भेटिवर खेती : बाँझो जमिनको उपयोगसँगै मनग्य आम्दानी (भिडियो)
“जाबो घाँसको खेतीले पनि पैसा कमाइन्छ र,” भेटिवर घाँसबारे कृषकहरूलाई बताएपछि यस्तो प्रतिक्रिया पाए श्याम गोयन्काले । तर उनले सम्झाउन छाडेनन्, “पैसा कमाउनु छ भने भेटिवर लगाउन नछाडौँ ।” उनको कुरा सुनेर गाँउमा केहीले भेटिवर घाँस लगाइ हेरौँ न त भनेर रोपे ।
झट्ट हेर्दा कुशजस्तो देखिने यो घाँस लगाएको ६ महिनामै मौलाउन थाल्यो । घाँस राम्रो भएर फैलिएपछि गाइबस्तुलाई के खुवाउँ भन्ने चिन्ता हट्नुको साथै जराबाट पनि तेल निकालेर बेचि आम्दानी पाएपछि किसानहरू खुसी भए ।
भेटिवर घाँस पानी नभएको सुख्खा ठाँउमा पनि उम्रन्छ । फेरी यसको कुनै सिजन नहुने हुँदा बार्हैमास बस्तुलाई के खुवाउँ के घाँस ल्याउँ भन्ने समस्या पनि हुँदैन ।
“कमालको घाँस हो नि भेटिवर, आम्दानी पनि दिन्छ विपत्त पनि रोक्छ,” श्याम गोयन्काले जीविकोसँग कुराकानी थाले । विगत ५ वर्षदेखि भेटिवर घाँसको फाइदालाई बुझेर यसको अनुसन्धान र खेतीलाई प्रोत्साहन गर्दै आएका श्याम नेपालमा पहिलो नीजि ब्रोडकास्ट टेलिभिजन (कान्तिपुर) का संस्थापक पनि हुन् । भेटिवर घाँसका फाइदा,यसको खेती गर्ने प्रविधी,र घाँस खेती गर्दा मुख्य ध्यान दिनु पर्ने कुराहरुको बारेमा जीविको डटकमले श्याम गोयन्कासँग छलफल गरेका छौ ।
के हो भेटिवर घाँस?
भेटिवर घाँस एकप्रकारको झार हो । यसको कुनै सिजन हुँदैन यो बार्हैमास जहाँ पनि उम्रन्छ । वैज्ञानिकहरू यसलाई क्रिसोपोगन जिजानियोइड्स भन्ने गर्दछन् । बोलिचालिमा चाहिँ यसलाई खस-खस् भनेर पनि चिनिन्छ ।भेटिवर घाँसको पात लामा लामा कमलो हुन्छ भने डाँठ चाँही दर्हो हुन्छ । बहुगुण भएको यसको जरा सुगन्धित हुन्छ। रोचक के छ भने यसको जराबाट तेल निकाल्न सकिन्छ जुन लिटरकै ३० हजार रूपैयाँ भन्दा महंगोमा बिक्ने गर्छ । रोचक कुरा त के छ भने १ लिटर भेटिवरको तेल बनाउनका लागि २ निरन्तर २ वटा बोटले वार्षिक दिने जरानै काफी हुन्छ । यदि यसलाई व्यवसायीक खेती गर्न सके क्षेत्रफल अनुरूपको ठूलो आम्दानी यो घाँसले दिन सक्छ ।
भेटिवर खेतीका लागि कस्तो ठाउँ उपयोगी हुन्छ ?
हरियाली जमिन होस् वा खण्डहर भेटिवर जहाँ त्यहिँ फस्टाउँछ । विशेषत अझ खण्डहर भूमिलाई खेतियोग्य बनाउनका लागि भनेर भेटिवर घाँसको प्रयोग गर्ने गरिन्छ । साथै यसलाई बिशेष माटो, हावा पानी र ठाउँको आवश्यकता नपर्ने हुँदा अम्लिय माटो होस् वा क्षारीय माटो भेटिभर राम्रोसँग फस्टाउँछ । बलौटे माटोमा पनि राम्रैसँग उम्रन्छ । यसलाई हिमाल देखि तराईसम्म उमार्न सकिन्छ । नेपालको हावापानी सुहाँउदो पनि छ यो घाँस नेपालका ७७ वटै जिल्लामा यसको खेती मज्जासँग गर्न सकिन्छ ।
यसका गुणहरूबारे बताइदिनुहोस् न ।
भेटिवर बढ्नलाई समय लाग्दैन छिटो रोपेर छिट्टै आम्दानी लिन सकिन्छ यसबाट । दैनिक ५ सेन्टिमिटरसम्म यो घाँस बढ्न सक्छ । रोपेको २ महिनामा नै यसले यसको उचित आकार लिइसक्छ । यसको अर्को फाइदा भनेको चाहिँ विपत्त व्यवस्थापनमा हुने फाइदा हो । यसको जरा यति लामो र मजबुत हुन्छ कि यसले सहजै बाढी पहिरो भूक्षय रोक्न सक्छ । चाँडो बढ्ने र जरा फैलने भएकाले कमजोर, बगिरहने माटोलाई निक्कै कडाइका साथ आपसमा मजबुती दिएर राख्ने गर्छ । यो घाँस हुर्किएको ६ महिनामा आफ्नो जराबाट यसले सञ्जाल बनाउँछ
र माटो समाउने जाली बनेर काम गर्छ । भेटिभरको जरा त फिल्टर पनि हो यसले पानीलाई छानेर सफा बनाउने समेत काम गर्दछ । जमिनमुनि १० फिटसम्म जान सक्ने भएकाले रोपेको ठाउँमा पहिरो जाने सम्भावना नै हुँदैन भने नदी आसपासमा लगाए कटानलाई सजिलै नियन्त्रण गर्न सकिन्छ। यसको पातको प्रयोग गरी इथानोल उत्पादन गर्न सकिन्छ । चिनी र उखुको वैकल्पिक रुपमा पनि यो घाँसलाई प्रयोग गर्न सकिन्छ । भारत र नाइजेरियामा त साँध छुट्टयाउनका लागि पनि यसको प्रयोग गरिएको छ । जिम्बाबे, मौरिससलगायतका मुलुकका किसानले बालीनाशक झारबाट बालीलाई जोगाउन यो घाँस लगाउने गरेका छन् । भेटिवरसहित नैपियर घाँस, सोइजन (मोरिङ्गा), बाँस, उखु, मकै, अश्वगन्धा, बेसार, गेडागुडी, फलफूल, तितेपाती, दलहनजस्ता बहुगुणी वालीको खेती गर्न सकिन्छ । अहिले मुलुकमा देखिएको विभिन्न प्रकारका खाद्यान्न, फलफूल, तरकारी, दलहन, तेलहन बस्तुको अभाव, खाद्य असुरक्षा र कुपोषणजस्ता समस्या पनि यसको खेतीबाट अन्त्य गर्न सकिन्छ ।
कसरी सम्भव हुन्छ भेटिवरबाट रोजगारी र आम्दानी ?
बहुआयामिक भेटिरवको प्रमुख आम्दानी जराबाट लिन सकिन्छ । जरा पेलेर तेल निकाल्ने अणि यसलाई बेच्ने गर्दा भेटिवरको तेलबाट मनग्य आम्दानी हुने गरेको छ । भेटिवरबाट प्रत्यक्ष र परोक्ष दुबै किसिमले आम्दानी लिन सकिन्छ । खोला नदि किनारको कटान हुने डर भएको माटोको वरपर भेटिवर रोप्न सके त्यस भूमिलाई सहजै सदुपयोग गर्न सकिन्छ र त्यहाँबाट प्रशस्त आम्दानी लिन सकिन्छ । नेपालको खेतीयोग्य भूमिको कुरा गर्दा नेपालमा बाढीले बगरमा परिणत गरेको करिब पाँच लाख हेक्टर जग्गा छन्। खेती नगरी राखेको जग्गा उति नै छ। भेटिभर घाँस खेतीको मद्दतबाट यो जग्गालाई सदुपयोगमा ल्याउन सकिन्छ बिरानो बगरलाई हरियाली बनाउन सकिन्छ । एकातिर किसानले राम्रो आम्दानी गर्ने स्रोत खोजिरहेका छन् । अर्कातिर रोजगारीको खोजीमा लाखौँ युवा विदेशिने क्रम भने रोकिएको छैन । दुवै समस्याको समस्याको अन्त्य गर्ने एउटै मात्र उपाय हो भेटिवर घाँस ।
एक हेक्टरमा भेटिवरको खेती गर्दा ३ देखि ४ टनसम्म जरा उत्पादन हुन्छ । यो जराबाट करिब १५ लिटर तेल उत्पादन गर्न सकिन्छ । यस्तो जग्गाको सदुपयोग गरी प्रमुख खाद्यान्नबाली, तरकारबाली, फलफूलबाली, गेडागुडीबाली, दालबाली, जडीबुटीजन्य वस्तुको पर्याप्त परिमाणमा दिगो उत्पादन गर्न सकिन्छ। साथै कृषिजन्य उद्योग कलकारखानालाई आवश्यक पर्ने विभिन्न प्रकारका कच्चा पदार्थ दिगो रूपमा उपलब्ध गराउनुका साथै सरकारी सहयोगमा २० देखि २५ लाख युवाशक्तिलाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्न सकिन्छ। यसमा बाढीले बगरमा परिणत गरेका जग्गाधनी किसानलाई पनि जोड्न सकिन्छ। यसका साथै बायोइनर्जीको ग्यारेन्टी, अर्थतन्त्रमा टेवा, खाद्य तथा पोषणयुक्त खाद्य पदार्थको उत्पादन र सुरक्षा, स्वच्छ वातावरण, रोजगारको ग्यारेन्टी, वैदेशिक व्यापार घाटालगायतका क्षेत्रमा ठूलो सहयोग गर्न सकिन्छ। यसको जरालाई पेलेर तेल बनाए आम्दानी राम्रो छ। भेटिवरले बगरमा परिणत भएको माटोभित्रको नकरात्मक तत्वलाई सोसेर माटोलाई उर्वर बनाइदिन्छ । मृत बनेको माटोलाई भेटिवरले पूर्ण रुपमा जीवित बनाइदिन्छ । भेटिवरमा नाइट्रोजन, फस्फोरस, पोटासियम, म्याग्नेसियमजस्ता पौष्टिक तत्व भएकाले यसले कम्पोष्ट मलको काम गर्छ । भेटिवरले कार्वनको मात्रालाई शोषण गरी यसको जराले जमिनमुनि पर्याप्त परिमाणमा नाइट्रोजन उपलब्ध गराएर माटोलाई उर्वर भूमिमा परिणत गरिदिन्छ ।
भेटिवरको पात र जराको प्रयोग गरी हस्तकलाका सामग्री निर्माण, अत्तर, सुगन्धित तेल, जलाएर चारकोल र ब्रिकेटजस्ता उपयोगी सामग्री निर्माण गर्न सकिन्छ ।
भेटिवर घाँस रोप्न लगानी कति लाग्छ ?
बगरमा परिणत जग्गामा २–३ बर्ष लगानी र अथक परिश्रम गर्नुपर्छ । तर यसपछि यसले ठूलो प्रतिफल दिन्छ । सुरुमै यो जग्गाको प्रयोग गरी ठूलो पैसा आर्जन गर्ने सोच र सपना देख्नु हुन्न । खर्चको मूख्य भाग जनशक्तिमै जान्छ । अन्त्यमाः बगरमा परिणत भएको र अन्य कारणले प्रयोगविहीन अवस्थामा पुगेको जग्गालाई भेटिवरको सहयोगमा सदुपयोग गर्दा कृषिमा देखिएको व्यापार घाटाको समस्या कम गर्न सकिन्छ । साथै जडिबुटी, उच्च मूल्यका कृषि उपज, इन्धन, अर्गानिक मल, फलफूल, तरकारी, गेडागुडी, भेटिवरका सहउत्पादनहरु, चिनी, कागज, डेरी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थमा आत्मनिर्भर हुन सकिन्छ । आवश्यकताभन्दा बढी भएको उत्पादनलाई निर्यात गरेर वैदेशिक मुद्रासमेत आर्जन गर्न सकिन्छ ।