रञ्जनाको चिन्ता: अब कसले माटो मुछ्ने, कसले पाला बनाउने ? (भिडियो कथा)
माटोसँग खेल्ने सीप नहुँदो हो त रञ्जना प्रजापति (सूर्यविनायक-भक्तपुर) को परिवारको जीवन कसरी चल्दो हो ? रञ्जनाको मात्र होइन उनका बुवा आमा र उनीहरूका पुस्तौं पुस्तालाई पनि जीविकोपार्जन गर्न सहयोग गर्यो उही माटोका भाँडा बनाउने चक्रले । माटोका दियो, कलश, मूर्ति, धुपौरो बनाउन उनी र उनका पुस्ताले यो कुम्हालेको चक्र घुमाइरहे अनि यो चक्रले पनि उनीहरूको जीवनको यात्रा अगाडि बढाउन सहयोग गरिरह्यो ।
रञ्जनालाई याद पनि छैन यो परिवारको सम्बन्ध माटोसँग कहिलेदेखि गाँसियो । वास्तवमा रञ्जना प्रजापतिको पुस्ताले माटोलाई ‘भगवान’ नै मान्दै आएका छन् । न मानुन् पनि कसरी, यही माटोले उनीहरूको घरमा चुल्हो बल्यो, घरमा ओत लाग्ने छाना लगाउन पाए, नानी बाबुलाई उचित शिक्षा दिक्षा अनि गुणस्तरीय जीवन दिन पाए । एउटा किसानलाई जति माटो प्यारो हुन्छ उत्तिकै प्यारो छ कुम्हाले पेशा अङ्गालेका रञ्जनाको पुर्खालाई ।
रञ्जनासम्मको पुस्ताले माटो र चक्रमा नै भविष्य देखे, पुर्खाको रोजीरोटी पनि यसैले धान्यो । हातमा सीप र पुर्खाले नै बनाइदिएको बजार भएको कारण कहाँबाट ने अनि के खाने भन्ने चिन्ता उनीहरूले लिनुपरेन । रोजीरोटीकै लागि संघर्ष गर्नुपर्ने नेपाली समाजमा प्रजापति परिवारको पुस्तौं पुस्तालाई माटोले नै उद्यमी बनायो, आत्मनिर्भर बनायो । माटोलाई शृङ्गारेर आएको मुनाफाले रञ्जनालाई खुबै खुसी पनि दिन्छ। तर उनलाई आउने पुस्ताले सयौँ वर्षदेखि चलिआएको माटोको भाँडा बनाउने पेसा धान्ने हुन् कि होइनन् भने ठूलो चिन्ता लाग्छ ।
“अहिलेको बालबच्चा मोबाइल, टि.भी बाहेक अरू कुरामा कहाँ ध्यान दिन्छन् र ? हाम्रै पुस्तामा सकिन्छ कि यो पेसा भन्ने लागिरहन्छ,” उनले गुनासो पोखिन् ।
उनलाई आफ्ना छोरा नातिले आफूले धानेको पेसा नधान्ने पीरसँगै माटो नपाउने पीर पनि खुबै लाग्छ । पहिला आफ्नै वरपर खन्दा सजिलै माटो पाइन्थ्यो ।अहिले प्लटिङ बनाएको ठाउँँबाट एक ट्रक माटोको २० देखि २५ हजार रुपैयाँसम्म तिरेर ल्याउनुपर्छ । त्यही पनि भाँडा बनाउन उपयुक्त माटो पाइने हो कि होइन टुङ्गो हुँदैन । भविष्यमा अहिले जेनतेन जुट्दै गरेको माटो पनि नपाइने चिन्तासँगै आफ्नो पुर्ख्यौली पेसा नै लोप हुने हो कि भन्ने डर रञ्जनालाई लाग्छ ।
माटोको भाँडा बनाउने पेसालाई समाजले पहिल्यैदेखि भुइँमान्छेले गर्ने काम भनेर वर्गीकरण गरिदिएको छ । सीमान्त समुदायले आफ्नो हात मुख जोर्न मात्र गर्ने यो पेसा वास्तवमा उद्यमको गतिलो आधार हुनसक्छ । माटोको भाँडाहरूको अभाव पहिले पनि थियो र अहिलेपनि उत्तिकै छ ।
विशेषत: तिहारमा पाला, मूर्ति धुपौरो लगायतका समानको माग धान्न यो समुदायलाई हम्मे हम्मे पर्छ । देशभर अधिकांश पाला यही भक्तपुर क्षेत्रबाट नै जानेहुँदा यहाँ जति पाला बनाएपनि धेरै भने हुँदैन सबै बिक्री हुन्छ ।
तिहारको समयमा रञ्जना अनि उनीजस्तै माटोको भाँडा बनाउने काम गर्दै आएकाहरु यतिबेला अन्य चिन्ता र कामकाजलाई छाडेर पाला बनाउनमै व्यस्त छन् ।
हेर्नुहोस्, माटोको भाँडा बनाएरै गतिलो आयआर्जन गर्दै आएकी उद्यमी रञ्जनासँग जीविकोले गरेको भिडियो कुराकानी: