साउदीमा ६ महिनादेखि मान्छेको जीवन बाँच्न नपाएका नेपाली श्रमिक (भिडियो)
सबै प्रकृया पुर्याएर साउदी पुगेका पथरी मोरङका प्रविण राई लगायतका ५ जना नेपालीहरूको अवस्था हेर्दा लाग्छ, नेपाली श्रमिकको कुनै अधिकार नै छैन.. उनीहरू शोषणकै हकदार हुन् । न्यूनतम मानवीय संवेदना पनि नभएको उक्त ठाउँमा उनीहरूले पाएको चरम कष्ट र श्रम शोषणलाई शब्दले व्यक्त गर्न सकिदैन ।
हेर्नुहोस् भिडियो – कहिले फर्केलान् साउदीमा शोषित नेपाली श्रमिक ?
हरेक दिन सास फेर्न गाह्रो हुने साउदीमा सात महिनादेखि ‘अनागरिक’ भएर बसिरहेका छन् प्रविण र ती अन्य नेपाली श्रमिकहरू । न बस्न लायक कोठा न स्तरीय खाना, पुराना थोत्रा गाडी, न झ्याल ढोका न एसी । समयमा तलब त परको कुरा साहुले पासपोर्ट र लाइसेन्स पनि जफत गरेर राखेको छ । साउदीको त्यो प्रचण्ड गर्मीमा बिना स्वास्थ्य सुरक्षा गाडी चलाउने, ढुङ्गा बोक्ने, बिग्रेका गाडी बनाउने सबै काम गर्न वाध्य छन् उनीहरू । दैनिक १२ घण्टा काम गरेर बाहिर बालुवामा खाट राखेर सुत्नु पर्ने अवस्था छ उनीहरूको । ३ महिनादेखि बिजुली बत्ती नहुँदा गाडीको लाइट बालेर खाना पकाउँछन् उनीहरू ।
सिनामंगल स्थित फजल इनटरनेशनल प्रा.लि मेनपावरबाट १ लाख ४५ हजार पैसा तिरेर ह्याभी ड्राइभरको रूपमा साउदी पुगेका प्रविण र अन्य नेपालीहरूले त्यहाँ पुगेको पहिलो दिनदेखि नै यो अमानवीय नियति भोगिरहेका छन् ।
उनीहरूले मेनपावर र सरकारलाई नगुहारेको पनि होइन । कसैले पनि आफ्नो पीडा गम्भिर रुपमा नलिएको उनीहरू बताउँछन् । अब त उनीहरूलाई यस्तो लाग्छ, “हाम्रो देश नै छैन, हामी कँही कतैका नागरिक नै होइनौं”
“मरूभूमिमा पुगेकै दिन बत्ती नभएको अँध्यारो कोठामा हामीलाई राखियो, न बत्ती न एसी हामी सुत्नै सकिएन र बाहिर बालुवामा आएर सुत्यौँ,” प्रविणले जीविकोलाई सुनाए
नेपालबाट जुन लुगा लगाएर गएका थिए अहिले पनि त्यही लुगा छ आङमा उनीहरूको, खुट्टाका चप्पल फेरिएका छैनन् ।
आफू ठगिएको र खुबै दुःख पाउने बुझेपछि प्रविण र उनका साथीहरूले आफ्ना परिवारलाई गुनासो राखिदिनु भनेर श्रम मन्त्रालयसम्म कुरा पुर्याए । त्यस समय किसान श्रेष्ठ श्रम मन्त्री थिए ।
परिवारले गुनासो पोखेपछि मन्त्रीले पनि ‘अब उनीहरूको उद्धार हामी गर्नेछौँ’ भनेर आश्वासन दिए । तर, आजभोलि भन्दाभन्दै मन्त्रालयमा मन्त्री नै फेरिइसके तर प्रविण अनि उनका साथीहरूको अवस्था भने झनै दयनीय हुँदै गइरहेको छ ।
मन्त्री फेरिएसँगै नयाँ श्रममन्त्री शेरबहादुर कुँवरले ‘मन्त्रीसँग श्रमिकको गुनासो’ नाम गरेको लोकप्रिय कार्यक्रम पनि सुरुवात गरे । उक्त कार्यक्रममा पनि प्रविणहरूले आफ्ना दु:खेसो पुनः सुनाए ।
त्यहाँ पनि उनीहरूको गुनासो GRB-3854053839 दर्ता नम्बरमा सूचिकृत गरियो तर त्यो गुनासो पनि ढड्डामा थुपार्ने काम मात्र भयो ।
सरकारले गुनासो नसुनेपछि साउदीमै बस्न बाध्य उनीहरूलाई नेपाल फर्कन पनि सहज छैन । पासपोर्ट कम्पनीको हातमा छ नेपाली ड्राइभिङ लाइसेन्स पनि कम्पनीले नै जफत गरेको छ ।
“भागौँ कसरी भागौँ, नभागौँ मरूभूमिमा कसरी बाचौँ” प्रविण भन्छन्, “जीवन जोखिममा छ, न बीमा छ न त औषधी उपचार न त कम्पनीले आइडी नै बनाइदिएको छ बाहिर निस्कियौँ भने प्रहरीको फन्दामा पर्ने र जेल जानुपर्ने डर उत्तिकै छ ।”
काम गर्ने क्रममा उनले औँलामा ठुलो चोट लागेको छ ।
उनी भन्छन्, “ढुङ्गाले च्यापेर औँलामा चोट पुग्यो, उपचार पाइन अनि सुर्ति खाने साथीहरूलाई चुना मागेर रगत रोकेँ अहिलेपनि बेलाबेला रगत निकै बग्छ ।”
प्रविण अनि उनका साथीहरूले खान बस्ने अनि उपचार त पाएका छैनन् नै, मरुभूमिमा पसिना बगाएर काम गरेको ज्याला पनि कम्पनीले समयमा दिँदैन । ओभरटाइम गराइन्छ तर त्यसको हिसाबकिताब नै हुँदैन उल्टै साहुले गाली र धम्की दिन्छन् ।
वैदेशिक रोजगार बोर्डले विदेशमा अलपत्र परेका नेपालीहरूलाई उद्धार तथा आर्थिक साहयता दिने भन्दै वर्षेनी बजेट छुट्याउँदै आएको छ । त्यसमाथि विदेशिने श्रमिक आफैँले पनि वैदेशिक रोजगारीमा जाँदा २५ सय रुपैयाँ बोर्डको कल्याणकारी कोषमा जम्मा गरेर जानु पर्ने नियम नै छ । तर, यसरी सरकार तथा श्रमिक आफैँले जम्मा गरेको अरबौँ रकम बोर्डको कोषमा थन्किँदा पनि वैदेशिक रोजगारीका क्रममा विदेशमा श्रम शोषण तथा ठगीमा परेका प्रविण जस्ता हजारौं नेपालीले राहत तथा उद्धार पाएका छैनन् ।
सरकारले आर्थिक वर्ष २०७९-८० मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि भनेर ११ अर्ब भन्दा बढी रकम छुट्याएको छ जसमध्ये झण्डै २ अर्ब रुपैयाँ वैदेशिक रोजगार बोर्डमा जान्छ । यसरी कल्याणकारी कोषको ६ अर्ब रुपैयाँ र सरकारले छुट्याउने अरबौँ रकम वैदेशिक रोजगारीमा खटिने श्रमिकहरूको हितमा प्रयोग भने हुनसकेको छैन ।
साउदीमा श्रम शोषणमा परियो, हामीलाई ठगियो भन्दै मोरङका प्रविण राई लगायतकाले पूर्व श्रममन्त्री किसान श्रेष्ठ र हालका श्रममन्त्री शेरबहादुर कुँवर अनि वैदेशिक रोजगार विभागसँग सहयोगका लागि गुहारेका रहेछन्, उनीहरूको उद्धार गर्न के कुराले रोक्यो सरकारलाई ? भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे र वैदेशिक रोजगार विभाग (उद्धार तथा राहत समन्वय शाखा) का निर्देशक डम्बर बहादुर सुनुवारलाई हामीले सोधेका थियौं ।
‘यथाशीघ्र नेपाली श्रमिकको उद्धार गर्ने र उनीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काइने’ जवाफ जीविकोलाई प्राप्त भएको छ ।
हेर्नुहोस् भिडियो – कहिले फर्केलान् साउदीमा शोषित नेपाली श्रमिक ?