायम राख्ने ?
ब्याडमा पानी दिँदा शुरुमा खबर कागज मात्र भिज्ने गरी दिनु पर्दछ। बीउ रोपेपछि कोठाको तापक्रम२०-२५०सेन्टिग्रेडहुनु पर्दछ। रोपेको ८-१० दिन पछि ब्याडमा सेतोढुसीफैलिँदै गएको देखिन्छर १५-२० दिनमा मलको सबै भागमा ढुसी फैलिएर जान्छ।
ब्याडलाई छोप्ने/केसिङ्ग गर्ने माटोको तयारी कसरी गरिन्छ ?
बीउ रोपेको दुई हप्तादेखि ब्याडलाई छोप्ने/ केसिङ्ग गर्ने माटोको तयारी गर्नु पर्दछ। यसको लागि दोमट माटो राम्रो हुन्छ। बारीबाट माटो झिक्दा माथिको करिव ६ इन्च जति माटो हटाएर भित्रको माटो झिकी डल्ला फोडी मसिनो बनाउनु पर्दछ।
ब्याड छोप्ने माटोलाई उपचार पनि गर्नु पर्ला ?
अवश्य नै। यस्तो १०० केजी. माटोमा २ केजी कृषि चूनर २५० मि.लि. फर्मालिनको प्रयोग गरी सफा गरेको साबेलले चलाएर थुप्रोलाई माथिबाट प्लास्टिकले छोपी ४८ घण्टासम्म उपचार गर्नु पर्दछ। प्लास्टिक हटाएपछि २-३ दिनको फरकमा २ पटक चलाई फर्मालिनको गन्ध हटाउनु पर्दछ।
ब्याडमा सिंचाई/चिस्यान कायम गर्न कस्तो उपाय गर्नु पर्ला ?
ब्याडलाई माटोले छोपेपछि झारी वा स्प्रेयरले माटोको सतह भित्र भिज्ने गरी पानी दिनु पर्दछ। चिस्यानको मात्रा बढी भएमा ढुसी/च्याउ नष्ट हुन सक्दछ । अतः बढी होसियारीका साथ सिँचाइ गर्नु पर्दछ।
च्याउ रोपेको कोठाको वातावरण कस्तो हुनुपर्दछ?
यसरी माटोले ब्याड छोपी सकेपछि ७-१० दिनसम्म कोठाको तापक्रम २०-२५ डिग्री सेन्टिग्रेडमा राख्नु पर्दछ। यस अवधिमा च्याउको ढुसी माटोको सतहसम्म फैलिन थालेको हुन्छ।
च्याउ खेती गरिएको कोठाको तापक्रमलाई कसरी सन्तुलित राख्ने ?
कोठा भित्र उपयुक्त वातावरण कायम राख्न गर्मीको समयमा भुईँ तथा भित्तामा जुटको बोरा पानीले भिजाई चिसो पार्नु पर्दछ। जाडोको समयमा भने कोठा भित्र हिटर तथा ठूलो भाँडोमा पानी तताएर राखी तापक्रम तथा आर्द्रता बढाउन सकिन्छ।
कोठा भित्र हावाको संचालन बढाउन के कस्तो व्यवस्था मिलाउनु पर्ला ?
बाहिरको स्वच्छ हावा सञ्चार गराउन एयरकूलर चलाउन अथवा साधारणतया झ्यालहरू खोलेर पनि आवश्यकता पूर्ति गर्न सकिन्छ। झ्यालहरू खोल्नको लागि भने झ्यालहरूमा मसिनो प्वाल भएको तारको जाली लगाउन अनिवार्य हुन्छ।
ब्याडमा माटोले छोपेको कति दिन पश्चात् च्याउ टिप्न तयार हुन्छ?
ब्याडलाई माटोले छोपेको १५-२१ दिनसम्ममा च्याउका मसिना सेता कोपिला (डल्ला) हरू उम्रिन थाल्छन् । यस्ता डल्ला देखिएको एक हप्ता पछि च्याउ टिप्न तयार हुन्छ।
उत्पादित च्याउलाई कसरी टिप्ने ?
च्याउ टिप्न जानु अगाडि साबुन पानीले हात धुनु पर्दछ। च्याउ टिप्दा तीनवटा औंलाले डाँठमा समातेर एकपल्ट दाहिने अर्को पल्ट देब्रेपट्टि बटारेर होसियारीपूर्वक टिप्नु पर्दछ।झुप्पै भएको ठाउँमा भने चक्कुको सहायताले टिप्नु पर्दछ।
के च्याउको भण्डारन सम्भव छ ?
च्याउ सकेसम्म ताजैमा खाने र टिपेकै दिन बिक्री गर्ने हो तर रेफ्रिजरेटरमा ३-४ दिनसम्म राख्न सकिन्छ। राम्ररी खेती गरिएको ठाउँमा २-३ महिनासम्म च्याउ फलिनै रहन्छ।
च्याउमा प्रयोग गर्ने कम्पोस्ट मल कसरी तयार गर्न सकिन्छ ?
मल बनाउन चाहिने जति पराल जोखेर १ देखि १.५ फिट टुक्रा पारेर काटी सफा पानीले राम्रोसँग भिजाउनु पर्दछ। चाहिने जति रासायनिक मल र अन्य सामाग्री जोखेर तयार गर्नु पर्दछ । पहिलो दिन परालको थुप्रोलाई एउटा काठको फ्रेम (५ फिट X ५ फिट X १० इन्च ) भित्र तहतह पारी राख्दै हलुका सँग गोडाले कुल्चिएर मिलाउनु पर्दछ। प्रत्येक ३-४ तह पछि पहिले मिसाएको एमोनियमसल्फेटर युरियाको मात्रा १ -२ केजी. छर्नु पर्दछ। यदि पराल राम्रोसँग भिजेको रहेनछ भने झारी वा हातले अलि अलि पानी छम्कनु पर्दछ। गुणस्तरीय कम्पोस्ट मल तयार गर्नको लागि आठौं पटकसम्म पल्टाउनु पर्ने हुन्छ। यसरी पल्टाउँदा मल पाके नपाकेको र ब्याड बनाउन तयारी अवस्थामा भए नभएको स्पष्ट थाहा हुन्छ।
च्याउमा कस्ता किसिमका रोगहरु लाग्न सक्छन् ?
१) हरियो ढुसी
२) कालो टिका
३) पोकाको केही भागमा देखिने कालो
४) भुसुना र कीरा
५) पोकैमा पर्ने कीरा
६) सुन्तला रङ्का कीरा
७) चिप्ले कीरा
च्याउ लाई रोग बाट कसरी बँचाउन सकिन्छ ?
रोगले आक्रमण गरेको ठाउँमा २ प्रतिशतको फर्मालिन छर्ने साथै बेभिष्टिनको ०.१ प्रतिशतको झोल पनि प्रयोग गर्न सकिन्छ। केसिङ्ग गरेको माटोको राम्ररी उपचार गर्ने तथा हावाको संचार व्यवस्थित गर्नु पर्दछ । च्याउमा झिँगा बढी लाग्ने हुँदा विशेष गरी सरसफाइमा ध्यान दिनु पर्दछ ।
च्याउ खेतीका चुनौतीहरू
- अनुसन्धानको कमी
- प्रविधिको कमी
- दक्ष जनशक्तिको कमी
- बीउ उत्पादन गर्ने प्रयोगशालाको कमी
- बजारको संजाल नहुनु
- बजारको समस्या
- रोग कीरा व्यवस्थापनको समस्या
- उन्नत जातको बीउको कमी
परामर्शदाता राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्कका) कृषि वैज्ञानिक हुन् ।