चौंध छोराछोरीका २६ बर्षे बुबा गणेश
बाजुरा जिल्लाको ब्रह्मतोला गाउँका गणेश थापा १८ वर्षको उमेरमा नै ४ सन्तानको बुबा बने । अहिले उनी २६ वर्षका भए, हाल १४ जना छोरा छोरीका बुबा बनेका छन् ।
आजको समय परिवेशमा यति सानो उमेरमा धेरै सन्तानको जिम्मेवारी बोकेका गणेश विवाहित भने होइनन्। उनलाई १४ छोराछोरीको अभिभावकत्व भने प्राकृतिक विपत्तीले सुम्पियो । अथाह जिम्मेवारी चाँही कम उमेरमै उठाउन थालेका हुन् गणेशले ।
२०७२ सालको विनासकारी भुकम्पका कारण देशले ठूलो जनधनको क्षति बेहोर्नुपर्यो । बाजुरामा पनि भूकम्पको ठुलै क्षति पुग्यो । सयौँको मृत्यु भयो भने कति घरबार विहीन भए । त्यस समय गणेशले भर्खर प्लस टु सकाएका थिए । खुसीहुँदै बुबाले मोटरसाइकल किन्न पैसा दिएको अहिले पनि सम्झन्छन् गणेश । बुबाले मोटरसाइकल किन्न दिएको पैसाले गणेशको घरमा मोटरसाइकल त भित्रिएन तर त्यसबेला भूकम्पले आश्रय गुमेका बालबालिकाका लागि छाप्रो बन्यो । “मलाई अहिले पनि मोटरसाइकल किनौँ जस्तो लाग्दैन । बालबालिकाको जिम्मेवारी छ, मोटरसाइकलको सपना कहाँ देखिन्छ,” उनी भन्छन् ।
गणेशसँग अहिले आफ्नै मोटरसाइकल छैन । मोटरसाइकल किन्ने पैसाले बालबालिकाको ६ महिनाको खानपान पुग्छ भन्ने सोंचले गर्दा अहिलेसम्म मोटरसाइकल नकिनेको बताउँछन् ।
सुदूरपश्चिमको हिमाली जिल्ला बाजुराको ब्रह्मतोला डाँडामा अहिले उनको कन्सर्न बाजुरा नाम गरेको बालआश्रम छ । हाल १४ जना आश्रय र अभिभावकत्व गुमाएका बालबालिकाहरूको स्याहार सुसार त्यही गर्छन् उनी । कन्सर्नले आश्रय दिएका बालबालिकाहरू गणेशलाई बुवा भनेर बोलाउँछन् ।” बालबालिकाले बुवा भनेर बोलाउँदा उनलाई आफूमा धेरै ठूलो जिम्मेवारी आएजस्तै लाग्छ,” गणेश भन्छन् ।
सानो छाप्रोमा बालबालिकासँग ५ वर्ष बिताएका गणेशले व्यवस्थित आवास निर्माण सहयोगका लागि थुप्रै पहल गरे पछि २०७६ सालमा विभिन्न समाजिक अभियन्ताको सहयोगमा बालबालिका बस्न मिल्ने आश्रम बन्यो । आश्रय पाएका बालबालिकाहरूका लागि अहिले केही हदसम्म व्यवस्थित आश्रम त बन्यो तर खानपान शिक्षा, दिक्षा लगायतका जिम्मेवारी भने एक्लो गणेशको काँधमा छ ।
“छोराछोरी ठूला भए भनेर खुशी पनि लाग्छ तर जिम्मेवारी थपिदैं जाँदा कयौँ रात निदाउन सक्दिनँ” जीविकोसँग भलाकुसारीका क्रममा गणेशले कन्सर्न स्थापनाको सुरुवाती दिनहरू सम्झदै भन्छन्, “बालबालिका पाल्छु पढाउँछु भन्दा पहिला परिवार बाट नै सहयोग भएन । पारिवारिक सहयोग बिना नै मैले कन्सर्न सुरुवात गरे पछि बालबालिकाको मायाले परिवारलाई पनि पगाल्यो । अहिले मेरो काममा पारिवारिक साथ छ ।”
गणेश पढाईको सिलसिलामा रहँदा पनि बालगृहका लागि विभिन्न सहयोगका स्रोत जुटाउन हिँड्ने गर्छन् । हालसम्म उनले धेरै नै आश्वासन जुटाए तर सहयोगको स्रोत भने जुटाउन सकेका छैनन् ।
गणेश अहिले काठमाडौंमा स्नातककोत्तर अध्ययन गर्दैछन् । विद्यार्थी जिवनमै रहेका उनी १४ बालबालिकालाई पढाइरहेका छन् । बालबालिकाको रेखदेख गणेशको परिवारले गर्छन् । बालबालिकाको रेखदेखसंगै खानपान र अन्य खर्च गणेश आफैँले जोहो गर्छन् ।उनले बालगृह नजिकै पसल खोलेका छन् । त्यहाँको आम्दानी पूर्णरुपमा बालगृहमा खर्च गर्छन् ।
कन्सर्नमा रहेका बालबालिका त्यहाँकै एक सरकारी विद्यालयमा पढ्छन् । “अहिलेसम्म जेनतेन छोराछोरी हुर्कायौँ, अब उनीहरुलाई उच्च शिक्षा दिन सक्छु कि सक्दिन भन्ने कुराले पिरोल्ने गर्छ” गणेश भन्छन् ।
अभिभावक बन्दा थपिने जिम्मेवारी र संघर्ष बुझेरै पनि कोहि आश्रय विहीन बालबच्चा भेटे भने बालगृह मा संरक्षणका लागि पुर्याइहाल्छन् । गणेशले आश्रयबिहिन बालबालिकाहरुलाई साहारा दिइरहेको थाहा पाएर बालबालिका राख्न अनुरोध गर्दै धेरै फोनहरु पनि आउने गरेको गणेश बताउँछन् ।
नेपालको मानव विकास सूचकाङ्क हेर्ने हो भने बाजुरा जिल्ला देशकै ७७ औँ स्थानमा छ । शिक्षाको अभाव चरम गरिबी बाजुरमा विद्यमान हुँदा प्रत्येक साल त्यहाँ ठूलो संख्यामा आश्रयबिहिन बालबालिकाहरु थपिने गर्छन् ।
१४ जना छोराछोरीलाई राम्रो शिक्षा दिक्षा र आचरण सिकाउन सके पछि तिनै छोराछोरीले अर्को पुस्तालाई सक्षम बनाउन सक्छन् भन्ने आश गणेशमा छ । अहिले मासिक बालबालिको खर्च ४० देखि ५० हजारसम्म छ । स्थापनाकालमा कन्सर्नमा आएका छोराछोरी ठूला भए अब उच्च शिक्षा दिनुपर्छ त्यस बेला यो खर्च दोब्बर हुनेछ । “जे होस छाक कटाएर भए पनि छोराछोरीलाई पढाएर स्वावलम्बी बनाउँछु ।” गणेश दृढ हुँदै भन्छन् ।