सीपमूलक तालिमको ढाँचा पुरानो भयो, सीप परीक्षण प्रभावकारी भएन : अध्यक्ष,रिटर्नी माइग्रेन्ट नेपाल रिटर्नी माईग्रेन्ट नेपालका अद्यक्ष उत्तम अधिकारी/फोटो : सुप्रिम बिष्ट जीविको

जीविको २०७८ पुष ११ गते १८:१७

सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५, लागू गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सीपयुक्त प्रमाणपत्रको आधारमा पठाउने जनाए पनि विगत तीन वर्षमा यसको प्रगति न्यून देखिएको छ । यस्तै वैदेशिक रोजगारीबाट फर्किएपछि पनि सीप परीक्षणको प्रमाणपत्र लिने श्रमिकको संख्या कम छ । यसरी सीप नसिकी वैदेशिक रोजगारीमा जाने प्रवृत्ति, वैदेशिक रोजगारीमा जानुपूर्व तथा फर्किएपछि पनि श्रमिकहरूले सीप परीक्षण नगराउनुको कारण, सीप परीक्षणको महत्व र वर्तमान अवस्थाका बारे रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीसँग गरिएको कुराकानी :

वैदेशिक रोजगारीमा जाने युवाहरु किन सीप सिकेर जान चाहदैँनन् ?

यसमा सर्वप्रथम सरकारले सीपको ढाँचा परिवर्तन गर्न नसक्दा अधिकांश युवाहरूलाई सीप सिक्ने आकर्षण घट्दै गएको छ । सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाहरुका लागि दिइने तालिमको ढाँचा गन्तव्य मुलकमा चाहिने अनुरुपको नभएर पुरानो खालको रहेको छ ।  त्यसका साथै ‘छिटो वैदेशिक रोजगारीमा जाउँ, छिट्टै कमाउँ’ भन्ने सोच युवाहरूमा विकसित भएका कारण पनि वैदेशिक रोजगारीमा जानुअघि सीप सिक्न चाहदैँनन् । सरकारी पक्षबाट पनि सीपको महत्वबारे वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई बुझाउन नसकेको कारण पनि सीप सिक्न जाने युवाहरूको सङ्ख्यामा कमी आएको हुनसक्छ ।

वैदेशिक रोजगारीमा जानुअघि किन सीप सिक्न आवश्यक छ ?

सीप नसिकी वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीले वैदेशिक रोजगारीमा दुःख पाएका छन् । सीप नभएकाहरूले पाउने तलब, सेवा सुविधा कम हुने गर्दछ । उचित सीप नभएकाले उनीहरुलाई काम गर्न गाह्रो हुने गर्दछ भने काम गर्न नसक्दा जे काम गर्न लगायो त्यो काम बाध्य भएर गर्नुको विकल्प केही हुँदैन । कुनै कारणवश रोजगारदाता कम्पनीले निकालेमा आफूसँग सीप छ भने तुरुन्त अर्को कुनै कम्पनीमा काम खोजेर गर्न सकिन्छ । त्यसैले सुरक्षित वैदेशिक रोजगारीका लागि सीप सिकेर जान अत्यन्त आवश्यक छ ।

कस्ता किसिमका सीप सिकेर जानुपर्छ ?

नेपालबाट अधिकांश श्रमिकहरू निर्माण व्यवसाय, कृषि, घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जाने हुँदा त्यही सम्बन्धी आधुनिक सीप सिकेर जानु उपयुक्त हुन्छ तर नेपाल सरकारले दिने तालिमहरू पुरानै तरिकाको छ । जस्तै कृषि क्षेत्रको काममा जाँदैहुनुहुन्छ भने कृषिका विभिन्न प्रविधिहरूबारे सीप सिक्नुहोस् जसमा आधुनिक सिँचाइ, बीउ बिजन सम्बन्धी ज्ञान, कृषि क्षेत्रमा चाहिने आधुनिक उपकरणहरूबारे तालिम लिएर वैदेशिक रोजगारीमा जानुहोस् । त्यसैगरी निर्माण व्यवसायका लागि जाँदै हुनुहुन्छ भने ठूला उपकरणहरू जस्तै डोजर, स्काभेटर, रोलर मेसीन, ग्रेडरहरु चलाउन जानेर जाँदा उपयुक्त हुन्छ । घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जानेहरुले बारिस्टा, केयर गिभर, क्लिनिङ र कुकिङ सम्बन्धी सीपहरु सिकेर जाँदा उपयुक्त हुन्छ । त्यसैले सरकारले नै वैदेशिक रोजगारीमा जाँदा वैदेशिक श्रमबजारलाई हेरेर त्यहाँ आवश्यक पर्ने किसिमका सीपहरू श्रमिकहरूलाई दिनुपर्ने देखिन्छ । 

वैदेशिक रोजगारमा जानेलाई उचित सीप तालिमको व्यवस्था गर्न सरकारी तवरबाट के कस्ता कार्यक्रमहरू भएका छन् ? 

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था छ । यसका लागि वैदेशिक रोजगार विभाग र बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सीप विकास सम्बन्धी तालिम लिनुपर्ने जनाउँदै यसका लागि कामसमेत गरिरहेको छ । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिएर विदेश जाने प्रवृत्ति देखिएपछि अनलाइन प्रणालीमार्फत तालिमको ट्रयाकसमेत गरिने जनाए पनि सोको समेत कार्यान्वयन भने हुन सकेको छैन ।   

व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको थियो । विगतमा म्यानपावर व्यवसायीले एक कामका लागि युवा भर्ना गर्ने र अर्को काम लगेर तोकिएअनुसार पैसा नदिने समस्या थियो । त्यसकारण तालिमको व्यवस्था भए पनि तालिममा सहभागी नै नभई प्रमाणपत्र लिने क्रम बढेको थियो । अब भने सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआइएमएस) बाट तालिम लिए–नलिएको, कक्षामा उपस्थित भए–नभएको हेरेर सही भएमात्र प्रमाणपत्र दिने गरेको छ ।

अहिले सरकारले तालिमका सम्बन्धमा बनाएको प्रणालीका कारण विगतमा जस्तो नक्कली प्रमाणपत्र बनाउन सक्ने अवस्था भए पनि तालिमको अनुगमन भने गरेको पाइँदैन । वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थासँग सरकारको बायोमेट्रिक प्रमाणअनुसार अनलाइन प्रणाली हुने भएका कारण तालिममा अनिवार्य उपस्थित हुनुपर्ने जनाए पनि पूर्णरूपमा नियम कार्यान्वयन भएको छैन । विदेशबाट सीप सिकेर आएकाहरूले समेत सरकारले तोकेअनुसारको सीप परीक्षण गरी प्रमाणपत्र लिएर मात्रै विदेश जान पाउने छन् ।

सीप परीक्षण भनेको के हो ?

सामान्यतया सीप परीक्षण भनेको व्यक्तिसँग भएको दक्षतालाई प्रमाणित गर्न लिइने एउटा परीक्षा हो । औपचारिक तथा अनौपचारिक रुपमा सिकेको सीपलाई प्रमाणित गर्न यस्ता सीप परीक्षण गर्ने गरिन्छ । प्रवास जानुअघि आफूसँग भएको सीपलाई प्रमाणित गरि सहज र उपलब्धीमूलक वैदेशिक रोजगारी बनाउनका निम्ति सीप परीक्षण गरिन्छ । वैदेशिक रोजगारीबाट फर्किएपछि विदेशमा सिकेको सीपलाई स्वदेशी श्रमबजारमा प्रयोगमा ल्याउन फर्किएपछि पनि वैदेशिक रोजगार वोर्डले सीप परीक्षण गर्ने गरेको छ । सीप परीक्षण गर्नका लागि भनेर सरकारले समयसमयमा सूचना जारी गर्ने गरेको छ । सरकारले सूचना जारी गरेकै समयमा सीप परीक्षण गराउने ठाउँको बारेमा पनि जानकारी दिने गरेको छ । सीप परीक्षण गर्नका लागि सरकारले देशका सबै प्रदेशहरूमा निवेदन दिने ठाउँ तोकेको हुन्छ सोही अनुरूप सीप परीक्षण गराउन चाहने श्रमिकले सरकारले तोकेको ठाउँमा गएर सीप परीक्षणका गराउन सक्नेछन्। 

वैदेशिक रोजगारीबाट फर्किएकाहरुको लागि सरकारले सीप परीक्षणको कस्तो व्यवस्था गरेको छ ?

वैदेशिक रोजगारबाट स्वदेश फर्केकालाई उनीहरूले विदेशमा गएर सीप सिकेको प्रमाण पत्र हेरेर निःशुल्क सीप परीक्षण गर्ने व्यवस्था चाँहि सरकारले गरेको छ । त्योभन्दा अरु कुनै पनि कार्यक्रम सरकारले ल्याउन सकेको छैन । त्यसका साथै अहिले चाँहि अन्य गैरसरकारी निकाय मार्फत विदेशबाट फर्किएका श्रमिकहरुको सीप परीक्षणका लागि भनेर केही कार्यक्रमहरू भने आएको छ । तर त्यसमा विदेशबाट फर्किएकाहरूको आकर्षण कम देखिएको छ, किनभने फर्किए पछि यहाँ रोजगारीको अवसर नपाउने हुँदा आफै उद्यममा जानु पर्ने, उद्यममा लाग्दा पनि उचित ज्ञानको कमीले गर्दा राम्रो नभएको हामी देख्न सक्छौ । 

वैदेशिक रोजगारीबाट फर्किएका मानिसहरू सीप परीक्षण गर्न कति जान्छन् ?

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूले सीप परीक्षण एकदमै थोरैले गरेका छन् । जस्तै अघिल्लो वर्ष सरकारले विदेशबाट फर्किएका १ हजार श्रमिकलाई सीप परीक्षणको प्रमाणपत्र दिने भनेर सूचना निकालेकोमा जम्मा २ सय जनाले मात्र निवेदन दिएका थिए । यो हेर्दा वैदेशिक रोजगारीबाट फर्किएकाहरु सीप परीक्षण गर्न त्यति उत्सुक देखिदैनन् ।  

वैदेशिक रोजगारीबाट फर्किएका मानिसहरूको सीप परीक्षण नहुनुको कारण के हो ?

पहिलो कारण त वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई पुनः श्रमबजारमा फर्किने रहर नहुनु हो । दोस्रो सरकारले सीप परीक्षणका लागि माग गरेको सीपको सम्बन्धी पूर्ण ज्ञान श्रमिकसँग नभएका कारणले उनीहरूले सीप परीक्षण गराउँदैनन् । अर्को महत्वपूर्ण कुरा चाहिँ वैदेशिक रोजगारीमा लामो समय बसेपछि नेपाल फर्किएर सीप परीक्षण गरेपनि स्वदेशमा राम्रो पारिश्रमिकमा काम नपाउने भन्ने सोच श्रमिकहरुमा मौलाएका कारण उनीहरूले सीप परीक्षण गराइरहेका छैनन् । अन्त्यमा, सरकारले सीप परीक्षण खुलाएको सूचना सम्पूर्ण वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुमाझ पुर्‍याउन नसक्दा वैदेशिक रोजगारीबाट फर्किएका युवामध्ये केहीले मात्र सीप परीक्षण गराउने गरेका छन् । 

के आफुले चाहेको समयमा सीप परीक्षण गर्न सकिन्छ ?

नेपालबाट वैदेशिक रोजगारीमा जान चाहने श्रमिक तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूले चाहेको समयमा सीप परीक्षण गर्ने व्यवस्था सरकारले गरेको छैन ।अर्थात्, वैदेशिक रोजगारीमा जानुपूर्व म सीप परीक्षण गरेर जान्छु भनेको खण्डमा श्रमिकले चाहेकै समयमा सरकारले सीप परीक्षण नगराउन पनि सक्छ । श्रमिकले सीप परीक्षण गर्नका लागि सरकारको सूचनाको प्रतिक्षा गर्नुपर्ने हुन्छ र सरकारले तोकेको समयमा मात्र सीप परीक्षण गर्न पाइन्छ । 

सीप सिक्न तथा सीप परीक्षणका लागि छुट्याएका बजेट प्रभावकारी रुपमा प्रयोग भएको छ ? 

बजेटको प्रयोग केही हदसम्म हुँदै आएता पनि प्रभावकारी रुपमा यसको प्रयोग भने हुन सकेको छैन । छुट्याइएको बजेट पूर्णरुपमा प्रयोग नहुनुमा सरकार र श्रमिक दुबै उत्तिकै जिम्मेवार छन् । एकातर्फ विदेश जान चाहने तथा विदेशबाट फर्किएका नागरिकहरूलाई सीप परीक्षणको लागि सरकारले बारम्बार आव्हान गरेपनि श्रमिकले चासो नदेखाउँदा सरकारी बजेट फ्रिज हुने गरेको छ । सरकारले सीप परीक्षणका लागि विभिन्न दातृ निकायहरुसँग समन्वय गरेर सीप परीक्षणका कार्यक्रमहरु चलाउने गरेको छ  । सीप परीक्षणकै लागि भनेर वैदेशिक रोजगार वोर्डले कति रकम बिनियोजन गरेको छ भन्ने यकिन लेखाजोखा भने भएको छैन । 

सीप परीक्षणलाई प्रभावकारी बनाउँन अब के गर्न पर्छ ?

सीप लिनु र सीप परीक्षण गराउँदाको फाइदाबारे आम जनमानसमा सूचना पुर्‍याउनुपर्ने देखिन्छ यसको लागि स्थानीय सरकार यस विषयमा प्रत्यक्ष सहभागि हुनुपर्ने देखिन्छ । सरोकारवाला संघ संस्थाले प्रभावकारी सूचना प्रवाह गर्न जिम्मेवार हुनुपर्ने देखिन्छ । यसैगरि राज्यको सन्दर्भमा सरकारले बनाएको नीति तथा कार्यक्रममा सम्पूर्ण सरकोरावाला निकायको प्रतिनिधि राख्नुपर्ने देखिन्छ । श्रमिक, सरकार र सरोकारवाला सङ्घसंस्थाको  त्रिपक्षीय समन्वयले श्रमिकको सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *