ट्याम्पो स्टेरिङ घुमाउँदै जिन्दगी दौडाइरहेकी विमला
“जावलाखेल, पुलचोक, टेकु, कालीमाटी, डल्लु ल है हिँड्न लाग्यो आउनुस् ……आउनुस्” भन्दै ट्याम्पो चालक विमला कोइराला (३२) चिच्याइ-चिच्याइ यात्रुहरू बोलाउँदै थिइन् । हामी लाई पनि कालीमाटी जानलाई हतारो थियो । उनको आवाज कानमा पर्ने बित्तिकै त्यही ट्याम्पोमा चढिहाल्यौं । लगनखेल बसपार्कमा ५ मिनेट जति यात्रुहरूलाई बोलाउँदै गर्दा उनको ट्याम्पो भरियो अनि विमलाले स्टेरिङ घुमाउन थाली हालिन् । उनलाई ढिला भयो भने बाटोमा भेटिने यात्रु उम्केलान् कि भन्ने डर थियो ।
स्टपै पिच्छे झर्ने यात्रु छन् कि भन्दै उनी सोधी रहन्थिन् अनि बाटोमा ट्याम्पो चढ्ने कोही छन् कि भनेर दायाँबायाँ आँखा डुलाई पनि रहन्थिन् । यात्रुहरू कहिले कहिँ आफ्नो गन्तव्यमा ओर्लन बिर्सन्छन् कि भनेर निश्चित ठाउँ आउनु आगाडि नै उनी “जाउलाखेल झर्ने कोही हुनुहुन्छ ? पुल्चोक झर्ने कोही हुनुहुन्छ? भाडा मिलाइहाल्नुहोस् है…” भनेर खबर गराउँथिन् ।
ट्याम्पो चालक विमला हेर्दा पनि जोशीली देखिन्थिन् । यसरी जोसिएर ट्याम्पो चलाएको देखेपछि हामीलाई पनि उनीसँग कुरा गर्न रहर लाग्यो । उनीसँगैको सिटमा बसेका हामीले सोधी हाल्यौं, “दिदी कहिलेबाट ट्याम्पो चलाउन थाल्नुभएको ?”
“चार वर्ष पुग्यो” स्टेरिङ घुमाउदै उनले भनिन् ।
हाल सातदोबाटोमा बस्ने विमलाको घर चाहिँ तनहुँ रहेछ । ९ कक्षासम्म तनहुँमै पढेकी विमलाले घरको आर्थिक अवस्था त्यति मजबुत नभएका कारण उच्च शिक्षा लिन सकिनन् । त्यसपछि उनी कामको सिलसिलामा काठमाडौं आइपुगिन् । काठमाडौं आएपछि चिनजानको एक गार्मेन्टमा काम गर्न थालिन् । ७ वर्ष गार्मेन्टमा काम गर्दा उनको सिलाउने मेसिनमा राम्रैसँग हात बसिसकेको थियो ।
गार्मेन्टमा सीप त सिकिन्थ्यो तर घर धान्ने गरि ज्याला भने नपाउने, तोकिएको तलब पनि समयमा नआउने कारण उनले आफ्नै व्यवसाय गर्ने सोचिन् ।
उनी भन्छिन्, “ अरुको काम गरेर कहिल्यै राम्रोसँग जीविको चलेन, काम भने धेरै गर्नुपर्ने तर कामको ज्याला भने साह्रै नै कम्ती।”
त्यसपछि उनले निर्णय लिइन् गार्मेन्ट छाडेर व्यापार गर्ने । गार्मेन्टमा काम गर्दा उनले लुगा सिलाउने मेसिनबारे राम्रै जानकारी लिएकी थिइन् सो अनुरुप लुगा सिलाउने मेसिनको पसल खोल्ने सोच बन्यो ।
आफूसँग भएको केही बचत र साथीभाइसँग केही ऋण लिएर उनले काठमाडौंमा लुगा सिलाउने मेसिनको पसल खोलिन् । सुरुवातमा व्यापार राम्रै भयो तर भुईँचालो पछि भने पसलको व्यापार त्यति फस्टाएन । उनलाई पसल भाडा तिर्नै मुस्किल भयो । अनतः उनले पसल नै बन्द गर्ने निर्णय गरिन् ।
“सानेपा झर्ने कोही हुनुहुन्छ ?” सानेपा आइपुग्दा नपुग्दै उनले यात्रुलाई सोध्न भ्याइहालिन् । दुईजना यात्रु झर्ने रहेछन् तर अगाडि ट्राफिक देखेरे हतारिँदै भाडा लिइ ट्याम्पो कुदाइहालिन् । ट्याम्पो कुदाउँदै विमला एक्लै बोल्न थालिन्, “४० रुपैयाँको कारणले अहिले फेरी पाँचसयको चिट काट्छ ।”
यात्रु झरेपछि उनले आफ्नो कथा सुनाउन सुरु गरिन् ।
काठमाडौंजस्तो महँगो ठाउँमा काम नै नभएपछि जीविको चलाउन उनलाई हम्मे पर्ने नै भयो । त्यसपछि उनी कामको खोजीमा यताउता भौँतारिन थालिन् । उच्च शिक्षाको प्रमाणपत्र हातमा नहुँदा उनलाई काम पाउन मुस्किल पर्यो । यसरी काम खोज्ने क्रममा महिलाले ट्याम्पो चलाइरहेको देखिन् उनले ।
यो देखेपछि उनलाई लाग्यो कति कामको खोजीमा यताउता डुल्नु बरु अब ट्याम्पो नै चलाउने । ट्याम्पो चलाउने दुईचार जना महिलाहरूलाई “कमाई कत्तिको हुन्छ, मैले चलाउन सक्छु कि सक्दिनँ ?” भनेर सोधिन् । उनीहरूले केही नहुने, सजिलै सिक्न सकिन्छ भनेर भनेर बिमलालाई हौसला दिए । ट्याम्पो चालक मध्येकै एकले उनलाई ट्याम्पो चलाउन सिकाइदिने पनि भइन् । ट्याम्पो चालक सँगै हप्ता दिनसम्म रुटमा हिँडेपछि उनले ट्याम्पो चलाउन सिकि हालिन् ।
“ठूलो-ठूलो जुकी मेसिन (लुगा सिलाउने इलेक्ट्रिक मेसिन) चलाई रहेकोले एक्सिलेटरको अनुभव थियो त्यसैले गर्दा मलाई खास्सै गाह्रो परेन,” भन्छिन् उनी ।
यसरी ट्याम्पो चलाउन सिकेपछि उनले लाइसेन्सको परीक्षा दिइन् । लाइसेन्समा नाम पनि निक्लियो र बैंकको ऋणले ट्याम्पो पनि किनिन्। अहिले ट्याम्पो चलाएरै उनको १ लाखभन्दा बढी मासिक आम्दानी हुन्छ, र यसैबाट विमलाको जीविका चल्ने गरेको छ । टेम्पोको किस्ता, छोराछोरीको पढाई खर्च, कोठा भाडा, रासन र अरु खर्च कटाएर पनि मासिक ३० हजार बचत गर्छिन् ।
यसरी यात्रुलाई गन्तव्य सम्म पुर्याउने विमला विगत २ वर्षदेखि भने आफ्नो जीवनको यात्रामा एक्लै हिँडिरहेकी छिन् । दुईवर्षअघि उनका श्रीमानको मृत्यु भयो । “श्रीमानको मृत्युपछि एक्लै छोराछोरीलाई कसरी पढाउने, के गर्ने भनेर निकै तनाव खेप्नुपर्यो,” उनले श्रीमानको मृत्यु भएपछिका दिन सम्झदै भनिन्, “अभाव र दुःखमा झेलेको जिन्दगीले नै धेरै कुरा सिकाउने रहेछ, मैले त्यतिबेला छोरा छोरीको अनुहार हेरेर आफूलाई दर्हो बनाए ।”
अहिले उनी काठमाडौंमा १४ वर्षकी एक छोरी अनि १३ वर्षीय छोरासँग खुशी साथ बसेकी छिन् ।
विमलालाई उनको घर परिवारको त्यति साथ र सहयोग छैन तर उनी भन्छिन्, “घरको सहयोग नभएर के भयो र म एक्लै पनि मेरा बालबच्चाको राम्रो पालन पोषण गर्न सक्छु ।”
फेरी उनी टेकुको जाममा कराउँछिन्, “टेकु झर्ने भए यहिँ झर्नु है …”
बिहान चार बजेदेखि बेलुकी आठ-नौ बजेसम्म पनि विमला कालीमाटी, डल्लु, लगनखेलको रुटमा घुमिरहेकी हुन्छिन् । यो दौरानमा उनले सयौँ यात्रुहरू भेट्छिन् । कतिले उनलाई महिला भएर पनि यस्तो काम गरेको भनेर प्रेरणा दिएर जाने गर्छन् । चार वर्षको अन्तरालमा उनलाई ट्याम्पो चलाउँदा खासै समस्या परेको छैन । “काठमाडौंको जाम, खाल्डाखुल्डी बाटोले मात्र केही समस्या दिएकाले समयमा यात्रुलाई गन्तव्यमा पर्याउन सकिन्न अरु खासै समस्या छैन,” उनी गुनासो गर्छिन् ।
उनी भन्छिन्, “म आफैँ पनि जिरा घमण्डी छु । जस्तोलाई त्यस्तै व्यवहार गर्छु । आफू सही बाटोमा हिँड्नु पर्छ, कसैले केही गर्न सक्दैन ।”
छोराछोरीको भविष्यको लागि संघर्षरत विमलाले श्रीमान नहुनु, काम नपाउनु लगायतका धेरै दुःखहरू पार गरिसकिन् । उनी भन्छिन्, “मैले धेरै दुःख सहिसकेँ । अब मलाई दुःख देखेर डर लाग्दैन । म मजबुत भइसकेँ त्यसैले अब जस्तो परिस्थिति आएपनि सहन सक्छु ।”
समृद्ध जीवनको यात्रामा अघि बढिरहेकी विमला अरुलाई पनि स्वदेशमै काम गर्न सुझाव दिन्छिन् । “नेपालमै धेरै अवसरहरू छ, यहिँ काम गरौँ । मैले त स्वदेश बसेर महिनाको ३० हजार बचत गरिरहेको छु भने म जस्तै अरुले पनि यहीँ गर्न सक्छन् । त्यसको लागि ४० डिग्रीको घाममा तात्तिन जानु पर्ला र ?,” उनी हाँस्दै प्रश्न गर्छिन् ।
“ल कालीमाटी आयो झर्नुहोस् त …” ट्याम्पो रोक्दै विमला उसैगरी कराइन् ।
ए .. हाम्रो पनि झर्ने समय आएछ । करिब २५ मिनेट विमलासँगको यात्रामा हामीलाई पनि उनको जीवन संघर्ष र उनको आँट देखेर उर्जा थपियो । ल त हामी गयौँ है भन्दै झर्दा हर्न बजाउँदै विमलाले भनिन्, “जिन्दगीको यात्रा लामो छ, कहिँ न कहिँ फेरी भेट होला नि ।”