पोतेका दानामा भविष्य बुन्दै २१ वर्षिय श्रीजु
‘आर्ट्सी पर्ल्स’ (Artsy Perles) नामको इन्स्टाग्राम पेजमा विभिन्न प्रकारका रङ्गीविरङ्गी अनि थरीथरीका पोतेका दानाहरूलाई जोडेर बनाएको माक्स होल्डर, फोन चाम, औंठी, हातको ब्रास्लेट, गलाको सिक्री लगायतका सामान राखिएको छ । यहाँबाट आफूलाई मन परेको सामान सजिलै अनलाइन मार्फत किन्न सकिन्छ । कतिपयका लागि यो नाम नौलो नहोला पनि । कतिले त यी सामानहरू यो पेजबाट अर्डर गरेको पनि हुन सक्छ ।
ललितपुर इमाडोलकी २१ वर्षीय श्रीजु कार्कीले ६ महिना अघि मात्र यो साइट खोलेकी हुन् । उनले यो पेजमा आफूले बनाएका पोते, मोतिका सामानहरूको फोटो राखेर सजाएकी छिन् । श्रीजुले युवाहरूलाई लक्षित गरेर सामान बनाएकी हुन् ।
नेपाली किशोर-किशोरीमा सर्वाधिक लोकप्रिय के-पप ब्यान्ड हो दक्षिण कोरियाको बिटिएस, त्यसैमध्ये एक हुन्, श्रीजु । आफ्नो मनपर्ने बिटिएसका एक सदस्यले फ्यानहरूका लागि हातमा लगाउने पोतेको ब्रास्लेट बनाउन फेसबुक लाइभमा आएर सिकाए । फेसबुक लाइभ हेर्दै गरेकी श्रीजुलाई पनि त्यस्ता सामान बनाएर लगाउन मन लाग्यो । आफैंले बनाउन सकिन्छ भनेर पोते बटुलेर बनाउन थालिन् उनले ।
“रङ्ग मन नपराउने कमै मानिस होलान् । यस्तै विभिन्न रङ्गका पोतेहरु, सजावटका फलफूल, जनावर, पेन्डेन मिलाएर हातको बाला बनाएर लगाउँदा म आफैंलाई एकदमै मन पर्यो,” उनी भन्छिन् । श्रीजुले आफ्ना साथीहरूलाई पनि आफूले बनाएका हातमा लगाउने ब्रास्लेट लगाउन दिइन् । साथीहरूले पनि राम्रो प्रतिक्रिया दिए । उनका साथीहरुले यस्तो सामान बनाएर व्यापार गर्न सल्लाह दिए ।
साथीहरूको सुझाव र आफूलाई पनि त्यस्तो सामान बनाउँदा खुशी मात्र होइन, आनन्दको महसुस भएको हुँदा किन यसको व्यवसाय नगर्ने त ? भनेर श्रीजुले व्यवसाय गर्ने बिचार गरिन् ।
श्रीजु होटल म्यानेजमेन्टमा ब्याचलर पनि गर्दै छिन् त्योसँगै ट्राभल एण्ड टुरिजमको कार्यालयमा जागिर पनि गर्छिन् । व्यवसाय सुरुगर्ने निर्णय गरेपछि सामान खरिद गर्न लगानी त चाहियो नै । श्रीजु भन्छिन्, “त्यति बेला मसँग जम्मा १० हजार रुपैयाँ मात्र बचत थियो । त्यही पैसाले पोते, मोतिका माला, धागो, सियो र अरु चाहिने सामानहरू किने अनि बनाउन सुरु गरीहाले ।”
लकडाउनको समय भएकोले चाहिने धेरै समान भने श्रीजुले काठमाडौं, ललितपुरको होलसेल पसलहरू डुल्दा पनि पाइनन् । उनी भन्छिन्, “मैले यहाँ पाउने सामान त किनें तर कति सामानहरू जस्तै त्यसमा प्रयोग हुने लक, पोतेकै अरु डिजाइनहरू त नेपाल मै पाउन गाह्रो हुने रहेछ । कहाँ कसरी पाइन्छ भनेर इन्टरनेटमा हेर्दा अमेरिका, चाइना, दुबइ लागायतका देशहरूमा पाइने रहेछ भनेर थाहा पाएँ र मैले त्यहीबाट आफूलाई चाहिने सामान मगाए।”
पहिलो पटक पोखराबाट श्रीजुलाई सामानको अर्डर आयो । उनी धेरै खुशी भइन्, आखिर सामान त मगाउने रहेछन् भन्ने लाग्यो उनलाई । त्यसपछि बिस्तारै सामानको अर्डर विभिन्न ठाउँहरूबाट आउन थाल्यो । “धेरै सामानको अर्डर भएको दिन त रातको ३ बजेसम्म बसेर पनि बनाउने गर्छु,” उनी भन्छिन्, “सामान बनाउने मात्र होइन आएको अर्डरको डेलिभरी गर्न पनि म आँफै जाने गर्छु । मसँग आफ्नो सवारी साधन छैन, कहिलेकाहीँ भनेको समयमा समान लिन नआउने, गलत ठेगाना दिने, समान अर्डर गरेर क्यान्सिल गरीदिने, सामान डेलिभरी दिन जाँदा मोबाइल अफ गरेर बस्ने ग्राहकहरूले गर्दा भने धेरै समस्या हुने गरेको छ । तर ग्राहकले खुशी भएर प्रतिक्रिया दिँदा त्यो सबै असहजता बिर्सन्छु।”
आमा-बुवा, दिदी, भाइ र उनी गरी ५ जनाको परिवार छ श्रीजुको । व्यवसाय सुरु गर्छु भन्दा पहिले त उनको आमा मान्नु भएको थिएन तर ग्राहक बढ्दै जाँदा, सामानको अर्डर बढी आएको देख्दा आमा पनि खुशी भएर आफूलाई सघाउन थालेको श्रीजु भन्छिन् । आमाले मात्र होइन, उनकी दिदी अनि भाइले पनि उनलाईलाई सहयोग गर्ने गर्दछन । भाइसँग बाईक भएकोले उनलाई समय नमिलेको बेलामा सामानको डेलिभरी गर्न भाइ शीर्षकले सघाउने गरेका छन् ।
जागिर सँगसँगै आफ्नो छुट्टै व्यवसाय गर्दै आएकी श्रीजुले कुनै व्यवसायिक तालिम भने लिएकी छैनन् । पोतेका सामान बनाउने इच्छा भएपछि फटाफट युट्युब हेरे त्यहाँ भने जसरी बनाउदै गर्दा विस्तारै सिक्दै गएको उनी बताउँछिन् ।
१० हजार लगानीबाट सुरु गरेको यो व्यवसायले ५ महिना मै ५ गुणाभन्दा बढी आम्दानी गरी सकेको उनी भन्छिन् ।
मानिसमा केही गर्ने इच्छा हुनु पर्छ, केही गर्छु भन्ने आँट हुनुपर्छ, यदि केही गरेर अगाडि बढ्छु भन्ने चाहना छ भने कुनै पनि व्यवसाय गर्न ठूलो रकम नै लगानी गर्नु पर्दछ भन्ने छैन , न त कुनै उमेरले नै छेक्छ भन्ने कुराको उदाहरण हुन श्रीजु ।
आफूसँगैको साथीहरूलाई पनि केही गरौँ, यत्तिकै घुमेर, डुलेर, बाबुआमाको भरमा मोजमस्ती गरेर समय खेर नफालौँ भन्ने सन्देश दिन्छिन् श्रीजु । उनी भन्छिन्, “पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने छैन । घर परिवारबाट टाढा रहेर, बिहान अर्कै काम, बेलुका अर्कै, राती कता, दिनमा कता टुङ्गो नहुने, खानबस्नको ठेगाना छैन, विरामी परे त झनै हेरविचार गर्ने कोही हुँदैनन् । त्यसैले गर्दा मलाई विदेश जाने कुनै रहर छैन ।
श्रीजुलाई व्यवसाय गरिसकेपछि यसबारेमा विभिन्न कुराहरुको सिकाइ पनि भएको छ । कुनैपनि व्यवसायमा मेहनतसँगै धैर्यता भएन भने यो व्यवसाय दिगो नहुने उनको बुझाई छ । “व्यवसाय गर्ने बित्तिकै त्यसको मुनाफा आई हाल्छ भन्ने चाँहि नहुने रहेछ, अनि सबैले आफ्नो उत्पादन मन पराउँछन् भन्ने पनि नहुने रहेछ, मैले पनि सामान बनाउँदा के यस्तो पोतेको सामान बनाएको? कता लगाउने ? यस्तो पनि माला हुन्छ भन्नेहरू पनि धेरै थिए तर मैले यस्ता कुराहरूलाई वास्ता नगरी आफूले गर्न लागेको काममा लागिरहे,” श्रीजु भन्छिन् ।
आफ्नो उद्देश्यमा प्रतिबद्ध भएर अगाडि बढेकी श्रीजुले ललितपुरको लबिम मलमा पोतेको सामानहरू राखेर ४ वटा प्रदर्शनी पनि गरी सकेकी छिन् । एक पटकको प्रदर्शनीमा लगानी भन्दा ३ गुणा फाइदा हुने गरेको श्रीजुको भनाइ छ । अब यही व्यवसायलाई बिस्तारै फैलाएर ठुलो बनाउने र त्यसको म्यानेजर आफ्नो आमालाई बनाउने सपना लिएकी श्रीजुले अझ नयाँनयाँ डिजाइनका सामान बनाउनुका साथै नेपाली परम्परागत डिजाइनका पोतेका समानहरू बनाएर आफ्नो व्यवसायलाई बृहत् बनाउने सोच गरेकी छिन् ।