पासपोर्ट बोकिएन, विदेश कुदिएन: ठूलो गल्ति पो गरियो कि ?

जीविको २०८२ वैशाख ४ गते १३:३८

दिउँसोको घामले वानेश्वरको सडक बलिरहेको छ। टाउकोमा झोला ओढेका, छातालाई छायाँ बनाएका शिक्षकहरू नारा लगाउँछन्—”शिक्षकको माग सम्बोधन गर!” पसिना बगिरहेको छ, तर आवाज रोकिन्न।
शिक्षक आन्दोलनले वानेश्वरको सडक चर्किएको छ। प्याम्प्लेट र ब्यानर बोकेका शिक्षकहरूको हुलमा कोही रुकुमका छन्, कोही पाँचथरका, त कोही तराईका। यही जमातमा अधबैँसे शिक्षकदेखि युवा तन्नेरी शिक्षकहरूसम्म भेटिन्छ।

धादिङ थाक्रे लिलाकाली माध्यमिक विद्यालयका १८ वर्षे शिक्षक श्रीकृष्ण सुवेदी पनि त्यही हुलमा छन्। भर्खरै जुँगाको रेखी बसेका, अनुहारमा अझै पनि किशोरशूलभ चमक छ, उनका आवाजमा जिम्मेवारीको गह्राइ देखिन्छ। उनका दौँतरीहरुमध्ये धेरैले विदेश जाने बाटो खुल्दा देखिनै राहदानी बनाए, एजेन्ट भेटे, र अष्ट्रेलिया–अमेरिका उडे। उनलाई भने देशमै शिक्षक बन्ने रहर जाग्यो। संयोगबस, कलिलै उमेरमा शिक्षक बन्ने अवसर पनि मिल्यो।
हेर्नुहोस् भिडियो: किन महँगो छ देशमै बस्ने सपना

पहिलो दिन कक्षाकोठामा बस्दा उनलाई छुट्टै गर्व लाग्यो। पढाउने जाँगर, उत्साह, र रहरको समिश्रण थियो। तर समयसँगै शिक्षकको अवस्था बुझ्न थाले आन्दोलनहरू, तलबको ढिलाइ, करारको अन्योल, सरकारको उपेक्षा। शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई टेक्ने शिक्षकहरू नै अन्योलमा परेका छन् के म स्थायी हुन्छु त? राहत दरबन्दी कहिले खुल्छ त? विद्यालय कर्मचारीको भविष्य के हुन्छ त? प्रारम्भिक बाल शिक्षा कुन ऐनले सम्हाल्ने त?

शिक्षक बनेको एक–डेढ वर्ष नबित्दै अब उनलाई लाग्न थालेको छ, “देशमै बस्ने रहरले गल्ती पो भयो कि?”
तर त्यो सोचसँगै उनी भित्रभित्रै आफैँलाई सम्झाउँछन्, “तर पनि मनलाई सम्झाएको छु। मैले यही बस्नुपर्छ भन्ने जोशमा पूर्णविराम लागेको भने छैन”

शिक्षक आन्दोलनमा धादिङ थाक्रे लिलाकाली माध्यमिक विद्यालयका १८ वर्षे शिक्षक श्रीकृष्ण सुवेदी

केही बेर मौन हुन्छन् अनि फेरि भन्छन्, “सपना भनेको देशमै केही गर्ने थियो। अहिले साथीहरू विदेशबाट खुसीका तस्वीर पठाउँछन्, म यहाँ आन्दोलनमा बसेर सोचिरहेको हुन्छु आखिर म के गरिरहेछु? तर मनले भन्छ अझै बाँकी छ, रहर पढाउने नै छ, सरकारले हेर्दिए केही गर्न सकिन्छ।”
यस्तै गुनासो, उस्तै भावनामा अर्का अधबैँसे शिक्षक सुनाउँछन्, “अरूलाई पढाएर पारि पुर्‍यायौँ, आफू चाहिँ त्यही किनारमै बसिरह्यौँ”

क्षणभर रोकिएर उनले थपे, “कतिलाई विज्ञान पढायौँ, कतिलाई इन्जिनियर बनायौँ। कोही अस्ट्रेलियाबाट अहिले पनि मेसेज गर्छन् ‘सर, तपाईंको कारण यहाँसम्म आइपुगेँ’ भन्छ। तर आफैं चाहिँ त्यही पुरानै कोठा, उही दरबन्दीको आश… अब त लाग्न थाल्यो, बग्ने खोला हेरिरहेछु, तर पौडिन कहिल्यै पाइएन”

दुई हप्तादेखि निरन्तर राजधानी केन्द्रित शिक्षक आन्दोलन

आन्दोलनमै भेटिएकी अर्की शिक्षिका सरस्वती खड्का उनकै स्वरमा स्वर मिलाउँछिन्, “साथीहरू अमेरिका अस्ट्रेलिया र र युरोप गइसके, केही साथीहरू खाडी मुलुकमै पनि राम्रो कमाई गरेर फर्किने सुरसार गरिसके । म भने सरकारी जागिर खाने सपना देखेर बसें। आज आन्दोलनमा छु। न जागिर पक्का, न त भविष्य । मलाई पनि शिक्षक बन्नु भनेको दुःख पाउने पेसा जस्तो लाग्छ ।”
उनको स्वरमा आक्रोश झल्किन्छ, “कक्षा १२ सम्म निःशुल्क शिक्षाको नारा त लाग्यो, तर कार्यान्वयन कहाँ छ त? विद्यालयमा किताब छैनन्, शिक्षक नपुगेका छन्, बच्चाहरू पढिरहेका छन् तर हामी भने आफ्नै हकका लागि आन्दोलनमा छौँ” उनी भन्छिन्, “शिक्षा नीति बनाउँदा हामी जस्तै शिक्षकलाई सुनेको देखिँदैन। व्यवस्थापनदेखि बढुवा, दरबन्दीदेखि सरुवा सबैमा ढुक्क हुने आधार छैन। यस्तोमा सपना पुरा हुन्छ भन्ने भरोसा कसरी गर्नू?”
उनको पछाडिपट्टि नाराको स्वर फेरि गुञ्जन्छ, “बानेश्वरमा गेट, कहाँ छौ ए सरकार हुनै छाड्यो भेट”
शिक्षकहरूको नाराभित्र धेरै वर्षदेखि थन्किएर बसेका विषयहरू छन् बढुवा प्रणालीमा पारदर्शिता, शिक्षक परिषद्को स्थापनाको आवश्यकता, सरुवा तथा मूल्याङ्कन प्रक्रियामा निष्पक्षता, दुर्गम क्षेत्रका लागि दिइने भत्ताको औचित्य, दरबन्दीको वैज्ञानिक व्यवस्थापन, निजी विद्यालयमा कार्यरत शिक्षकहरूको हकहित संरक्षण, र ट्रेड युनियन अधिकारको सुनिश्चितता।
यसैबीच कक्षाकोठा सुनसान छन्, विद्यार्थी घरमै बसेका छन्, एसईईको कापी जाँच रोकिएको छ। शिक्षकहरूको यो आन्दोलन उनीहरूको माग मात्र होइन, उनीहरूको जीवनको अन्योल पनि हो — जहाँ रहर, डर, र निर्णयको पछुतो मिसिएको छ।

नेपालमा हाल कक्षा १२ सम्मका निजी तथा सरकारी विद्यालयहरूमा करिब ४ लाख २० हजार शिक्षक कार्यरत छन्।
यीमध्ये अस्थायी, राहत, करार, र स्थायी शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् कोही पेन्सनको गुनासो लिएर, कोही तलबमानको बेवास्ताले थाकेर। उनीहरूको स्वर अझै चर्किँदै छ, तर सरकार आन्दोलन भएको दुई हप्ता कट्दा पनि माग सम्बोधन गर्ने सुरसार गर्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *