“पासपोर्ट बोकेर विदेश पुगेँ, अब जनमत लिएर संसद् पस्छु”
देशमा रोजगारी नपाएपछि एक दशक अगाडि दुबईको एयरपोर्टमा ट्रली गुडाउने काम गर्नका लागि काभ्रेका प्रकाश लामा (३४) विदेशिएका थिए । त्यससमय भर्खरै १२ कक्षा उत्तीर्ण गरेका उनलाई स्नातक पढ्ने ठूलो रहर थियो तर विडम्बना उनको घरको आर्थिक अवस्थाले दिएन । पढाई पूरा नभएपछि वैदेशिक रोजगारीलाई रोजेका प्रकाशलाई त्यहाँ बस्दा देशको परिवेश र आफ्नो क्षेत्रको विकासको चासो खुब रहन्थ्यो । घरमुनि मोटरबाटो बन्यो बनेन ? प्लस टु पढ्न बनेपा धुलीखेल धाउनु पर्न छाड्यो कि छाडेन भन्ने उनलाई लागिरहन्थ्यो।
प्रकाश ट्रली ब्वाइ बनेर दुबईको एयरपोर्टमा ४ वर्ष काम गरे । एयरपोर्ट त्यस्तो ठाउँ थियो जहाँ उनीजस्तै नियति खेप्नु परेर विदेशिएका नेपालीसँग उनको दैनिक भेट हुन्थ्यो । उनलाई लाग्थ्यो, “देशमै केही गर्न खोज्दा खोज्दै अनि विद्यालय तह नसकिँदै सबै मेरो जस्तै विवशताले गर्दा विदेशिएका होलान् ।”
४ वर्षसम्म उनले दिनहुँ एयरपोर्टमा कामको लागि आएका नेपाली भेटे । वैदेशिक रोजगारीमा आउने सबैको समस्या साझा नै थियो – देशभित्र काम नै नपाउने, काम पाए पनि जीविको नै नचल्ने ।
रोजगारीका लागि दुबई पुगेका अन्य नेपाली युवाहरूलाई उनले सोध्ने गर्थे ‘किन विदेश आएको ?’ सबैको एउटै जवाफ हुन्थ्यो ‘ देशमै अवसर पाउने भए त किन आउनु पर्थ्यो र विदेश ?’
विदेशमा बस्दा उनले महसुस गरेको अर्को महत्वपूर्ण कुरा हो, नेपालमा राजनीतिक दल र सरकारले संधै युवालाई झुक्याई रहे, उनीहरुका लागि न्यूनतम काम पनि गरेनन् । तसर्थ, राजनीतिप्रति नै विदेशिएका युवालाई आक्रोश र वितृष्णा छ ।
त्यसपछि खै के भयो उनलाई दुबई बस्नै मन लागेन । अब देशमै फर्कन्छु, अवसर खोज्छु अनि पसिना बगाउँछु भन्ने लाग्यो ।
प्रत्येक दिन हजारौं नेपाली कामको लागि विदेश पुगिरहँदा उनी भने फेरी श्रमिक बनेर दुबई फर्किन्न भन्ने सोची नेपाल तीर लागे ।
प्रकाशले दुबई छँदै सोचेका थिए, “अब राजनीति गर्छु अनि आफूले सक्दो प्रयास गरेर बाध्यताबश विदेशीएका युवाका क्षेत्रमा केहि काम गर्छु”
उनी नेपालमा फर्किपछि राजनीतिमा लागे । युवालाई विदेशको दुःख सम्झाउन थाले । चार बर्षको वैदेशिक रोजगारीको यात्रा टुंग्याउँदै सन् २०१६ मा स्वदेश फर्किएका प्रकाश मंसिर चार गते हुन गइरहेको प्रतिनिधिसभा चुनावमा लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) बाट काभ्रे क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन् ।
युवालाई देशभित्रै रोजगारी र अवसर सृजना गर्न, उत्पीडित जाति तथा वर्गको अधिकार दिलाउन, नि: शुल्क स्वास्थ्य, शिक्षा तथा रोजगारीको ग्यारेन्टी गर्न, सडक, पुल, पुलेसा, मठमन्दिर, गुम्बालगायत विभिन्न धार्मिक सांस्कृतिक सम्पदाहरू निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने र यस कार्यमा विशेषगरी युवालाई नै परिचालन गर्ने उद्देश्यले उनी चुनावी मैदानमा होमिएका छन् । देश भित्रै रोजगारीको अवसर सृजना गरेर सकेसम्म वैदेशिक रोजगारीलाई रोक्ने लक्ष्य प्रकाशले लिएका छन् ।
उनी भन्छन्, “पासपोर्ट बोकेर विदेश पुगेँ, अब जनमत लिएर संसद् पस्छु ।”