व्यवसायिक आलु खेती गर्न जानी राखौँ यस्ता महत्वपूर्ण कुराहरु

नेपालको तराई क्षेत्रदेखि हिमाली क्षेत्रसम्म खेती हुने बाली आलु हो । आलुमा क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ । आलु सेवनले रक्तबाहिनीहरू लामो उमेरसम्म लचिला बनिरहन्छन् । आलुलाई पूरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यान्न मानिन्छ । आलु मधुर, गरिष्‍ठ, मल तथा मुत्रलाई उत्पन्न गराउने रूक्ष र रक्तपित्त हटाउने काम आलुले गर्दछ । नेपाली परिवेशमा हेर्ने हो भने आलु नेपाली भान्साको साथी नै हो ।

वरिष्ठ कृषि वैज्ञानिक डा. गिरिधारी सुवेदी

आलुको उत्पत्ति दक्षिण अमेरिकाको एण्डिज पर्वतीय शृङ्खलाको पेरु तथा बोलिभिया क्षेत्रमा २०० ईशा पूर्वमा आलु खेती शुरु भएको र त्यस ठाउँमा आलुको उत्पत्ति भएको मानिन्छ ।  कालान्तरमा अमेरिकी बाली विश्वभर फैलियो । नेपालमा आलुखेती भारतको दार्जिलिङबाट भित्रिएको धेरै अध्ययनहरुले बताएका छन् ।

आलु नेपालको एक प्रमुख बाली हो । नेपालमा हाल खेती गरिने प्रमुख बाली, धान, मकै, गहुँ, कोदो पछि पाँचौं र उत्पादन र खपतमा आलुको दोस्रो स्थान छ भने उत्पादकत्वमा प्रथम स्थान ओगटेको छ । हाम्रो देशको उच्च पहाडी क्षेत्रमा आलु मुख्य खाद्यान्न बालीको रुपमा र अन्य क्षेत्रमा प्रमुख तरकारी बालीको रुपमा खेती गरिने भएको कारण यसको ठूलो महत्व छ । यस बालीले गरिबी निवारण गर्न सहयोग पुर्‍याउँछ । हाल नेपालको तराई समथलदेखि ४४०० मिटरसम्मको उच्च पहाडी क्षेत्रमा प्रशस्त मात्रामा आलु खेती हुँदै आएको छ ।

हावापानी

वानस्पतिक विशेषता अनुसार आलुले चिसो हावापानी रुचाउँछ । तर वानस्पतिक  विकासक्रमसँगै आलुका थुप्रै बीउ बिजन उत्पादन भएका कारणले चुरे तथा मध्य तराईमा पनि आलुको उत्पादन राम्रो हुने गरेको छ ।

 

आलु खेती गर्न कस्तो जमिनको छनौट गर्ने ?

व्यवसायिक आलु खेती गर्न पानी नजम्ने निकास भएको, भनेको बेलामा सिँचाइ हुने, प्राङ्गारिक पदार्थ मिसिएको, हल्का दुमट बलौटे माटो भएको जमिन छान्नुपर्छ ।

कसरी जमिन तयारी गर्ने ?

आलु जमिन मुनि फल्ने बाली भएकोले ३–४ पटक हलो वा ट्याक्टरले गहिरोसँग जोतेर माटोलाई खुकुलो र बुरबुराउँदो पारी आलु रोप्ने प्लट तयार बनाउनु पर्दछ ।

मलखाद

आलुमा प्राङ्गारिक साथै रसायनिक (यूरिया) दुबै मलखादको प्रयोग प्रयोग गर्न सकिन्छ । आलु रोप्नुभन्दा पहिले सतहमा मल छर्ने र सामान्य खनजोत गर्ने गर्नुपर्छ । मलखादको मात्रा माटोको उर्वरा शक्ति, बाली चक्र आदि धेरै पक्षमा निर्भर भएता पनि राम्रो उत्पादन लिनको लागि तल दिए अनुसारको मात्रामा मलखाद प्रयोग गनुपर्दछ ।

राम्रोसंग पाकेको कम्पोष्ट वा गोबरमल           १५०० केजी प्रति रोपनी

डि.ए.पि                                                  ११ केजी प्रति रोपनी

युरिया                                                     ७ केजी प्रति रोपनी

म्युरेट अफ पोटास                                     ५ केजी प्रति रोपनी

नपाकेको कम्पोष्ट मल प्रयोग गरेमा विरुवाले पूर्णरुपमा खाद्यतत्व लिन पाउंँदैन साथै नपाकेको मलमा हानिकारक किराहरूको फूल, प्युपा र लार्भा पनि हुनसक्ने हुँदा नपाकेको मल प्रयोग गर्नु हुँदैन । 

मलखाद प्रयोग गर्ने तरिका

  • सिफारिस गरिएको मलखाद मध्ये कम्पोष्ट, डि.ए.पी र पोटास मलको पूरै मात्रा र युरियाको आधा मात्रा आलु रोप्ने बेलामा प्रयोग गर्ने र बाँकी आधा युरिया पहिलो पटक उकेरा लगाउने बेलामा प्रयोग गर्ने ।
  • प्राङ्गारिक मल तथा रासायनिक मल दुबै आलु लगाउने बेलामा लाइनमा राख्दा राम्रो हुन्छ ।
  • लाइनमा राखेको मलबाट बिरुवाले उम्रना साथ सजिलैसँग खाद्यतत्व पाउँछ साथै प्राङ्गारिक मलले माटो हल्का र खुकुलो बनाइदिन्छ र थोरै मलखादको प्रयोगबाट धेरै उत्पादन लिन सकिन्छ ।
  • लाइनमा मल राखी आलु लगाउँदा आलु रोप्नको लागि तयार पारिएको कुलेसामा सबभन्दा पहिले रासायनिक मल त्यसमाथि कम्पोष्ट मल हाली अनि आलु लगाउनुपर्छ ।
  • रासायनिक मल माथि आलु रोपेमा बिउ आलु कुहिएर जान्छ ।

  

नेपालमा बनेका आलुका जातहरु 

राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम खुमलटारको जातीय मूल्यांकन नीति अन्तर्ग रहेर विगतमा तत्कालीन राष्ट्रिय आलुबाली विकास कार्यक्रम खुमलटारले वर्षौं लगाएर गरिएका मूल्यांकनको आधारमा विकास गरिएका र सिफारिस गरिएका केही उन्नत जात र स्थानीय जातहरू; कुफ्रि ज्योति, कुफ्रि सिन्धुरी, डेजिरे, जनकदेव, खुमल सेतो १, खुउमल रातो २, कार्डिनल, एनपिआई १०६, एम.एस. ४२, पेरिकोली, स्यांदोर्जे पूर्वी पहाडको लागि, थारु लोकल सेतो पश्चिम तराई, जुम्ली लोकल सेतो मध्ये पश्चिमको लागि, काठमाण्डौं लोकल रातो काठमाण्डौं उपत्यकाका लागि प्रसिद्ध छन् ।

जात, लगाउने क्षेत्र र विकसीत हुन लाग्ने समय

१. कुफ्री ज्योती- उच्च र मध्यपहाड क्षेत्र  १०० देखि १२० दिन ।

२. कुफ्री सिन्दुरी- तराई र भित्री मधेश, ११० देखि १३० दिनसम्म ।

३. डेजिरे- मध्य पहाड र तराईमा ७० देखि ९० दिन सम्म।

४. जनक देव- उच्च तथा मध्य पहाडमा १०० देखि १२० ।

५. खुमल सेतो- १ कम बर्षा हुने पहाडी क्षेत्रमा १०० देखि १२० दिन ।

६. खुमल रातो -२ तराई तथा भित्री मधेशमा १०० देखि १२० दिन ।

७. कार्डिनल- तराई तथा मध्य पहाडी क्षेत्रमा ९० देखि १२० दिन ।

८,एनपीआई १०६- उच्च तथा मध्य पहाडी क्षेत्रमा १०० देखि १२० दिन।

९. कुफ्री बाद्साहा- तराई र पहाडमा ७० देखि ९० दिन ।

१०. पेरिकोली- पश्चिम तराईमा १०० देखि १२० दिन।

११. आइ-११२४- उच्च र मध्य पहाडमा १०० देखि १२० दिन।

 

बीऊको छनौट

व्यवसायीक आलु खेती गर्न भरपर्दो स्रोतबाट समयमा नै आफूलाई आवश्यक पर्ने राम्रो बीऊ छनौट गरी खरिद गर्नुपर्दछ । आलु खेती गर्नका लागि सबैभन्दा उपयुक्त पूर्व मल बीऊ हुन्छ । यो बीऊ टिस्युकल्चर प्रविधिबाट उत्पादन हुने भएका कारण नेपालमा यसको पर्याप्त आपूर्ति हुन सकेको छैन । पूर्व मल बीऊ उपलब्ध नभएको अवस्थामा  २५ देखि ५० ग्राम तौल भएको चाउरी नपरेको मोटा मोटा टुसा आएको बीऊ छान्नु पर्दछ । यदि रोप्ने बीऊको साइज र आकार ठूलो भएमा टुसा आउने भाग हेरी ठाडो पारेर काट्नुपर्दछ । काटेर रोपेको बीऊबाट उत्पादन भएको आलु आउने साल बीऊमा प्रयोग गर्नुहुँदैन ।

रोप्ने तरिका

आलु रोप्ने जमिन तयार भइसकेपछि ५ देखि ७ सेमी गहिरोमा बोटदेखि बोटको दुरी २५ देखि ३० सेमी फरकमा र १ ड्याङबाट अर्को ड्याङको दूरी ६० देखि ७० सेमी फरकमा टुसा आएको पुष्ट बीऊ रोप्नुपर्दछ । यसो गर्दा सिँचाइ, गोडमेल गर्न, कीटनाशक विषादी छर्न सजिलो हुनका साथै उत्पादन बढी लिन सकिन्छ ।

बीऊको उपचार

आलु रोप्नु भन्दा तीन दिन अगाडि आफूसँग भएको आलुको बीऊ के कस्तो अवस्थाको छ, ग्रेडिङ गरि यदि ठुलो साइज भएमा बीऊ उम्रने भाग र टुसा हेरेर ठाडो पारेर चक्कु वा चुलेसीले काट्नु पर्दछ  ।

सिँचाइ

आलुको फसल तयार हुन्जेलसम्म ३ देखि ५ पटकसम्म सिँचाइ गर्न सकिन्छ । सिँचाइको मात्रा मिलाउनमा त्यहाँको माटोमा निर्भर हुन्छ । आवश्यकता भन्दा बढि सिँचाइ भए आलुको फल कुहिएर नष्ट हुने डर हुने भएकोले आलुको सिँचाइ गर्दा विषेश ध्यान दिनुपर्ने हुन्छ । 

आलुमा लाग्ने प्रमुख रोगहरु र यसको नियन्त्रण

१. डडुवा रोग- ढुसी नासक धुलो विषादीको प्रयोग गर्नु पर्दछ। जस्तै; इन्डो फिल यम-४५ ,डाइथेन यम-४५, किसान यम -४५ ,राइनो यम-४५ आदि विषादी प्रति लिटर पानीमा २ देखि ३ ग्रामका दरले स्प्रे गर्ने ।

२. खैरो पिपचक्के- सोलानेसी परिवारको खेती भएको ठाउँमा खेती नगर्ने ,आलु नकाटी सिंगो रोप्ने, निरोगी चोटपटक नलागेको बीऊ रोप्ने। 

३. कालो खोस्टे- बीऊको उपचार गर्ने, बीऊको टुसा आउनु अगाडि प्रतिलिटर पानीमा डेरोसाल नामक धुलो विषादी १.५ ग्रामको घोल बनाइ १० मिनेटसम्म भिजाउने र पछाडि टुसा आउन फिजाउने।

४. आलुको एजेरु- रोग अवरोधक जात लगाउने, ४-५ बर्ष बिराएर आलु लागाउने, एकै ठाउँ मा मात्र नलागाउने।

५. पात दोब्रने भाइरस

६. हल्का मोजाइक

७. कडा मोजाइक भाइरस

उपचार- भाइरसमुक्त बीऊ रोप्ने ,लाही किरा नियन्तरण गर्ने ।

गोडमेल

आलु रोपेको २५–३० दिन अथवा बोटको उचाइ १५–२० से.मी भएपछि पहिलो पटक र आलु रोपेको २ महिना पछि दोस्रो पटक उकेरा गरी माटो चढाउन पर्दछ र झारपात हटाई सफासँग राख्नु पर्दछ ।

बीऊको परिमाण एवं उत्पादन 

आलुको बीऊ एक रोपनीको लागि बीऊको साइज हेरी ७५–१०० केजी र प्रति कट्ठा ५० देखि ७५ केजी बीऊ आवश्यकता पर्दछ । आलु खेतीमा भौगोलिक वातावरण, मलजल सबैथोक मिलेमा प्रति रोपनी १२००–१६०० केजीसम्म उत्पादन लिन सकिन्छ ।

बीऊ लगाउने एवं बाली लिने समय

तराई र भित्री मधेशमा असोज–कार्तिक मध्यपहाडका मंसिर १५ सम्ममा लगाइसक्नु पर्छ। माघ फागुनमा बाली लिने समय हुन्छ तर चिसो ठाउँमा भने माघ १५ पछि आलु रोप्ने काम हुन्छ । बाली लिने समय भने जेठ महिनामा हुन्छ ।

भण्डारण

खेतबारीमा उत्पादन भएको आलु खनिसकेपछि सुरक्षित ठाउँमा सोझै घाम नपर्ने र हावा खेल्ने ठाउँमा फिजाई सुकाउनु पर्दछ । हिउँदे आलु भए ८–१० दिन तथा बर्खे आलु भए १५–२० दिनसम्म फिजाई राख्नु पर्दछ । यदि बीऊको लागि हो भने ग्रेडिङ गरेर बीऊ साइजको सफासँग छानेर ५० देखि ६० केजीको जुटको बोरामा प्याकिङ गरि आफूलाई पायक पर्ने नजिकको कोल्ड स्टोर वा सित भण्डारमा भण्डारण गर्न लानु पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *