चिन्नुहोस् यी ८ युवालाई जो संघीय संसद् प्रवेश गर्दैछन् !

जीविको २०७९ मंसिर १३ गते १७:१६

सोविता  गौतम 

तश्विर : सोविता गौतमको सामाजिक सञ्जालबाट

मङ्सिर ४ गते देशव्यापी भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट १ सय ६५ जना सांसद छनोट हुँदैछन् । हालसम्म नतिजा हेर्दा सोविता  गौतम (२७) सबैभन्दा कान्छी संसद् चुनिएकी छिन् र सम्भवत उनी कान्छी संसद्  बन्ने छिन्  ।  काठमाडौं क्षेत्र नं. २ मा दुईजना ह्याभीवेट उम्मेदवारलाई पाखा लगाएकी सोबिताले १५ हजार २२९ मत पाइन् ।  टेलिभिजन प्रस्तोता सोविता कानुनकी विद्यार्थी हुन् । स्पष्ट वाक कला भएकी उनलाई संसद् छिर्ने बाटो खुलेसँगै उनले चुनावी दौरानमा खानेपानी, सडक, कृषि, सामाजिक सुरक्षा, खेलकुद र मनोरञ्जन, आश्रम, फोहोर र ढल व्यवस्थापन, व्यवहारिक शिक्षा लगायतका उनले उठाएका १० वटा प्रतिवद्धता छन् । यी जनसरोकारका विषयलाई कसरी सम्बोधन गराउन कस्तो भूमिका खेल्छिन् भन्ने हेर्न भने बाँकी नै छ यद्यपि उमेरमा ‘सानो’ सांसदसँग विशेषगरी युवा जमातले ठूलो अपेक्षा राखेका छन् ।   

अरुण कुमार चौधरी 

तश्विर : अरूण कुमार चौधरीको सामाजिक सञ्जालबाट

कहिले नगरपालिकाको मेयर त कहिले प्रतिनिधि सभाका उम्मेदवार बनेका अरुण कुमार चौधरीले मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।  २०७४ को निर्वाचनताका नेपाली काङ्ग्रेसबाट प्रदेशसभा सांसद पदमा चुनाव लडेका उनी ८४५ मतअन्तरले पराजित हुन पुगे । 

लोकतान्त्रीक फोरममा हुँदा मेयर पदमा उम्मेदवारी दिएका उनी मेयर बन्न भने सकेनन् । अघिल्लो निर्वाचनमा पनि उनी प्रदेश सांसद बन्न सकेनन्  । तर यसपटको निर्वाचनमा भने उनले सफलता हासिल गरे । करिब १ वर्ष अघि उदाएको नागरिक उन्मुक्ति पार्टीबाट यसपटक चुनाव लडेका उनलाई जनताले पत्याए र युवा संसद्को रूपमा निर्वाचित गरे । 

उनको एकीकृत दृष्टिकोणमा शिक्षा, कृषि, ग्राम उद्योग, सामाजिक सुधार सबै एकजुट भएर शोषणमुक्त र सहरी केन्द्रहरूसँग समानतामा जोडिएको जीवन्त ग्रामीण समाजको आधार तयार गरेर चुनाव लडेका उनले २१ हजार ८ सय ७१ मत लिएर संसद्को यात्रा गरेका छन्  । तेस्रो पटक विभिन्न तहको चुनाव लड्दा बिजयी बनेका उनले अबको संसद्मा आफ्ना एजेण्डालाई नीतिमा समावेश गराउन सक्लान् त ? 

रञ्जिता श्रेष्ठ चौधरी 

तश्विर : रञ्जिता श्रेष्ठ चौधरीको फेसबुकबाट

एउटा उखान छ ‘ठूलो गाँस नहाल बुहारी, कण्ठश्री चुँडिएला’ महिलालाई अपमानित गर्ने खालको उपर्युक्त उखान नेपालको तराई क्षेत्रमा पनि उत्तिकै प्रचलित छ । विशेषत तराईमा घुम्टो भित्रै महिलाले आफ्नो जीवन बिताउनुपर्छ भन्ने धारणा अहिलेसम्म पनि कायमै छ  । 

 तर केही प्रतिनिधि पात्रहरू भने आफ्नो क्षमता अनि साहसले यस्ता अन्धविश्वासलाई हटाउने जग बसाल्छन् । रञ्जिता पनि तराईमा हुर्किइन्, उनमा परिवर्तन गर्ने साहस र उत्साह बाल्यकालदेखि नै पलायो । राजनीतिक पात्र रेशम चौधरीसँग विवाह गरेपछि उनको साहसलाई थप उडान मिल्यो रञ्जिता दम्पती पहिचानको आधारमा संघीयताको माग गर्ने एजेन्डा सहित राजनीतिक उदयको तयारीमा थियो । फलस्वरूप अघिल्लो वर्ष राष्ट्रिय उन्मुक्ति पार्टी नाम गरेर उनीहरूले दल खोले जसको संस्थापक अध्यक्ष रञ्जिता बनिन् । 

पार्टी गठनको केही महिनामै प्रतिनिधिसभा निर्वाचनमा यो दलले अप्रत्याशित नतिजा निकाल्यो र अझ समानुपातिक मतगणनामा थ्रेसहोल्ड पार गरेपछि यो पार्टी राष्ट्रिय पार्टी बन्ने पक्का पक्की भएको छ । प्रतिनिधिसभामा हालसम्म ३ वटा सिट जितिसकेको छ । यही ३ संसद् मध्ये रञ्जिता पनि चुनाव जितेर यसपटक संसद्सम्मको यात्रामा छिन् । रञ्जिताले उठाएको सामाजिक न्याय र पहिचानको मुद्दालाई ३० हजार ४ सय ४ जनाले मन पराए र उनलाई भोट हाले महिला अधिकार र सामाजिक न्यायका लागि लडिरहने अठोटसहितको भाषण गरेकी रञ्जिताले अब संसद्मा यी विषयमा कसरी आवाज उठाउलिन् ?

योगेश गौचन थकाली 

तश्विर : योगेश गौचन थकालीको सामाजिक संजालबाट

टेलिभिजनमा पर्दामा  देखिएर जनताका प्रश्नहरू सोध्ने खोज्ने प्रयास गर्ने सोविताको जिम्मेवारी अब फेरिएको छ अब भने जनताले प्रश्न सोध्ने छन् सोविताताले उत्तर दिनुपर्ने छ । टिकटका लागि मुख्य प्रत्यासी थिए रोमी गौचन थकाली पर्यटन व्यवसायमा संलग्न रोमी मुस्ताङ कांग्रेस वृत्तमा चलेकै नाम हो । कांग्रेसले पनि अघिल्लो पटक एमालेका प्रेम तुलाचनसँग चुनाव हारेका रोमीलाई नै टिकट थमाउने निधो गर्यो । लोकतान्त्रीक गठबन्धनमा रहेको कांग्रेसलाई यसपटक भने पुरानो बदला लिने मौका पनि थियो । रोमी पनि दाबेदार नै थिए । तर उनले आफूले पाएको टिकटमा आफू चुनाव लडेनन् बरु उनका २९ वर्षीय युवा छोरा योगेश गौचनलाई आफूले पाएको टिकट थमाए ।  मुस्ताङको भूराजनीतिमा त्यति चर्चित नाम नभएका योगेशले टिकट भेट्टाउँदा पार्टीका अघिल्ला पङ्तिका नेताहरू रिसाउने र पुनः एमालेले नै चुनाव जित्ने आँकलन थुप्रैले गरे । तर त्यसको ठीक विपरित योगेशले बुवा हारेको बदला लिए र २९ वर्षको उमेर संसद्सम्मको यात्रा तय गरे । 

उनले चुनावी प्रचारको क्रममा परम्परागत होटल व्यवसाय र मुस्ताङको पर्यटकीय विकासलाई अगाडि सारेका थिए र संसद् पुगेपछि मुस्ताङलाई अझ समृद्दि पर्यटकीय जिल्ला बनाउने प्रतिबद्धता लिएका थिए । अब उनलाई विश्वास गरेर ३ हजार ९ सय ९२ मत दिने मतदाताको विश्वासमा उनी खरो उत्रन्छन् वा उत्रदैनन् प्रतिनिधिसभामा उनको उपस्थितिले देखाउने छ  ।  

हरि ढकाल  

तश्विर : हरि ढकालको सामजिक सञ्जालबाट

पूर्व अर्थमन्त्री युवराज खतिवडाले ३ वर्षअघि संसद्ममा बजेट प्रस्तुत गर्दा हरि ढकाललाई सेयर बजारबारे बजेटमा आएको नीति मन परेन र एमालेको सक्रिय राजनीतिलाई बिट मारेको भन्दै अनशन बसे । बजेटसँगको असन्तुष्टिका कारण उनले लिएको कदमले उनलाई सेयर बजारको वृत्तमा चर्चित बनायो । उनको राजनीतिक पहिचान भने ओझेलमा नै थियो । 

६ महिना अघि पूर्व सञ्चारकर्मी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएपछि उनी त्यता तर्फ सक्रिय बने र चितवन २ का लागि प्रतिनिधिसभाको टिकट पनि पाए । 

तुलनात्मक हिसाबले उनको दलको पकड रहेको चितवनमा उनी प्रतिस्पर्धामा आउँछन् भनेर धेरैको आँकलन पनि थियो सोही अनुरूप उनले ३४ हजार १ सय ८९ मत ल्याउँदै बिजयी बने ।

आर्थिक समृद्दि , हरित चितवन र सरकारी कोषको रकमको सही सदुपयोग जस्ता नारा चुनावी अभियानमा चलाएका हरिले आफ्नो अर्थतन्त्रको ज्ञानलाई प्रयोग गर्दै समुन्नत आर्थिक नीति निर्माणमा कस्तो भूमिका निभाउलान् ?  

अमनलाल मोदी 

तश्विर : अमनलाल मोदीको सामाजिक सञ्जालबाट

विराटनगरमा आलुचपको ठेला चलाउँदा आमाले खेपेको संघर्षलाई नजिकबाट अनुभव गरेका अमनलाल मोदी राजनीतिक परिवर्तनका लागि भनेर विद्यार्थी उमेरमा नै बन्दुक बोक्न पुगे । 

माओवादी सशस्त्र जनआन्दोलनका एक योद्धा अमनले यसपटकको प्रतिनिधिसभामा निर्वाचनमा ह्याट्रिक गरे । ३७ वर्षकै उमेरमा ३ पटक संसद छिर्न लागेका अमनले ३० हजार ६ सय १२ मत ल्याएका छन् । २०५४ सालमा शिलान्यास भएको रिङरोडमा हिँड्ने विराटनगर वासीको सपना २५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । यही रिङरोडलाई पूरा गर्दै विकास र सुशासनका लागि लड्ने अमनको चुनावी प्रतिवद्धता अब  पूरा होला ? 

डा. तोसिमा कार्की 

तश्विर : तोसिमा कार्कीको सामाजिक सञ्जालबाट

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाको उम्मेदवारी दिंदै गर्दा डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएर लाभको पदमा बहाल रहेकाले चुनावमा उम्मेदवार हुन नपाइने अयोगको तर्क थियो । कुरा यतिमै सीमित भएन, युवाको चाहनालाई निर्वाचन आयोगले बन्देज लगाएको भन्दै तोसिमाको उम्मेदवारी खारेजीको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन नै गरियो । अन्तत: आयोगले तोसिमाको उम्मेदवारी खारेजीका सन्दर्भमा गरेको निर्णय कार्यान्वयन नगर्नू/ नगराउनू भन्दै सर्वोच्चले आदेश दियो । उक्त आदेशपछि तोसिमा आम मतदाताको खोजीमा परिन् ।

तोसिमा उनै व्यक्ति हुन्, जसले ५ वर्षअघि बिबिसीको साझा सवाल कार्यक्रममा डा. गोविन्द केसीको अनशनलाई लिएर तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रश्न गरेकी थिइन्, “गौविन्द केसीले तपाईंलाई पत्र पठाउनुभएको छ, त्यो पत्र पाउनु भयो कि भएन ? डा. गोविन्द केसीका मागहरू पूरा हुन्छन् वा हुँदैनन्?” उक्त कार्यक्रममा तोसिमा र देउवासँग यसपटक चुनाव लडेका इन्जिनियर सागर ढकाललाई झोकिएर उत्तर फर्काएका थिए प्रधानमन्त्री देउवाले । ५ वर्षपछि भएको निर्वाचनमा ललितपुर ३ का मतदाताले प्रधानमन्त्रीलाई निर्धक्कसँग जवाफदेहिताको सवाल गर्ने डा. तोसिमालाई प्रतिनिधिसभा सदस्य चुनेको छ । ठूला दलका प्रभावशाली उम्मेदवार भन्दा अब्बल सावित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमाले सर्वसुलभ स्वास्थ्यमा सबैको पहुँच भन्ने मुद्दालाई विशेष जोड दिएकी छन् ।

तोसिमाबाट ललितपुर-३ ले मात्र होइन परिवर्तनको अभिलाषा राख्ने ठूलो जमातले अपेक्षा राखेको छ । विगतमा प्रधानमन्त्रीलाई प्रश्न गर्ने जिम्मेवार नागरिकको भूमिका निभाएकी तोसिमालाई अब प्रश्न गर्ने मात्र छुट छैन । युवा प्रतिनिधि डा. तोसिमाले जनताका अपेक्षालाई कसरी सम्बोधन गर्दै जानेछिन् भनेर हेर्न भने बाँकी नै छ ।

ज्ञानेन्द्र शाही

तश्विर : ज्ञानेन्द्र शाहीको सामाजिक सञ्जालबाट

भ्रष्टाचार विरोधी युवा अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र (ज्ञान बहादुर) शाही १० महिना अगाडि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका हुन् । राप्रपाका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । आम जनमानसलाई उनले विद्रोहका लागि उद्धेलित गराउन पनि सक्छन् अनि सपना देखाउन पनि सक्छन् । पार्टीको बलियो आधार नभएको जुम्लामा उनले दोब्बर मतले जित्नु भनेको चानचुने कुरा होइन । 

सरकारी कार्यालयमा छापा, उच्च अधिकारीहरूसँगको नोकझोक सामाजिक सञ्जालमा प्रसारण हुन थालेपछि सामाजिक सञ्जालमा चासो राख्ने नेपालीहरूको एउटा तप्कामा उनी ‘लोकप्रिय’ हुन पुगे । केही युट्युबरले गतिलै साथ दिएर चर्चित भएका ज्ञानेन्द्रको चर्को आवाज निकालेर विरोधमा उत्रिने शैली न्यून मध्यम वर्गमा प्रिय छ । कोभिडका समयमा ज्ञानेन्द्रले विभिन्न व्यक्ति तथा संघ संस्थाको आर्थिक सहयोग लिएर देशव्यापी राहत वितरणमा पनि निस्किएका थिए । शाहीले भ्रष्टाचार विरुद्धको महाअभियान भन्दै ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ समेत सञ्चालन गरेका थिए ।

 एसएलसीसम्म जुम्लामा पढेका ज्ञानेन्द्र काठमाडौँमा उच्च माध्यामिक तह पढेर भारतमा सीए पढ्न गएका थिए । यद्यपि उनको सीए पढाई भने पूरा भएको छैन । कर्णालीको विकट जिल्ला जुम्ला विकासको गतिमा बामे पनि सर्न सकेको छैन तर ज्ञानेन्द्रले भने जुम्लालाई संवृद्धिसँग जोड्ने उद्देश्य राखेका छन् । उनको प्रतिबद्धता छ- भ्रष्टाचार नगर्ने अनि हुन पनि नदिने ! सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा भ्रष्टाचार र सामाजिक बेथितिका विरुद्धमा कुर्लने ज्ञानेन्द्र अनियमितताको विरुद्धमा र सुशासनको वकालतमा संसद्‌मा कसरी प्रस्तुत हुन्छन् भन्ने प्रश्नको उत्तर पाउन भने केही समय पर्खिनै पर्ला।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *