नेपाली रङ्गकर्म : रहरबाट पेशा बन्न अझै कति दूर ? (भिडियो)
“पहिलेपहिले बसमा विराटनगर जाँदा सिटको छेउमा बस्नेसँग कुरा हुन्थ्यो । तपाईं के गर्नु हुन्छ भनेर मलाई सोध्दा म नाटक गर्छु भन्थेँ । त्यो त ठिकै छ तर काम चाँहि के गर्नुहुन्छ भन्ने गर्थे” केही दशक अगाडिको कुरा सम्झँदै रङ्गकर्मी सुनिल पोखरेलले भने, “स्थिति अहिले पनि उस्तै छ..”
“यतिका दशक बित्दा पनि रङ्गकर्म अझै रहरमा चल्दैछ ? नेपाली रङ्गमञ्चका धरोहर सुनिललाई प्रश्न गर्दा एकछिन् अवाक् भए उनी ।
“हो, हामी त अझै पनि रहरले नै काम गर्दै रहेछौँ क्यार.. जानेकै यही हो । खुशी मिल्ने नै यहीबाट हो” सुनिलले छोटो उत्तर फर्काए ।
“रङ्गकर्म रहरबाट पेशा बन्न अझै कति दूरी पार गर्नुपर्ला दाइ ?” कुराकानीले बिट नमारोस् भनेर फेरी अर्को प्रश्न तेर्स्याइहालेँ । “अझ केही वर्ष लाग्छ होला” यतिउति वर्ष नभनी उही जवाफ दोहोर्याए, “लाग्छ होला अझै केही वर्षहरू”
नेपाली रङ्गमञ्चलाई सुनिलले किशोरावस्थाको रस दिए, युवावस्थाको जोस पनि दिए । उमेरले अहिले ६० लाग्दै गर्दाको समय पनि उनले रङ्गकर्मलाई नै सुम्पेका छन् । सुनिल र रङ्गकर्मको सम्बन्धले ४ दशक नाघेर पाँचौँ दशक टेक्दै छ । रङ्गकर्मलाई सबथोक दिएका सुनिलले यहाँबाट के पाए त ?
“मान्छे कमाइयो” उसैगरी छोटो उत्तर फर्काए सुनिलले । “मात्रै मान्छे ?” उनको उत्तर जस्तै छोटो प्रश्न जोडिहालेँ ।
“अलिअलि पैसा पनि कमाएँ” उनले प्रस्ट्याउन खोजे, “झुट बोल्नु हुँदैन, पैसा नकमाएको होइन तर कमाएको नै भन्ने पनि छैन । मैले खुशी कमाएँ, सन्तुष्टि कमाएँ । जे कुरा मेरो जीवनलाई महत्वपूर्ण छ त्यो मैले रङ्गकर्मबाट कमाएँ”
रङ्गमञ्चमा अब आउने पुस्तालाई पनि खुसि र सन्तुष्टिले भरथेग गर्ला ? कोभिड महामारीमा नेपाली रङ्गकर्मीको अवस्था कति कष्टकर थियो ? कहिलेसम्म अडिएला रहरको जगमा नेपालको रङ्गकर्म ? उनका उत्तरभन्दा लामा प्रश्नहरु राखेर उनीसँग रङ्गकर्मको चुनौती मा अझ घोत्लिन मन लाग्यो ।
“निश्चय नै रङ्गकर्म गरेर २ छाक भात खान पाउनुपर्छ, न्यानो ओछ्यानमा सुत्न पाउनुपर्छ । यो अवस्था अझै बनिसकेको छैन तर बनेको छैन भन्दैमा हामी आफू त रोकिन सक्दैनौँ । भोक त हामीलाई खानाको भन्दा यो कर्मको छ त्यसैले, अवस्था राम्रो आउला हामी भने आफ्नो काम निरन्तर गरिरहन्छौं” नेपाली रङ्गमञ्चका दिन फिर्लान् भन्ने कुरामा सुनिल केही आशावादी थिए तर त्यो भन्दा बढी विश्वस्त थिए रङ्गमञ्च धान्ने कलाकारको समर्पणमा।
“ए बाबा, २ छाक नखाई पनि हामी रङ्गमञ्चलाई बचाउँछौँ हौ” सुनिल ढुक्क हुँदै सुनाए ।
“नेपाली रङ्गकर्मलाई पेशा बनाउनका लागि पछिल्लो समय केही प्रगति त भए होलान् नि दाइ ?” दयाहाङ राइ, विपिन कार्की, सौगात मल्ल, सिर्जना सुब्बा, खगेन्द्र लामिछाने जस्ता रङ्गमञ्चबाट आएका कलाकारको नेपाली चलचित्रमा दबदबा रहेको सन्दर्भ उक्काउँदै सुनिललाई प्रश्न गरेँ ।
“फिटिक्कै केही पनि हुँदै नभएका होइनन् । उबेला हाम्रो समयमा सम्भावनाहरु थोरै थिए तर अहिले यो बढेर गएको छ । कलाकारका लागि विभिन्न माध्यमहरु छन् । रङ्गमञ्चका कलाकारहरुले अहिले चलचित्रहरू, रेडियो नाटक, विभिन्न परियोजनाहरूमा अवसर पाएका छन् । गर्न चाहने, गर्नसक्ने र गरिरहने हरुलाई अवसर छन्, चाहना र क्षमता भएर मात्र हुँदैन त्यस प्रतिको लगाव भने हुनैपर्छ”
सुनिल अलिक खुलेर भन्दै थिए, “कलाकारहरुले रंगमञ्चबाट चलचित्रमा अवसर पाउनु, राम्रो आर्जन गर्नु मेरा लागि अत्यन्तै खुसीको कुरा हो । जतिले राम्रो गरेका छन आफ्नो क्षमताले गरेका छन् र जतिले गर्दैछन् आफ्नै बलबुतामा गर्दैछन् । म सधैं आफ्नो सिकाइ उनीहरुलाई दिइरहनेछु । २०५९ सालमा नाटकका लागि रङ्गमञ्च गुरुकुल मात्र थियो । अहिले हेर्नुस् कम्तीमा राजधानीमा ७ वटा नाटकघरले नियमित नाटक देखाउँछन् । यसो हुँदा धेरैभन्दा धेरै कलाकारले अवसर पाइरहेका छन्, रङ्गकर्मको आफ्नो प्रतिभालाई व्यक्त गर्ने मन्च पाएका छन् ।”
“प्रगति त भएका रहेछन् है दाइ ?” सुनिलको कुरामा सही थप्दै भनेँ ।
“हो, सम्भावना छन् तर पूर्णरूपमा रङ्गकर्म अझैपनि व्यवसायिक हुन नसकेको कुरा भने यथार्थ हो ।”
“सरकारबाट केही सहयोग भएन दाइ ?” मेरो जिज्ञासा सकिएन ।
सुनिलले हाँस्दै प्रतीप्रश्न गरे “सरकारबाट ?” थप केही भन्न चाहेनन् उनले ।
हेर्नुहोस्, रङ्गमञ्चका धरोहर सुनिल पोखरेलसँगको संक्षिप्त भिडियो कुराकानी: