भिजिट भिसाका नाममा ठगी मौलाउँदा पनि सरकारी निकाय मौन !
२०७५ सालतिर, पहिले पनि वैदेशिक रोजगारीका क्रममा कतार र साउदी गइसकेका तनहुँका ध्रुब बानियाले नेपाल आएपछि माल्दिभ्सका लागि क्रुज (पानीजहाज) मा काम गर्ने ‘अफर’ थाहा पाए । अनुभव पनि नचाहिने अनि २ लाखभन्दा बढी तलब पनि पाइने भन्ने सुनेपछि एजेन्टले भनेबमोजिम गर्न ध्रुब तयार भए । एजेन्टलाई १ लाख नगद बुझाएपछि उनले थाहा पाए, माल्दिभ्स होइन दुबइ जाने तयारी हुँदै रहेछ । २ लाख ४० हजारभन्दा बढी खर्च गरेपछि ध्रुबको भिजिट भिसा आयो । करिव साढे २ लाख बुझाउदा पनि ध्रुबलाई विदेश गएपछि आफूले गर्ने काम र तलबका बारेमा केही पनि थाहा थिएन । ठूलो रकम खर्च भइसकेको अवस्थामा बाध्यताले नै भए पनि उनी उड्नु पर्ने भयो ।
त्यो समयमा सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको थियो तर प्रतिबन्धले उनलाई खास्सै असर परेन । एजेन्टले ध्रुब सहित अन्य ४० जनालाई भारतको दिल्ली पुर्यायो र त्यहाँकै विमानस्थलबाट दुबइ उडायो । अजमान भन्ने ठाउँमा ध्रुब र उनीसँगै गएकाहरू आफ्नै खर्चमा १ महिनासम्म बसे । त्यहाँ अरु एजेन्टहरू हुने रहेछन् जसले भिजिट भिसामा गएकाहरूलाई काम खोजिदिने र त्यसबापत पैसा लिने गर्ने रहेछन् । ध्रुब भन्छन्, “यताको एजेन्टले उताको एजेन्टलाई नचिन्ने रहेछन् । नेपालमा मात्र होइन भारत अनि दुबइका एजेन्टलाई पनि पैसा बुझाउनु पर्ने रहेछ ।” उनी थप्छन्, “महिना दिनसम्म पनि केही काम नपाए पछि वाध्य भएर क्याटरिङमा काम गरेँ । तर ९० दिनसम्म पनि दुबइमा बस्दा भिसा थप नभएपछि म नेपाल फर्किएँ ।”
नेपाल फर्किएपछि आफ्नो पैसा उठाउनका लागि ध्रुबले बारम्बार ताकेता गरिरहे । उनले पैसा त पाएनन् उल्टै कतै उजुरी गरेमा राम्रो नहुने धम्की एजेन्टबाट पाए । “सबै मान्छे चिनेको छु मैले, कतै उजुरी गरे पनि केही हुँदैन भन्यो । म काम गरेर खाने मान्छेलाई उजुरी गर्ने आँट आएन,” ध्रुब निराश हुँदै बताउँछन् ।
रित्तो हात फर्किएका ध्रुब अहिले रेस्टुरेन्टमा काम गर्छन् । उनले अब आफ्नो पैसा आउने आश मारिसकेका छन् । ध्रुबले अहिले आफैले ठूलो गल्ती गरेको महसुस गरेका छन् । थाहा हुँदाहुँदै पनि अनावश्यक प्रलोभनमा परेर एजेन्टको भर पर्दा पछुतो मान्छन् उनी ।
आफूसँगै गएकाहरूको अवस्था के छ भन्ने कुरामा केही पनि जानकारी छैन उनलाई । ध्रुब भन्छन्, “धेरैले चर्को ब्याजमा ऋण गरेर पैसा खोजेका थिए, काठमाडौंको बारेमा राम्रोसँग थाहा नभएकाहरू विदेशको बारेमा झनै के थाहा हुन्थ्यो र ? जस्तो ठाउँमा जे भन्यो त्यही गर्न वाध्य छन् । न त उनीहरु फर्किन सक्छन् न भनेजस्तो काम र पैसा पाएका छन् ।”
वैदेशिक रोजगारीमा भारतको बाटो हुँदै अवैध रूपमा जाँदा श्रमिकहरूले विभिन्न समस्या भोग्नु परेको समाचार निरन्तर रुपमा आउने गरेको छ यद्यपि नेपालबाट सम्भव नभएको अवस्थामा भारतको बाटो हुँदै एजेन्टले नेपालीहरूलाई सजिलै लाने गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोली नेपाली कामदारको अवस्था बुझ्न समयसमयमा खाडी लगायतका विभिन्न मुलुक जाने गरेको छ । अवैध रूपमा विदेश पठाउने काममा अध्यागमन कर्मचारीकै संलग्नता रहेको भनेर सर्वत्र आलोचना भए पछि भिजिट भिसामा खाडी मुलुक जान सरकारले रोक लगाएको थियो । भारतको बाटो भएर अन्य गन्तव्य मुलुक नजान र जानै पर्ने अवस्थामा सरकारले एन ओ सी पत्र अनिवार्य गरेको थियो तर जस्तोसुकै प्रतिकुल अवस्थामा पनि नेपालीहरूका लागि भारतको बाटो भने सबैभन्दा भरपर्दो विकल्प बन्दै आएको छ ।
गत मंसिरमा मात्रै ७४ हजार ३५४ जना कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । विभागबाट श्रम स्वीकृति लिएर वैधानिक तरिकाले जानेहरूको संख्या हो यो । अध्यागमन विभागको नोभेम्बर महिनामा मात्र भारत प्रस्थान गर्नेहरूको तथ्यांक हेर्दा ११ हजार २४० जना भारत गएको देखिन्छ जसमध्ये २०१७ जना महिला थिए । त्यस्तै सोही दौरानमा भारतबाट नेपाल आउनेको संख्या भने १० हजार ४ सय २१ रहेको छ । यो उडेर जानेहरूको संख्या हो । दैनिक रुपमा स्थलमार्ग हुँदै भारत जानेको संख्या कति छ भन्ने कुराको स्पष्ट तथ्यांक सरकारको कुनै निकायसँग पनि छैन ।
अर्को ठूलो समस्या भनेको सरकारकै निकायहरू र सरोकारवाला संघ संस्थाहरू बिचमा सहकार्यको अभाव छ । वैदेशिक रोजगार विभाग, बोर्ड, अध्यागमन विभाग, व्यवसायी संघ, गैरसरकारी निकायहरू बिचमा तालमेल नै हुन नसक्दा हजारौं नेपालीहरू मोटो रकम बुझाएर विदेश जान वाध्य छन् ।
भिजिट भिसामार्फत हुने मानव तस्करी रोक्न भन्दै सरकारले अंग्रेजी जान्नै पर्नेदेखि महिलालाई विदेश जान वडाको सिफारिस चाहिने सम्मका प्रावधान समेटेर कार्यविधि नै बनायो । तर समग्र तथ्यांक हेर्दा सन् २०२१ को जनवरीयता ११ महिनामा ६५ हजार ६६३ जना नेपाली भिजिट भिसामा यूएई गएका थिए। त्यसपश्चात् सरकारले भिजिट भिसामा खाडी मुलुक जानेहरूलाई कडाइ पनि गर्यो । दुबई घुम्न जाँदै गरेका ७६ नेपालीलाई कागजपत्र पूरा नभएको भन्दै मध्यरातमा विमानस्थलबाट फर्काएको थियो । समस्या नै निम्तिएपछि तात्ने सरकार बिस्तारै फेरी सेलाउँदै गयो ।
२ महिना अगाडि मात्र पश्चिम नवलपरासीका सुजन छेत्री भिजिट भिसा लिएर बिना कुनै अवरोध यूएई पुगे । कुनै पनि निकायले कहीँकतै पनि उनलाई सोधपुछ गर्ने काम गरेन । ९० दिने भिसा लिएर उडेका सुजनले २ महिना पछि बल्ल त्यहाँ काम पाए तर भनेजस्तो काम र तलब नै नपाएर बिचल्लीमा परेका थुप्रै नेपालीहरू भेटे उनले । सुजन भन्छन्, “नेपाली एजेन्टहरू कै गिरोह सक्रिय रहेछ यहाँ, न कसैको डर उनीहरूलाई न त कसैले उजुरी नै गर्ने आँट । लाखौं खर्च गरेर नेपालबाट आउने अनि कोठाभित्र थुनिएर बस्नु पर्ने अवस्था छ त्यो पनि आफ्नै पैसामा”
जिम्मेवारीबाट पन्छिदै सरोकारवाला निकाय
भिजिट भिसाका नाममा भइरहेको वैदेशिक रोजगारी र त्यसले निम्त्याएका समस्याका विषयमा सबै जानकार छन् तर काम गर्ने तालुकदार निकाय कुन हो भन्नेमा नै सरोकारवाला निकाय आफै प्रष्ट छैनन् ।
वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसाका बारेमा जति कुरा गरेपनि समाधान निस्किने होइन भन्दै यो विषयमा कुरा गर्न नै चाहेनन् । मान्छे गइरहने र समस्यामा परिरहने अवस्थामा कमी नआउँदा सरकार बाहेक अरुले गरेको प्रयासले खासै अर्थ राख्दैन भन्ने उनको तर्क थियो ।
अलपत्र परेका नेपाली आप्रवासी कामदारहरूको उद्धारका लागि वैदेशिक रोजगारीबाट फर्किएका कामदारद्वारा स्थापना गरिएको संस्था प्रवासी नेपाली समन्वय समितिका कार्यकारी निर्देशक सोमप्रसाद लामिछानेले वैदेशिक रोजगारीको भर्ना छनोट प्रकृया नै झन्झटिलो भएका कारण नेपाली श्रमिकहरूले भिजिट भिसा लिएर काम गर्न जान सहज ठानेको बताउँछन् । सोमप्रसाद भन्छन्, “घुम्न जानका लागि जोकोहीले पनि पाउँछन्, कसैको पनि नितान्त वैयक्तिक अधिकारलाई रोक्न राज्यले सक्दैन तर किन भिजिट भिसाको माध्यमबाट हजारौं नेपालीहरू काम गर्न विदेश गइरहेका छन् भन्ने कुरामा चाँहि गम्भिर हुनै पर्छ ।” उनी थप्छन्, “वैदेशिक रोजगारीमा कामदार भर्ना गर्ने तरिका नै सहज छैन । त्योसँगै म्यानपावरको झन्झटिलो प्रकृया पुरा गरेर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यकारी प्रावधान छ । यस्तो अवस्थामा श्रमिकले सजिलो उपाय खोज्नु स्वभाविक हो ।”
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले यस विषयमा सचेतना फैलाउन बोर्डले निरन्तर काम गरिरहेको तर सरकारको मात्रै पहलले यो समस्या समाधान नहुने बताउँछन् । राजन भन्छन्, “कल सेन्टर, परामर्श केन्द्रसँगै रेडियो टेलिभिजन अनि पत्रपत्रिकामा हामीले यसका बारेमा जनचेतनामूलक सामाग्रीहरू प्रकाशन प्रसारण गरिरहेका छौं । जति सचेत गराए पनि कसैको व्यक्तिगत स्वतन्त्रतामा रोकटोक गर्न सकिदैन । जबसम्म भिजिट भिसामा जानेहरू नै सचेत हुँदैनन्, समस्याको समाधान गर्न कठिन छ ।”
अध्यागमन विभागका प्रवक्ता शेखर पौड्यालले अन्तिम समयमा आएर ठोकिने एअरपोर्ट अध्यागमनलाई दोष दिएर अरु पन्छिन नमिल्ने तर्क गर्छन् । बहु-निकाय जिम्मेवार नहुँदासम्म अध्यागमनको मात्र एकल प्रयासले ठोस उपलब्धि पाउन नसकिने उनको धारणा छ । प्रवक्ता शेखर भन्छन्, “सर्वप्रथम त नागरिक आफै सचेत हुनु पर्यो । पहिले गाउँगाउँमा सहकारी भनेजस्तो अहिले गाउँगाउँमा एजेन्ट छन् । त्यसको निगरानी सम्बन्धित निकायले गर्नु त पर्यो । धेरै प्रक्रिया पुरा गरेर मात्र अन्तिममा आउने ठाउँ हो अध्यागमन तर अध्यागमनमा आउनुभन्दा अगाडिका प्रक्रियामा सरोकारवाला निकायले जिम्मेवार भएर काम गर्नुपर्छ । विमानस्थलमा रहेको अध्यागमनले आवश्यक कागजातहरु पुगेको छ वा छैन र भ्रमण गर्न जाने व्यक्तीले उद्देश्य प्रस्तुत गर्न नसकेमा वा शंकास्पद भएमा मात्र भिजिट भिसामा कडाइ गर्ने हो ।“
अवैध रूपमा विदेश पठाउने काममा अध्यागमन कर्मचारीकै संलग्नता रहेको भन्ने आरोपमा शेखरले असन्तुष्टि प्रकट गरे । “केही त्रुटिहरु नभएका होइनन् तर अध्यागमनमा अलि धेरै सोधपुछ गरियो भने अनावश्यक झमेला गरेको भनेर आरोप लाग्ने गर्दछ । सम्पूर्ण प्रक्रिया र कागजात पूरा गरेका व्यक्तिलाई अध्यागमनले कसरी रोक्न सक्छ ?,” शेखरको तर्क छ ।
एकातिर सरकारी निकाय आफ्नो जिम्मेवारीबाट पन्छिरहने र अर्कोतिर भिजिट भिसाको नाममा काम गर्न जानेहरूको लर्को नघट्ने हो भने ठगी, अलपत्र अनि हिंसाका समाचारहरू आगामी दिनमा अझ धेरै आइरहने छ ।