सामाजिक सुरक्षा कोष: वैदेशिक रोजगारमा हुने, अनौपचारिक क्षेत्रका र स्वरोजगारहरू कसरी जोडिने ?

जीविको २०७९ पुष ११ गते १६:४७

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेकाहरूलाई २०७९ साल चैत ८ गतेदेखि सामाजिक सुरक्षा कोषमा समेट्दै छ ।वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगारमा रहेकाहरूको विषयमा काम गर्ने सङ्घसंस्थाका अनुसार ४० लाख बढि नेपाली नेपाल बाहिर काम गर्दै आइरहेका छन् ।

वैदेशिक रोजगारीमा गएकाहरू सहित अनौपचारिक क्षेत्रमा काम गर्नेहरू र स्वरोजगारहरूलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यविधी अनुरूप सामाजिक सुरक्षा कोषले यस कार्यलाई अगाडि बढाएको हो । सेन्टर फर सोसल चेन्ज (CSC) ले गरेको अध्ययनअनुसार देशको काम गर्ने जनसंख्याको झण्डै ६२.२% अर्थात ४४ लाखभन्दा बढी नेपाली अनौपचारिक क्षेत्रमा संलग्न रहेको बताएको छ । दैनिक ज्याला मजदुरी, फूटपाथमा ब्यापार गरेर यो संख्याले आफ्नो जीविको धान्दै आएपनि तीमध्ये अधिकांशलाई सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा योजनाबाट वञ्चित गरिएको छ र सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक दिइन्छ।

 वैदेशिक रोजगारीमा रहेका नेपाली र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका नेपाली पनि कोषमा सहभागी हुन पाउने भएका छन् । कार्यविधि अनुरूप सरकारले काम गर्नुपर्ने र यसलाई प्रभावकारी बनाउनु पर्ने प्रवासमा रहेका नेपालीहरूको माग छ ।

सरकारले विदेशमा भएका नेपालीको लागि ल्याएको कार्यविधि अनुसार वैदेशिक रोजगारीमा जानेले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् मासिक न्यूनतम २ हजार र अधिकतम त्यसको तीन गुणासम्म अर्थात २८ हजार १ सय ५५ रुपैयाँसम्म योगदान गर्न सक्नेछन् । योगदानकर्ताले १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिवापत रकम प्राप्त हुने कार्यविधिमा उल्लेख छ ।

नयाँ कार्यविधि अनुसार विदेशमा काम गर्ने नेपालीले रोजगार अवधि पूरा भएपछि एकमुस्ट रकम वा पेन्सन सुविधा पाउनेछन् । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ । कार्यविधिमा विदेशमा काम गर्ने नेपालीले अनलाइनबाट नै आवेदन दिई आफैं सूचीकृत हुन पनि सक्ने व्यवस्था रहेको छ । आउँदो फागुन २५ गतेबाट वैदेशिक रोजगारीमा जाने नेपालीले श्रम स्वीकृति लिने बेलामै कोषबाट खाता नम्बर पाउने छन् । कोषमा योगदान गर्नुपर्ने ६ महिनाभन्दा बढी अवधिको रकम अग्रिम रुपमा कोषमा जम्मा गर्ने योगदानकर्ताले जम्मा गर्नुपर्ने रकमको १० प्रतिशतसम्म छुट दिन सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

विदेशमा रहेका नेपालीले बसोवासका लागि लाग्ने खर्च कटाई वार्षिक आम्दानीको कम्तीमा ७० प्रतिशत रकम बैङ्किङ  माध्यमबाट नेपाल पठाएको प्रमाण पेस गरेमा वृद्धावस्था सुरक्षा बाहेकका योजनाहरूमा जम्मा गर्नुपर्ने रकममा पनि २० प्रतिशतसम्म छुट दिने कार्यविधिमा उल्लेख छ ।

विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत अर्थात् २ हजार ९ सय ९ का दरले अधिकतम यसको तीन गुणासम्म कोषमा योगदान गरी कोषको सुविधा लिन सकिने छ भने त्यस्तो रकममध्येबाट कोषले १ प्रतिशत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४० प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, 0.३३ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा हुनेछ ।

कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिकहरूले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम अर्थात् १ हजार ९ सय १२ रुपैयाँ कोषमा योगदान गर्नुपर्ने प्रावधान छ । यसरी जम्मा गर्ने २० प्रतिशत रकममा ११ प्रतिशत रकम श्रमिक स्वयंबाट जम्मा हुनेछ भने बाँकी ९.३७ प्रतिशत रकम भने सरकारले थपेर राख्दिने व्यवस्था कार्यविधिले गरेको छ ।

तर केन्द्र, प्रदेश तथा स्थानीय सरकारले उक्त रकम जम्मा नगरिदिने अवस्थामा भने योगदानकर्ता आफैँले जम्मा गर्नुपर्ने उल्लेख छ । कोषमा जम्मा भएको रकममध्ये  ९ सय ७३ रुपैयाँ अर्थात् १०.३७ प्रतिशत रकम औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनाका लागि जम्मा हुनेछ । त्यसबाहेकको १० प्रतिशत अर्थात् ९ सय ३९ रुपैयाँ वृद्धावस्था सुरक्षा योजनामा जम्मा हुने छ ।

स्वरोजगारमा रहेका व्यक्तिले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकदेखि अधिकतम तीनगुणा बढिसम्म ३१ प्रतिशत रकम योगदान गर्नुपर्ने व्यवस्था छ । सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेपछि योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य सुरक्षा तथा मातृत्व सुरक्षा सुविधा अन्तर्गत चिकित्सकको परामर्श सेवा पाउँछन् । त्यस्तै अस्पताल भर्ना  तथा शल्यक्रिया बापतको शुल्क, रोग परीक्षण तथा उपचार बापतको खर्च, औषधिको बिल बमोजिम खर्च समेत दिने गरिन्छ ।

योसँगै योगदानकर्ताको पत्नी गर्भवती रहेको खण्डमा नियमित गर्भ परिक्षण अस्पताल भर्ना भएर प्रसुती हुँदा शल्यक्रिया गर्नुपरेमा शल्यक्रियाको पैसा अथवा उपचार गराउँदाको खर्च पनि कोषले व्यहोर्ने प्रावधान छ ।  सुत्केरी भएको ६ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित खर्च तथा तीन महिनासम्मको शिशुको उपचारबापत खर्च पनि बेहोर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।

यसबाहेक योगदानकर्ता बिरामी परेमा उपचार गर्न २५ हजार रुपैयाँसम्म रकम, अस्पतालनै भर्ना भइ उपचार गर्न परेमा वार्षिक १ लाख रुपैयाँसम्म उपचार खर्च, योगदानकर्ताको पत्नी सुत्केरी हुँदा वा २४ हप्ता बढीको गर्भ पतन वा मृत शिशु जन्मिएको अवस्थामा पनि आर्थिक साहयता पाउनेछन् । महिला योगदानकर्ता गर्भवती रहेमा यस्तो सुविधा बापत ९८ दिन बराबरको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुने रकम प्रसूति सुविधा बापत पाउँछन् ।

दुर्घटनामा परी अस्पतालमा उपचार गर्दा लागेको खर्चको अधिकतम ७ लाख रुपैयाँसम्म कोषले उपलब्ध गराउँछ । दुर्घटनाका कारण अस्थायी पूर्णअसक्षमता भएको व्यक्तिलाई काममा फर्कन सक्ने अवस्था नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबर रकम मासिक रुपमा दिने व्यवस्था कार्यविधिमा उल्लेख छ । योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको आश्रित परिवारलाई कोषले सुविधा उपलब्ध गराउँछ। यस्तो अवस्थामा कोषले योगदानकर्ताको पति वा पत्नीलाई आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम आजीवन निवृत्तिभरण उपलब्ध गराइने व्यवस्था छ ।

​​​​​​​१८ वर्ष उमेर पूरा नभएका योगदानकर्ताको  छोराछोरीलाई पनि शैक्षिकवृत्ति स्वरुप मासिक रूपमा आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम कोषले उपलब्ध गराउँछ। योगदानकर्ताको एकाघरको  पति वा पत्नी, छोरा वा छोरी नभएको तर आश्रित आमाबुबा रहेको अवस्थामा आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा जीवनकालभर उपलब्ध गराउँछ। सामाजिक सुरक्षामा आबद्ध योगदानकर्ताको मृत्यु भएको खण्डमा अन्तिम संस्कार गर्नका लागि भनेर कोषले २५ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको छ ।

अनौपचारिक क्षेत्रका योगदानकर्ताले कोषलाई अग्रिम जानकारी दिइ आफ्नो आम्दानीको स्वघोषणा गरी न्यूनतम पारिश्रमिकको तीन गुणा रकमको ३१ प्रतिशत जम्मा गर्नसक्ने व्यवस्था छ। यस्तो रकम योगदानकर्ताको बचत योजनामा जम्मा हुन्छ ।

निवृत्तिभरण योजना अनुसार योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएपछि निवृत्तभरण योजनामा जम्मा भएको रकम र उक्त रकममा कोषले गरेको लगानीबाट प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तिभरण प्रदान गरिनेछ। वृद्धवस्था सुरक्षा योजनाका लागि ६० वर्ष उमेर पूरा भएको हुनुपर्नेछ। कम्तीमा १८० महिना योगदान गरेको हुनुपर्छ।

सामाजिक सुरक्षा कोष के हो ? यसमा जोडिँदा योगदानकर्ताले के कस्ता सुविधा पाउँछन् भन्ने विषयमा जीविकोले सामजिक सुरक्षा कोषका उप कार्यकारी निर्देशक तथा प्रवक्ता बिबेक पन्थीसँग संवाद गरेको छ । वैदेशिक रोजगारमा हुने, अनौपचारिक क्षेत्रका र स्वरोजगारहरूले सामाजिक सुरक्षा कोषबाट कस्ता फाइदा पाउँछन् भन्नेबारेमा उनले प्रष्ट्याएका छन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *