जसले ‘ठेकेदार्नी’ भनेर खिसिट्युरी गर्थे, अहिले उनीहरू नै हात जोड्छन् (भिडियो कथा)
आइमाई पनि ठेकेदार बनेर हुन्छ त अब ?
‘ठेकेदार्नी’ ले बनाएको बाटो कस्तो हुने होला ?
पक्कै पनि कसैको पछि लागेर आएकी होला, कहाँ यस्तो काम आफै गर्न सक्छन् आइमाईहरू ?
एक दशक अगाडि गीता शाही जब सडक निर्माण भइरहेको क्षेत्रमा अवलोकन/अनुगमन गर्न पुग्ने गर्थिन् तब त्यहाँ काम गर्ने पुरुष कामदार र स्थानीयले उनकै अगाडि यस्तै-यस्तै कुराहरू गर्ने गर्थे । उनीहरूको साझा बुझाइ थियो – निर्माण व्यवसायको काम भनेको पुरुषले मात्र गर्न सक्ने पेशा हो महिलाले सक्दा पनि सक्दैनन् र गर्नु पनि हुँदैन । भिडियो कथा
जुम्लाकी गीता शाहीले आफू महिला भएकै कारण समाजले गरेको यस्ता प्रहारलाई निडर भएर सामना गरिन् । उनी विश्वस्त थिइन्, मान्छेहरू बोल्दै गर्छन् त्यसको प्रतिउत्तर भने काम गरेर देखाउने हो ।
“चुनौतीसँग जुध्ने आँट नभएको भए आज निर्माण व्यवसायी बन्न कहाँ सक्थेँ र म ?” दृढ हुँदै गीताले भनिन्, “जुम्लाले मलाई जस्तोसुकै परिस्थितिमा पनि सधैँ संघर्ष गर्न सिकाइरह्यो । चुनौतीसँग डराएको भए कर्णालीबाट आएर राजधानीमा टिक्न कहाँ सक्थेँ होला र म ?”
एकछिन उनको विगत कोट्याउन मन लाग्यो र सोधेँ, “यो दिन पनि आउँछ भन्ने लागेको थियो ?”
“विगतका कुराहरू सम्झिँदा त यस्तो पनि समय आउला र जस्तो लाग्थ्यो । भात खानको लागि र एक जोर लुगा फेर्नका लागि मात्र पनि दसैंं पर्खिनु पर्थ्यो । पढ्न जानका लागि घण्टौँसम्म हिँड्नुपर्थ्यो । न त्यतिबेला बाटो पुगेको थियो न अहिले पुगेको छ” विगतको कथा कहाँबाट सुरु गरौँ जस्तो लाग्यो उनलाई र भनिन्, “हाम्रोतिरको दुःख त के के मात्र पो बताउनु हजुरलाई”
‘अब पढ्ने होइन लड्ने बेला हो’ भनेर गीता र उनका साथीहरूलाई विद्यालयबाटै माओवादी छापामारले आफूसँगै लिएर गए । त्यहाँबाट भागेर उनी नेपालगञ्जमा रहेको उनको फुपुको घरमा पुगिन् । फर्केर फेरी जुम्ला पुग्ने हो भने छापामारले लैजालान् भन्ने डरले गीताले त्यतै गाडी चलाउने सीप सिकिन् ।
उनलाई सधैँभरि आफन्तकोमा बस्ने अवस्था थिएन । वर्षौँ वर्षदेखि उनको घरपरिवार अभावको आहालमा थियो त्यसैले दसैंंमा मात्र भात पाक्ने अवस्था फेर्नका लागि भएपनि खाडी पस्छु भन्ने सोच बनाएर गीता काठमाडौँ लागिन् ।
“काठमाडौँ आएपछि जुम्लाको एकजना सरले मलाई निर्माण व्यवसायी भगीरथ तिमल्सिनासँग भेटाउनुभयो” काठमाडौंका सुरुवाती दिन सम्झँदै गीता भन्छिन्, “वहाँले मलाई अभिभावकको व्यवहार गर्नुभयो । वहाँकै घरमा बसेर पासपोर्ट बनाएँ र म्यानपावर धाउन थालेँ ।
खाडीमा महिलालाई अत्यन्तै कष्टकर हुने कुरा भगीरथले गीतालाई बताए । काठमाडौंमा अब के गर्ने भनेर उनी दोधारमा परिन् । भगीरथले नै सामान्य गुजारा चल्ने जागिर निर्माण व्यवसायी महासङ्घको कार्यालयमा मिलाइदिए । त्यहाँबाटै उनले निर्माण व्यवसायका कामहरु सिक्न थालिन् । भगीरथले सडक निर्माण भएका साइटहरुमा लैजाने गर्थे अनि गीताले पनि खुबै चासोका साथ कामहरु सिक्ने गर्थिन् ।
एक दशकको निरन्तरको मेहनत र खटाइले आज गीता सफल निर्माण व्यवसायीको रुपमा स्थापित भएकी छन् । पहिला जसले ‘ठेकेदार्नी’ भनेर खिसिट्युरी गर्थे, अहिले उनीहरू नै हात जोड्छन्, सम्मान गर्छन् । नियमितरुपमा ३० जनाभन्दा बढीलाई रोजगारी दिएकी छन् उनले ।
गीताको गृहजिल्ला जुम्ला पुग्न अझै पनि कष्टकर बाटो काट्नु पर्छ तर राजधानी वरपर भने राम्रो कालोपत्रे सडक बनाउने क्षमता विकास गरेकी छन् उनै जुम्लाकी चेली गीताले ।
गीताले हाँकेको गाडीमा उनैले बनाएको चिल्लो सडकमा हुइकिँदै गर्दा प्रश्न गरेँ, “आफैंले बनाएको सडकमा आफैंले गाडी गुडाउँदा कस्तो महसुस हुँदैछ ?”
गीताले हसिलो अनुहार बनाउँदै भनिन्, “धेरै रमाइलो लाग्छ नि यसरी आफैँले बनाएको बाटोमा सरर गुड्न पाउँदा”
“सरकारले तपाईंलाई जुम्लामा गएर यस्तै बाटो बनाउने जिम्मा दियो भने जानुहुन्छ ?” गीतालाई कपोकल्पित सपना देखाउँदै सोधेँ ।
आत्मविश्वासका साथ गीताले भनिन्, “यस्तो जिम्मा पाउने भए त खुशीखुशी आफ्नो ठाउँमा गएर अझ धेरै खटिएर काम गर्ने थिएँ । सडक नपुगेर त्यहाँका उत्पादनले बजार पाएका छैनन्, पुर्वाधारको विकास हुने भए कर्णाली समृद्ध हुन बेरै लाग्दैन”
हरेस खाएर देश छोडेको भए अनि निर्माण व्यवसायको क्षेत्रमा नलागेको भए आज खाडीको कुन ठाउँमा आफ्नो जीवन पिल्सिरहेको हुन्थ्यो होला भन्ने लाग्छ गीतालाई । अझैपनि गीताले खाडी जान भनेर बनाएको पासपोर्ट र कागजात सुरक्षित राखेकी छन् । निर्माण व्यवसायको क्षेत्रमा अगाडि बढ्ने उर्जामा कमी नहोस् भनेर गीताले बेलामौकामा ती कागजात हेर्ने गर्छिन् ।
गीताको चाहना छ, महिला भएकै भरमा कसैले पनि आफ्नो सीप र क्षमतालाई कुण्ठित पार्नु नपरोस् । समाजले महिलालाई हौसला दिओस्, हतोत्साहित नपारोस् ।
हेर्नुहोस्, जुम्लाकी आँटिली गीता शाहीको कथा जो खाडी पस्ने योजनामा काठमाडौं आएकी थिइन् तर बनिन् सफल निर्माण व्यवसायी: