यसरी गर्नुहोस् प्लास्टिकको घरमा तरकारी खेती
डा. केदार बुढाथोकी
खुल्ला आकासमा तरकारी खेती गर्नु र प्लास्टिकको घर अर्थात् टनेलमा तरकारी खेती गर्दा गुणात्मक फाईदा हुन्छ । नेपालमा मुख्यतया तीन किसिमका टनेल संरचनाहरु प्रचलित छन् । अस्थायी, स्थायी र अर्धस्थायी नेपालमा प्रचलित टनेलका संरचना हुन् ।
कम लागत र वर्षायाममा तरकारीलाई पानीबाट जोगाई उत्पादन लिन सकिने ५ देखि ६ मिटर चौडाइ तथा १२ देखि २५ मिटरसम्म लम्बाइ भएका, बाँस, सिल्पाउलिन वा युभी प्लास्टिक प्रयोग गरी बनाइएका संरचना अस्थायी हुन् । यस्ता संरचनाबाट २–३ वर्षसम्म उत्पादन लिन सकिन्छ । जीआई पाइपको प्रयोग गरी संरचनाको मुख्य खाँबा र धुरी निर्माण गरिएका, कम्तीमा ८–१० वर्षसम्म उत्पादन लिन सकिने संरचना अर्धस्थायी हुन् । नेपालमा निर्मित अर्धस्थायी संरचनामा जीआई पाइपका प्लास्टिक घर र डोम आकारका प्लास्टिक घर पर्छन् । जीआई पाइपका प्लास्टिक घर मध्यपहाडी क्षेत्रमा उपयुक्त मानिन्छन् । १६ सय मिटरभन्दा अग्ला वा उच्च पहाडका कम हिउँ पर्ने क्षेत्रमा बेमौसमी तरकारी वा फलफूलका बिरुवा उत्पादन गर्न अर्धचन्द्राकारका यूभी प्लास्टिक र पोलिकार्बोनेट सिट तथा बाँसका भाटा वा जीआई पाइप प्रयोग गरेर बनाइने डोम आकारका प्लास्टिक–घर उपयुक्त हुन्छन् ।
स्थायी संरचनाअन्तर्गत जालीघर (नेट–हाउस), प्राकृति रुपमा हावाको सन्तुलन मिलाईएको नेचुरल्ली भेन्टिलेटेड ग्रिन हाउस र उच्च प्रविधियुक्त ग्रिनहाउस पर्छन् । तापक्रम अत्याधिक भएका तराईका क्षेत्रमा भदौदेखि जेठसम्म बेमौसमी तरकारी उत्पादन गर्न किरा नछिर्ने जाली, अल्मुनियम नेट तथा जीआई पाइप प्रयोग गरिएका जाली–घर उपयुक्त मानिन्छन् । मध्यपहाड तथा तापक्रम ४० डिग्री सेन्टिग्रेडभन्दा बढी नजाने तराईका क्षेत्रमा बेमौसमी तरकारी उत्पादन गर्न १००–२०० माइक्रोनको यूभी प्लास्टिक र जीआई पाइपको प्रयोग गरी किरा नछिर्ने जाली तथा जाडोमा तापक्रम बढाउन प्लास्टिकको पर्दा समेत भएका, कम्तीमा ५ मिटर चौडाइको एउटा मात्र वा गटर राखेर धेरै क्षेत्र ओगट्न सक्ने ‘नेचुरल्ली भेन्टिलेटेड ग्रिनहाउस’ उपयुक्त मानिन्छन् । यसै गरी तरकारी र फलफूलका बेर्नाको अत्यधिक माग भएका क्षेत्रमा बाह्रै महिना उत्पादन लिन सिँचाइ, तापक्रम र सापेक्षिक आर्द्रता स्वचालित भएका, जीआई पाइप र यूभी प्लास्टिकबाट निर्मित उच्च प्रविधियुक्त ग्रिनहाउस उपयुक्त हुन्छन् ।
प्लास्टिक घर बनाउदा जमिन कसरी तयार गर्ने ?
सानो ठाँउमा ठूलो उत्पादन लिने उद्देश्यले प्लास्टिक घर बनाईने भएकोले जमिन तयार पार्दा ध्यान पुर्याएर काम गर्न जरूरी हुन्छ। सामान्यतया बाहिर खेती गर्ने भन्दा प्लास्टिक घर भित्र खेती गर्दा मल हाल्ने कुरामा निकै ध्यान पुर्याउनु पर्ने हुन्छ र मल राख्दा सकेसम्म धेरै वर्षलाई पुग्ने गरि एकै पटक वा कम्तिमा एक सिजनलाई पुग्ने गरि हाल्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ।
प्लास्टिक घरमा खेती सुरू गर्नुभन्दा पहिला जमिन राम्रोसंग खन-जोत गरेर झार मार्नु पर्दछ। यसरी खनजोत गर्ने क्रममा मल छरेर हाल्न पनि सकिन्छ वा नहाल्न पनि सकिन्छ। तर ड्याङ बनाउने वेलामा प्रसस्त मल हाल्न जरूरी हुन्छ। ड्याङ बनाउदा सकेसम्म ड्याङदेखि ड्याङको दूरी ९० सेन्टीमिटर बनाउनु पर्ने हुन्छ। यसरी ड्याङ बनाउँदा ५ मिटर चौडा प्लास्टिक घरमा ५ वटा ड्याङ बनाउन सकिन्छ। ड्याङ बनाउनुभन्दा पहिला बलेसीको पानी चुहिने विन्दू बाट कम्तिमा ३० सेन्टीमिटर भित्र पहिलो ड्याङ बनाउनु पर्ने हुन्छ।
खनजोत पछि निम्न तरिकाले जमिनमा मल हाल्न सकिन्छ :
१. खाल्डो बनाएर ड्याङ बनाईसके पछि विरूवा रोप्ने दुरीमा कम्तिमा ९ ईन्च गहिरो र ९ ईन्च नै चौडाईको खाल्डो बनाएर खाल्डोको सबैभन्दा तल फस्फोरस मल ३० ग्राम वा खरानी ३०० ग्राम, पोटास १० ग्राम, कुहिने झारपातहरू, सुकेका पात पतिङ्गरहरू, सम्भव भएसम्म २०० ग्राम हड्डीको धुलो, उपलब्ध छ भने १ किलोग्राम कुहिएको कुखुराको मल राख्नु पर्दछ। यसरी मलहरु राखिसकेपछि त्यो खाल्डोलाई गाईबस्तु वा बाख्राको राम्रोसंग कुहिएको मलले जमिनको लेबलसम्म पुर्नु पर्दछ र मलभन्दा माथि कम्तिमा ६ ईन्च माटोले पुर्नु पर्दछ। यसरी तयार मल-माटोलाई पानीले राम्रोसंग भिजाएर कम्तिमा एक हप्ता छोड्नु पर्दछ जस्ले गर्दा कुहिन बाँकीरहेको मल राम्रोसंग कुहिन्छ र मलको पोषक तत्व जमिनमा राम्रोसंग फैलिन्छ। एक हप्ता पछि उक्त जमिनमा विरूवा रोप्न सकिन्छ।
२. कुलो (ट्रेन्च) बनाएर कुलो बनाएर ड्याङ तयार गर्दा ड्याङको पुरै लम्बाईमा ९ ईन्च चौडा र कम्तिमा ९ इन्च नै गहिरो कुलो बनाईन्छ। यसरी बनाएको कुलोमा खाल्टोमा हाले बमोजिम नै प्रति विरूवा हिसाब गरेर मल हालिन्छ र खाल्टो विधि जस्तै प्रकारले पुरिन्छ। खाल्टोभन्दा कुलो विधिको प्रयोग गर्दा प्राङ्गारिक मल धेरै मात्रामा प्रयोग हुन्छ र यो विधिबाट तयार गरेको जमिनमा पटक-पटक मल थपि रहनु पर्दैन। यसरी तयार गरेको जमिनमा कम्तिमा एक सिजनसम्म राम्रोसंग उत्पादन लिन सकिन्छ।
संरचनाको प्रकार : संरचनाका प्रकार निर्धारण गर्दा समुद्री सतहबाट उचाइ, तापक्रम, आर्द्रता र हावाको बहावलाई ध्यान दिनुपर्छ । समुद्री सतहबाट उचाइ कम भएको स्थान छ भने तापक्रम बढी हुने हुँदा अग्लो साथै भेन्टिलेसन भएको घर बनाउनुपर्छ । बढी उचाइ भएको स्थानमा तापक्रम कम हुने भएकाले तापक्रम बढाउन प्लास्टिक घर होचो बनाउनुपर्छ । तापक्रम र आर्द्रता नियन्त्रण गर्न हावा सञ्चार गर्ने पंखाको व्यवस्था गर्न सकिँदैन भने प्लास्टिक घरको आकार धेरै ठूलो बनाउन हुँदैन । ठाउँको उपलब्धताअनुसार ५–६ मिटर चौडाइ र १०–२५ मिटर लम्बाइको घर उपयुक्त हुन्छ ।
प्लाष्टीकको संरचना भित्रको तापक्रम र त्यसको सापेक्षीत आद्रता
सामान्यतया बोटबिरुवाको वृद्धि र उत्पादनका लागि १० देखि ३० डिग्री सेन्टिग्रेडसम्मको तापक्रम आवश्यक हुन्छ । तापक्रमबारे जानकारी लिन संरचनाभित्र थर्मोमिटर राख्नुपर्छ । तापक्रम घटाउन प्लास्टिकमा पानीको फोहोरा फाल्ने, प्लास्टिक घरभित्र ‘मिस्टिङ’ गर्ने वा पंखाको व्यवस्था गर्नुपर्छ ।
सापेक्षिक आर्द्रताले बालीको उचित रङ विकास गर्नुका साथै उत्पादनपर्यन्त बालीको आयुमा समेत असर गर्छ । सापेक्षिक आर्द्रता कम हुँदा जमिनको पानी सुक्ने र बिरुवाको श्वासप्रश्वास बढ्न गई वृद्धि विकासमा नकारात्मक असर पर्छ भने सापेक्षिक आर्द्रता बढी हुँदा रोग किराको प्रकोप बढ्न जान्छ । सामान्यतया तरकारी बालीका लागि संरक्षित संरचनामा ६०–६५ प्रतिशत सापेक्षिक आर्द्रता कायम गर्नु उपयुक्त हुन्छ । सापेक्षिक आर्द्रता बढी भएमा पर्दा वा ‘भेन्ट’ खोलिदिनुपर्छ ।
प्लास्टिक : नेपालमा सामान्यतया सूर्यको पराबैजनी किरणले असर नगर्ने ४५ देखि १२० जीएसएमसम्मको सिल्पाउलिन प्लास्टिकको प्रयोग हुँदै आएकोमा हाल यूभी प्लास्टिकको प्रचलन बढ्दो पाइन्छ । १००–२०० माइक्रोनमा उपलब्ध हुने यूभी प्लास्टिकले सूर्यको पराबैजनी किरण रोकी प्रकाश संश्लेषणमा सक्रिय किरण (३००–८०० नानोमिटर) लाई मात्र छिर्न दिन्छ । प्लास्टिकको चमकले सेतो झिँगा, लाही र चुसाहा किरालाई समेत विकर्षण गरिदिन्छ । तामाजन्य विषादीले यस्ता प्लास्टिकसँग प्रतिक्रिया गर्ने हुँदा विषादी प्रयोग गर्दा होसियारी अपनाउनुपर्छ ।
यसबाहेक संरचनाको दिगो व्यवस्थापनका लागि प्लास्टिकको नियमित सरसफाइ पनि उत्तिकै महत्त्वपूर्ण छ । लामो समयसम्म प्लास्टिकको सरसफाइ नगर्दा फोहोर जमेर बिरुवालाई आवश्यक सूर्यको किरण रोकी बिरुवाको प्रकाश संश्लेषण प्रक्रिया कम भइरहेको हुन्छ ।
कार्बनडाइअक्साइड व्यवस्थापन :
प्लास्टीकको घरमा खेती गर्दा प्राविधिक कुरालाई पनि उत्तीकै ध्यान दिनुपर्ने हुन्छ । अर्थात् नेपालमा धेरैले वास्ता नगरेको तर प्लास्टीकको घरमा आवश्यक पर्ने प्रविधि भनेको कार्बनडाइअक्साइड हो । बिरुवालाई प्रकाश संश्लेषण गर्नका लागी कार्वनडाईअक्साईड आवश्यक पर्दछ । बिरुवाले दिनमा कार्बनडाइअक्साइडको प्रयोग गरी प्रकाश संश्लेषण गर्छन् भने रातमा अक्सिजनको प्रयोग गरी श्वासप्रश्वास प्रक्रियाबाट कार्बनडाइअक्साइड फ्याँक्ने गर्छन् । सामान्यतया हाम्रो वरपरको वातावरणमा ३४० पीपीएम कार्बनडाइअक्साइड हुन्छ । संरक्षित संरचनामा खेती हुने तरकारी बालीमा कार्बनडाइअक्साइडको मात्रालाई १००० पीपीएमसम्म बढाउँदा प्रकाश संश्लेषण प्रक्रिया वृद्धि भई उत्पादन ४–५ गुणासम्म बढाउन सकिन्छ । त्यसैले रातमा बिरुवाले उत्पादन गरको कार्बनडाइअक्साइडलाई संरचनाभित्र सञ्चित गरी दिनमा बोटबिरुवाले प्रयोग गर्ने वातावरण मिलाउन ध्यान पुर्याउनुपर्छ । यसो गर्न घाम लागिसकेपछि केही समयसम्म प्लास्टिक पर्दा पूर्ण रूपमा हटाउन हुँदैन ।
प्लास्टीकको संरचनामा कस्ता बाली लगाउने ?
प्लास्टीको घर अथवा टनेलमा खाद्य वालीभन्दा तरकारी वाली लगाउदा अधिकतम फाईदा हुन्छ । अर्थात्, बजार मूल्य उच्च हुने किसिमका वालीहरु प्लास्टीकको घर- टनेलमा लगाउँदा उपयुक्त हुन्छ । यस किसिमको संरचनामा गोलभेँडा,काँक्रो काउली, भेडे खुर्सानी विभिन्न प्रजातीका साग, मूला जस्ता तरकारीहरुको खेती गर्नुपर्छ । यसबाहेक पछिल्लो केही वर्षमा प्लास्टिको संरचनामा फूलको खेती गरेर पनि मनग्य आम्दानी भइरहेको छ ।
तरकारी र फूलबाहेक यस किसिमको संरचनामा स्ट्रवेरी, ग्राउण्ड एप्पल, किवी जस्ता फलहरु पनी प्लास्टीकको संरचनामा खेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ ।
कसरी व्यापक गर्न सकिन्छ टनेल खेतीलाई ?
पछिल्लो केही दशकमा प्लास्टिकको घर अर्थात् टनेल खेती बढ्दै गएतापनि यसलाई व्यापक बनाउन सकेको छैन । सरकारले प्लाष्टिकको घरको ठाउँ अनुसारको उपयुक्त मापदण्ड बनाउन नसक्दा टनेल खेती सोचेअनुरुप व्यापक हुन नसकेको वास्तविकता हामीमाझ छ । यसका लागि सम्बन्धीत स्थानीय निकायहरुले प्लास्टीकको घरमा खेती सम्बन्धी तालिम कार्यक्रमहरु संचालनमा जोड दिन सकेमा यसको व्यापकतामा कोशेढुंगा बन्न सक्छन् ।
लेखक कृषि वैज्ञानिक हुन् । उनले नख्खु सिड प्राईभेट लिमिटेड सञ्चालन गरिरहेका छन् ।