प्रधानमन्त्रीलाई खाडीबाट निम्तो: आउनुहोस्, यतै श्रमिक दिवस मनाऔँ !
हुनत विभिन्न अन्तराष्ट्रिय सङ्घसंस्थाबाट श्रमिक दिवस मनाउन र कार्यक्रमहरूको उद्घाटन गर्न आएका निम्तोहरूका चाङबाट कुन कुन सेमिनारमा भाग लिने सोच्नै गाह्रो भइरहेको समयमै एउटा अर्को निम्तो पनि थप्दै छौँ । देशमा रोजगारीको अवसर नपाएर खाडी पलायन भएका हामी लाखौं श्रमिकको सविनय अनुरोध छ – प्रधानमन्त्री ज्यू, अबदेखि श्रमिक दिवस खाडीमै मनाऔँ !
५० डिग्री माथि चर्को घाम भएको काम गर्ने साइटमा केहीबेर बेल्चा चलाऔँला, खबुस र पानीले पेट भरौँला, एउटै कोठामा १०-१२ जनासम्म सुस्ताऔँला । आउनुहोस् प्रधानमन्त्री ज्यू, हाम्रो क्याम्पमा श्रमिक दिवस यसरी शुभकामना साटेर मनाऔँला ।
प्रधानमन्त्री ज्यू, लाखौँ खर्चिएका सेमिनार अनि त्यसबाट निकालीने प्रतिवेदनहरूले खाडीका हाम्रा सबै व्यथा, वेदना बोल्दैनन् । सुविधा सम्पन्न एसीको चिसोमा हाइटी खाँदै तपाईंहरूले मनाउने श्रमिक दिवसले हामीजस्ता खाडीमा तात्तिएर बासी तरकारीसँग सुक्खा खबुस खाँदै काम गर्न वाध्य भएका लाखौँ युवाका दु:खलाई बुझ्न सक्ला र ?
खाडीको भुङ्ग्रोमा पिल्सिएर काम गरेपनि हामी जस्तो लाखौं विदेशिएका श्रमिकले देश भुलेका छैनौँ, रेमिट्यान्स हाल्न छाडेका छैनौँ । बितेको ९ महिनामा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स पठायौँ । गत चैत्र महिनामा मात्र १ खर्ब ४ अर्ब रुपैयाँ देश सम्झिएर पठायौँ ।
पठाएको रेमिट्यान्सलाई सम्झिएर पनि अबका श्रमिक दिवस हामीसँगै मनाउन आउनुहोस् भनेर यो निम्तो पठाएका छौँ । आजकै दिन झण्डै दुई हजार युवा देश छाडेर रोजगारीका लागि यहाँ आउँदैछन्, उनीहरू हातका रेखा मेटिने गरि घोटिनुपर्छ । प्रधानमन्त्री ज्यू, तपाईंले यी लाखौँ नेपाली युवाले जस्तै यहाँ हत्केला बेच्नु पर्दैन मात्र हामीले बगाएको रगत र पसिनाको भाव बुझ्नका लागि यहाँ बोलाएका हौँ ।
तपाईंले खाडी भोग्नु परेन, पाखुरा बेच्नु परेन त्यसैले त दूरदेशको बलिदानी बुझ्न नसक्नुभएको होला । वैदेशिक रोजगार बोर्डको तत्थ्याङ्क पढ्यौँ, अघिल्लो सालको ६ महिनामा ६ सय १२ नेपालीले ज्यान गुमाएछन् । १ सय १३ जना फेरी पाखुरा बेच्न नसक्ने गरी अंगभंग भएछन् । ज्यान गुमाउने र अंगभंग हुनेको सङ्ख्या सरकारले यति मात्र देख्यो तर तपाईं यहाँ आउनुभयो भने वास्तविक सङ्ख्या त यो भन्दा धेरै रहेछ भनेर महसुस हुने थियो कि ?
भौतिक क्षति धेरै छ तर त्यो भन्दा भयावह छ मानसिक रोगले विक्षिप्त भएकाहरूको सङ्ख्या ।
देशमा गरिखाने बाटो छैन, काम गरेपनि भोक टार्न सक्ने आम्दानी नै छैन । त्यसैले त होला गएको ९ महिनामा मात्रै ५ लाख ७० हजार ६ सय ५३ नेपालीले देश छाडे बाध्य भए । अघिल्लो महिनाको मात्र कुरा गर्ने हो भने ६१ हजार ४ सय ७८ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभाग बताउँछ ।
प्रधानमन्त्री ज्यू, खाना, नाना र छाना देशभित्रै जुटाउन सक्ने हो भने सात समुन्द्र पारी युवाहरू किन भौँतारिनु पर्थ्यो होला र ?
हामी झण्डै ४० लाखको हाराहारीमा विदेशमा छौँ । हामी त बाध्यताले विदेशियौँ अब यस्तो नियति हामी पछाडिको पुस्ताले भोग्न नपरोस् भनेर खाडीको वास्तविक अवस्थासँग सात्क्षात्कार गराउन हामीले तपाईंलाई निम्तो दिएका हौँ ।
हामीलाई पनि ज्यान धरापमा राखेर कहाँ परदेशमा काम गर्न मन छ र ? हामी देश फर्कन चाहन्छौँ, हामीलाई पुर्नस्थापना चाहिएको छ । हाम्रा लागि सरकारले बनाएको पुर्नस्थापनाको कार्यविधि अनि नीतिहरूमा हामी नै अटाउन सकियोस् भन्ने अपेक्षा छ हाम्रो ।
सरकारले विदेशबाट फर्किएर स्वदेशमा नै उद्यम गर्नेलाई प्रोत्साहन गर्ने कार्यविधि बनाएको छ । कतिले पाएका पनि छन् तर, धेरै उद्यमीहरू सरकारी सुरक्षा नपाएर उम्रन नपाउँदै मर्ने गरेका छन् । अनि फेरी नियति पनि उस्तै त हुन्छ; व्यापार गर्यो उत्पादन बिक्दैन, कृषि गरौँ मलसम्म पाइँदैन । आज मे दिवसकै दिन देशभित्रै उद्यम गर्छु भनेर तङ्ग्रिएको सिन्धुपाल्चोकका एकजना साथी राजेश सिंहले आफ्नो व्यवसाय नै बन्द गरेछन् । टिमोर फुड प्रोडक्सन नाम दिएर उद्यम चलाउँदै थिए, अब बन्द गरेर मेनपावर धाउँछन् होला ।
सरकारले विदेशबाट फर्किएकाहरूका लागि सहुलियतपूर्ण कर्जा सुविधा ल्याएको भनेर खुबै प्रचार गर्यो । तर, खै कसको हातमा कर्जा पर्छ पत्तो नै हुँदैन । केही गरौँ भनेर नेपालनै फर्कन पनि मन भित्र चिसो पस्छ, व्यापार गरौँ कमाएको २\ ४ लाख पनि डुबी जाने हो कि भन्ने डर लाग्छ । स्टार्टअप कर्जा, महिला उद्यमशील कर्जा, विदेशबाट फर्किएकालाई कर्जा विधा त अनेक छन्, तर कर्जा पाउनेको सङ्ख्या हेर्यो आफैँलाई विरक्त लागेर आउँछ । कर्जा पाउनेमा हुनेखानेको मात्र पहुँच पुग्ने रहेछ हाम्रो भागमा त के पो पर्ने हो र खै ?
हामीलाई परदेशी भनेर राज्यले यतिसम्म बञ्चित गराएको छ कि आफूलाई चाहिएको जनप्रतिनिधिसम्म हामीले चुन्न पाउँदैनौँ । अदालतले २०७६ मै हामीलाई भोट हाल्ने अधिकार दिनु भनेको थियो, प्रधानमन्त्री ज्यू लगायत सबै कानमा तेल हालेरै बस्नुभयो । ४ वर्षसम्म न हाम्रो आवाज सुनियो न अदालतले भनेकै मानियो ।
निम्तोमा गुनासो पनि कति लेख्नु खै । तपाईं आफैँ हामीबस्ने क्याम्पसम्म आएर हाम्रो विवशता हेरिदिनुहोस् । हामीले सम्मानले पस्कने खबुस र खजुर खानुहोस् । प्रधानमन्त्री ज्यू, एकपटक त हामी परदेशी श्रमिकहरूसँग श्रमिक दिवस मनाइदिनुहोस् ।
उही
परदेशमा श्रम बेचेर देशको अर्थतन्त्र धानिरहेका नेपालीहरू