वैदेशिक रोजगारीमा जाँदा कहाँ कहाँ ठगीन्छन् नेपाली ?
कहिले मेनपावरबाट, कहिले एजेन्टबाट त कहिले अफ्ठ्यारो प्रक्रियाका कारण वैदेशिक रोजगारीका क्रममा युवा श्रमिकहरू ठगीमा पर्ने गरेका छन् । वैदेशिक रोजगार विभागमा २०७९-८० मा मात्र महिनामा आफू वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै ३ हजार ३५६ मुद्दाहरू दायर भएका छन् । विभागमा पुगेका यी उजुरीहरूले वास्तविक ठगीको आँकडा भने देखाउन सक्दैन । अझै पनि आफू ठगीएको भनेर उजुरी दिन नजाने वा कहाँ उजुरी दिने कसरी न्याय पाइन्छ भन्ने थाह नभएको जमात जोड्ने हो भने यो आँकडा अझै ठूलो हुने निश्चित छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सामाग्री पढ्न, हेर्न अनि सुन्नका लागि:
जीविको प्रवास
कहाँ कहाँ ठगीन्छन् नेपाली ?
१. मेनपावरको छनोट
वैदेशिक रोजगारीका क्रममा सबैभन्दा धेरै ठगीने ठाउँ हो मेनपावर । सरकारले तोकेका १५ सय ५३ वटा इजाजत प्राप्त मेनपावर बाहेक अन्य संस्थाबाट तपाईंले वैदेशिक रोजगारीका लागि प्रक्रिया थाल्नुभयो भने सम्झनुहोस् तपाईं ठगीने सम्भावना धेरै छ । नेपाल सरकारले इजाजत दिएका मेनपावर कुन कुन छन् भनेर तपाईंले सहजै वैदेशिक रोजगार विभागको वेबसाईट हेर्दा थाहा पाउन सकिन्छ ।
यी हुन् नेपाल सरकारले इजाजत प्रदान गरेका मेनपावरहरू : लिङ्क
२. एजेन्टको प्रलोभनमा पर्दा
गाउँघर देखि सहरबजारसम्म वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै प्रलोभनमा पार्ने एजेन्टहरूको जमात ठूलो छ । यति पैसा दिनुहोस् यूरोप पठाइदिन्छु, कोरिया पठाइदिन्छु अनि कतिले त अष्ट्रेलिया अमेरिकासम्म पठाइदिन्छु भनेर प्रलोभनमा पार्ने गर्छन् ।
यस्तै एउटा घटना केही समय अगाडि पश्चिम नवलपरासीमा घट्यो । ७-८ वर्ष वैदेशिक रोजगारीमै बिताएर आएका एक युवालाई (उनले नाम बताउन चाहेनन्) एजेन्टले ३ लाख दिनुहोस् कोरिया पठाइदिन्छु भनेर प्रलोभन देखाए । कोरिया पुग्ने भनेपछि ति युवाले पनि पैसा जुटाएर एजेन्टलाई दिए । तर, त्यसपछि एजेन्टले फोन उठाएन र गायब भयो ।
पैसा उठाउनका लागि प्रहरीदेखि वैदेशिक रोजगार विभागसम्म निवेदन दिए युवाले । तर, प्रहरी कार्यालय अनि विभागमा थुप्रेको उजुरीको चाङभित्र पसेको उनको उजुरी सुनवाइ हुने पालो नै आएन । अन्त्यमा नजिकैका एक उच्च अहोदाका व्यक्तिको पहलमा उनले तिरेको २ लाख पैसा पाए पूरै चाहिँ पाउन बाँकी नै छ।
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने सोझै मेनपावरसम्म पुग्नुहोस् । प्रक्रिया सुरु गर्दा एजेन्ट समात्नुभयो भने सम्झनुहोस् तपाईं ठगीने सम्भावना बढेर गयो । अझ एजेन्टलाई पैसा बुझाउन थाल्नुभयो भने तपाईंको पैसा फस्न सक्छ । बकाइदा रकम बुझाएको रसिद नलिए तपाईंको पैसा डुब्ने सम्भावना हुन्छ । एजेन्टसँग यसरी पैसा लिएको रसिद समेत नहुने हुँदा तपाईं अफ्ट्यारोमा पर्न सक्नुहुन्छ ।
यो पनि पढ्नुहोस् :
वैदेशिक रोजगारीमा ज्याला ठगी: कानुनी प्रावधान र जिम्मेवार निकाय
३. रोजगारीका सूचनाहरू इजाजत प्राप्त संस्थाबाट आएको हो या होइन यकिन गर्न नसक्दा
सामाजिक सञ्जालमा छ्यापछ्याप्ती वैदेशिक रोजगारीमा अवसरहरू भनेर सूचनाहरु भेटिन्छन् । नेपाल सरकार वा मान्यताप्राप्त संस्थाले यो सूचना जारी गरेको हो कि होइन भनेर खोजी नगर्दा युवाहरू ठगीमा पर्ने गर्छन् । व्यक्ति विशेषले वा स्क्यामको रुपमा यस्ता विज्ञापनहरू विशेषगरी फेसबुकमा भेटिने गर्छन् । यी सूचनाहरू कुन निकायबाट वा कुन संस्थाबाट निस्किएको हो बुझ्नुहोस् नभए ठगीमा पर्ने सम्भावना रहन्छ ।
४. रोजगारीका लागि निषेध गरिएका देशहरूबारे नबुझ्दा
नेपाल सरकारले जम्मा १ सय ११ वटा देशलाई संस्थागत रुपमा वैदेशिक रोजगारीका लागि जान पाइने भनेर खुला गरेको छ । सरकारले तोकेका यी देशभन्दा बाहिर तपाईं वैदेशिक रोजगारीका लागि भनेर तपाईं जानुभयो भने सम्झनुहोस् तपाईं ठगीने सम्भावना हुन्छ । यो अवस्थामा नेपालमा एजेन्ट देखि वैदेशिक रोजगारीका क्रममा रोजगारदातासम्मबाट तपाईं ठगीन सक्नुहुन्छ । त्यसैले सरकारले रोजगारीका लागि जान खुला गरेका देशहरुमा मात्र वैदेशिक रोजगारीका लागि जानुहोस् ।
यी हुन् सरकारले वैदेशिक रोजगारीका लागि जान खुला गरेका १ सय ११ देशहरू : लिङ्क
५. अवैधानिक बाटोबाट विदेशिन खोज्दा
राम्रो पैसा कमाउने लोभमा वैधानिक बाटो छाडेर अहिले पनि हज्जारौँ युवाहरू विदेशिछन् । कोही भिजिट भिसामा त कोही अनायासै अवैधानिक बाटो हुँदै विदेशिन्छन् । गत जेठ महिनामा एजेन्टको प्रलोभनमा परेर दाङका एक युवा अमेरिका जाने भनेर हिँडे । करिब २० लाख रूपैयाँ जति जोहो गरेपछि उनका बुवा कमल केसीले पनि छोरालाई विदा गरे । अमेरिका लैजान्छु भनेर मख्ख पारेपछि म पनि होला भनेर तयार भएँ तर मेरो छोरालाई अवैधानिक माध्यमबाट लगिएको रहेछ अजरबैजानमा समातियो । यसरी अवैधानिक बाटो हुँदै कोही मेक्सिको बोर्डर नाघेर त कोही अन्य अवैधानिक बाटोबाट अमेरिकासम्म पुग्छन् । त्यस बाहेक पनि दुबई, मलेशिया, साउदी अरब, इराक, ओमन जस्ता देशहरू जाँदा थुप्रै नेपाली कामदारहरूले अवैधानिक बाटो प्रयोग गर्ने गर्छन् ।
तपाईं अवैधानिक बाटो हुँदै यसरी विदेशिनुहुन्छ भने सम्झनुहोस् तपाईंको ठगीने सम्भावना बढ्यो । नेपाल सरकारले प्रक्रिया पुर्याएर त्रिभुवन विमानस्थल हुँदै रोजगारीका लागि विदेशिनेलाई मात्र वैधानिकता दिन्छ । त्यसैले भारतबाट वा अन्य कुनै मार्गबाट विदेश पुर्याइदिन्छु भनेर कसैले भन्यो भने सम्झनुपर्छ ठगी हुनसक्छ । त्यसैले वैदेशिक रोजगारीमा जानुअघि यो वैधानिकबाटो बारे बुझ्नुहोस् र त्यही अनुरुप विदेशिनुहोस् ।
यो पनि पढ्नुहोस् :
वैदेशिक रोजगारीका क्रममा समस्यामा परे यसरी लिनुहोस् निःशुल्क कानूनी साहयता (भिडियो)
६. अभिमूखीकरण कार्यक्रमलाई वेवास्ता गरेकै कारण
वैदेशिक रोजगारीमा जानुअघि नेपाल सरकारले ३ दिनको पूर्व प्रस्थान अभिमूखीकरण तालिम प्रदान गर्दछ । यस तालिममा वैदेशिक रोजगारीमा जानुअघि, जाने क्रममा र गएपछि के-कस्ता प्रक्रियाहरू अपनाउनुपर्छ । कहाँ-कहाँ ठगी हुनसक्छ र ठगी भइहाले के गर्ने भन्ने जस्ता विषयहरूमा अभिमूखीकरण दिइन्छ । तपाईंले सरकारले दिने यो अभिमुखीकरण तालिम लिनुभयो भने मात्र पनि धेरै ठगीबाट जोगिन सकिन्छ । तर, धेरै कामदारहरूले हाजिरको लागि मात्र अभिमुखीकरण तालिम लिने हुँदा ठगीका घटनाहरू आउने गर्छ ।
७. पैसा बुझाउने तर रसिद नलिने
झट्ट सुन्दा त्यती ठूलो विषय नलागेपनि मेनपावरमा पैसा बुझाउँदा रसिद लिए मात्र पनि ठगीबाट बच्न सकिन्छ । फ्रि-भिसा फ्रि-टिकट तोकिएका देशहरुमा बढी शुल्क लिने, शूल्क लिएर विदेश नपठाउने वा पठाए पनि भनिएअनुरुपको काममा नपठाउने जस्ता ठगीमा पर्ने सम्भावना रसिद लिँदा मात्र पनि कम हुन्छ । पैसा ठगीए उजुरी दिन रसिद लिए सहज हुन्छ । फ्रि-भिसा फ्रि-टिकटमा नपठाएको खण्डमा उजुरी गर्न पनि तपाईंलाई रसिद लिन सहज हुन्छ । त्यसैले मेनपावरलाई पैसा बुझाउँदा अनिवार्य रसिद लिने गर्नुपर्छ । मेनपावर तथा एजेन्टहरूले प्रायजसो पटक-पटक गरेर थोरै थोरै रकम माग्ने गर्छन् । सानो रकम भएका कारण कामदारले पनि यसको रसिद लिने बारे त्यति धेरै चासो देखाउँदैनन् । तर, पटक पटक मागिएको यस्तो रकम विदेशिने बेलासम्म धेरै भइसक्छ । यस्तो अवस्थामा तपाईं ठगीए पनि तपाईंसँग प्रमाण हुँदैन र ठूलो पैसा फस्न सक्छ ।
८. मेनपावरसँग करार सम्झौता पत्र नमाग्ने, नपढ्ने
प्रत्येक मेनपावरले कोही कामदारलाई वैदेशिक रोजगारीमा पठाउनु अगाडि अनिवार्य करार पत्र देखाउनुपर्छ । यदी मेनपावरले करारपत्र नदेखाए आफैँले करारपत्र माग्नुहोस् र पढ्नुहोस् । करार पत्रमा जाने देश, कम्पनीको नाम, वैदेशिक रोजगारीमा गइसकेपछि तपाईंले गर्नुपर्ने काम बारे उल्लेख गरिएको हुन्छ । तपाईंलाई मेनपावरले भनेअनुरुपका कुराहरू करारपत्रमा समावेश गरिएको छैन भने ठगीको सम्भावना धेरै हुन्छ । त्यसैले मेनपावरसँग मौखिक भएका विषयहरू करारपत्रमा समावेश भएका छन् कि छैनन् भनेर बुझ्नका लागि करार पत्र माग्नुहोस् र पढ्ने गर्नुहोस् ।
यो पनि पढ्नुहोस् :
‘यी प्रकृया पुर्याए सजिलै पाईन्छ वैदेशिक रोजगार बोर्डबाट सहयोग’ (भिडियो)
९. घरेलु कामदारको रुपमा विदेशिन खोज्दा
सरकारले २०७२ साल चैतदेखि विशेषगरि महिलाहरूलाई घरेलु कामदारको रुपमा विदेशिन रोक लगाएको छ । सरकारले निषेध गरेपनि अहिले पनि विभिन्न माध्यम हुँदै महिलाहरू विदेशिने गरेका छन् ।
यसरी सरकारले रोक लगाएको घरेलु कामदारको रुपमा विदेशिँदा तपाईं ठगीमा पर्न सक्नुहुन्छ । त्यसैले तपाईंलाई कुनै मेनपावरले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेको खण्डमा जोगिनुहोस् तपाईं ठगीमा पर्न सक्नुहुन्छ ।
१०. सीप नसिकी विदेशिँदा
वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका लागि विदेशिनेहरुका लागि भनेर १८ बिधामा सीपमूलक तालिम प्रदान गर्दै आएको छ । रोजगारदाता मुलुकमा बढी माग हुने क्षेत्रहरूसम्बन्धी सीप बोर्डले सिकाउँछ । यसरी वैदेशिक रोजगार बोर्ड अथवा कुनै मान्यताप्राप्त संस्थाबाट प्रदान गरिने सीप नलिइ तपाईं विदेशिनु भयो भने ठगीने सम्भावना बढेर जान्छ । सीप सिकेर गएको खण्डमा भनेअनुरुपको काम र तलब सुविधा पाइन्छ भने सीप नसिकि गएको खण्डमा कतिपय अवस्थामा करार सम्झौता अनुरुपकै कामहरु पाइँदैन ।
त्यसैले वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने अनिवार्य सीप सिकेर जानुहोस् । यस्ता सीपहरू अधिकांश निःशुल्क हुन्छ ।
यी हुन् वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने १८ सीपका विधाहरू : लिङ्क
…………………………..
सचेत हुनुहोस्, वैदेशिक रोजगारीमा जाने कामदार नै सचेत भयो भयो कुनै पनि व्यक्ति वा निकायले ठग्न सक्दैन । वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने निम्न निकायबाट सहयोग लिन सकिन्छ:
- वैदेशिक रोजगारीका क्रममा निःशुल्क कानूनी साहयताका लागि: लिङ्क
- निःशुल्क टेलिमेडिसिन सेवाका लागि : ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरको भाइबर, हृवाट्सएप र इमो
- निःशुल्क मनोसामाजिक परामर्शका लागि : लिङ्क
- वैदेशिक रोजगारीमा रहेका/फर्किएका श्रमिक साथीहरूले सञ्चालन गर्ने निःशुल्क अभिमुखीकरण कार्यक्रमहरमा सहभागिताका लागि :लिङ्क फोन नम्बर – ९८५१३२२८५३