युवाका क्षेत्रमा कस्ता काम गर्छ राष्ट्रिय युवा परिषदले?

जीविको २०७९ साउन २२ गते १८:०१

दशक अगाडिसम्म नेपालमा युवा केन्द्रीत नीति तथा रणनीति बनाउने कुनै विशेष संस्था थिएन । देशमा युवाहरुका आवाज सुन्ने, युवाका पक्षमा वकालत गर्ने छुट्टै निकायको आवश्यकतालाई ध्यान राख्दै युवानीति २०७२ र १० बर्षे युथ भिजन २०२५ तयार गरेर सार्वजनिक गर्‍यो । सोही रणनीतिलाई पूर्णता दिनका लागि एक छुट्टै निकायको आवश्यकता महसुस गर्दै २०७२ मा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेर राष्ट्रिय युवा परिषदको गठन भएको हो ।

देश विकासमा युवाहरूको भूमिका र सम्भव्यताको विस्तार गर्ने, युवा वर्गमा सीर्जनशिलता, उद्यमशीलता तथा अनुसन्धानात्मक क्षमता वृद्दि गरि देशको आधारभूत शक्तिको रूपमा युवाहरूका क्षमता उजार गर्ने, श्रमको सम्मान र संस्कृतिको विकास गर्दै संवृद्द देश बनाउने लक्ष्य राष्ट्रिय युवा परिषद्ले राखेको छ ।

नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको संघीय तह¸ प्रदेश तह र स्थानीय तहमा कार्यान्वयन तथा सोको लागि सहजीरकण गर्नुका साथै अन्य सरकारी तथा गैरसरकारी निकायहरुबाट सञ्चालित युवालक्षित कार्यक्रमहरुको समन्वय¸ सहकार्य र सहजीरकण गर्ने काम समेत परिषद्ले गर्दछ ।

सरकारी तथ्याङ्कले नेपालमा युवाको जनसङ्ख्या चालिस प्रतिशत रहेको देखाउँछ । झण्डै आधा जनसङ्ख्या भएको देशमा युवा केन्द्रीत कार्यक्रमहरू सञ्चालन गर्ने एकमात्र सरकारी संस्थाले युवाका क्षेत्रमा के कस्ता काम गरिरहेको छ भन्ने विषयमा ‍जीविकोले राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्मासँग संवाद गरेको छ, सोही संवाद्मदमा आधारित सामाग्री:

युवा नीति तथा रणनीति बिस्तार

राष्ट्रिय युवा परिषद्ले विशेषत युवाहरूका हक अधिकारहरूलाई स्थापित गर्नका लागि विभिन्न नीति तथा रणनीति बनाउने काम गर्दै आएको छ । देशमा भएका युवाहरूलाई समयअनुकुल अधिकार उपलब्ध गराउनका निम्ति युवा परिषद्ले युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकार समक्ष निरन्तर पहल गर्दै आएको छ । युवा परिषद्कै अगुवाइमा यसअघि युवा नीति २०७२ साथै युथ भिजन २०२५ निर्माण भएर कार्यन्वयनमा छन् । हालै मात्र राष्ट्रिय युवा परिषदले स्थानीय तह निर्वाचन अगाडि राजनीतिक दललाई युवाको प्रतिनिधित्व बढाउन अपिल पनि गरेको थियो ।

गुणस्तरीय र व्यवसायीक शिक्षा 

भाषिक र बौद्धिक क्षमता विकास गरेका युवाहरू अमेरिका, युरोप, अष्ट्रेलिया लगायतका देशहरूमा लाखौँ खर्च गरेर गुणस्तरिय शिक्षा लिनका लागि देशबाट पलायन भइरहेका छन् जसले गर्दा देशमा शिक्षित जनशक्ति कमि भइरहेको अवस्था छ । यो अवस्थालाई मध्यनजर गर्दै देशमै गुणस्तरीय युवा शिक्षा प्रदान गर्ने योजनाका साथ राष्ट्रिय युवा परिषद्ले काम गर्दै आएको छ । जसका लागि राष्ट्रिय युवा परिषद् अनुसन्धान अनुदान जस्ता कार्यक्रम मार्फत् युवाहरूलाई आफ्नो क्षमता विकास गर्ने कुरामा राष्ट्रिय युवा परिषद्ले प्लाटफर्म दिँदै आएको छ ।

रोजगारी र उद्यमशीलता

शारीरिक रूपमा उर्जाशिल युवाहरू भारतदेखि खाडीका विभिन्न देशहरूसम्म पलायन भइरहेका छन् । यसरी कम पैसामा जोखिम मोलेर अन्य देशमा रोजगारीका लागि युवाहरु पलायन भएको कारण नेपाली स्रोत तथा साधनको उपयोग हुन सकेको छैन । खेतबारी बाँझो नै बसेका छन्, यही कुरालाई मध्यनजर गर्दै स्वदेशमा नै उद्यमका सम्भवना पहिल्याउने र वैदेशिक रोजगारीमा पलायन हुने युवाको सङ्ख्या घटाउनका लागि युवा परिषद्ले निरन्तर काम गरिरहेको छ । एक शिक्षणसंस्था एक उद्यम कार्यक्रम, युवाका लागि विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम,  विज्ञान तथा प्रविधिमा युवा सम्मेलन, युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम, संघसंस्थाहरू तथा अन्य निकायसँगको साझेदारीमा युवा लक्षित कार्यक्रम,  युवा सञ्जाल गठन तथा परिचालन, युवा नीति तथा युवाका मुद्दाहरुमा वहस पैरवी गोष्ठी,  युवा परामर्श युवा अनुभव आदान प्रदान, घुम्तीकोषमा आधारित युवा उद्यम कार्यक्रम, युवा सम्बन्धी आवधिक तथा वार्षिक वुलेटिन प्रकाशन, युवा विकासका लागि सञ्चार माध्यमसँगको समन्वय र सहकार्य, युवा नवप्रवर्तन तथा इन्क्युवेसन सेन्टर सञ्चालन जस्ता कार्यक्रमहरु परिषद् मार्फत हुँदै आइरहेका छन् । 

सीप र तालिम 

सहुलियतपूर्ण कर्जाको सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम राष्ट्रिय युवा परिषद्ले सञ्चालन गर्दै आएको छ । परिषदले युवाहरुमा उद्यमशीलता विकासका लागि केन्द्रदेखि प्रादेशिक अनि स्थानीय तहमा यससम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ । 

युवा परिचालन, सहभागीता र नेतृत्व विकास  

नमुना युवा संसद, युवाक्लव गठन, संघीय नमुना युवा संसद अभ्यास, युवा स्वयमसेवक विकास तथा परिचालन, अपाङ्गता भएका युवाहरुका लागि सहयोग लगायतका कार्यक्रमहरु परिषद्ले सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमहरुलाई अपेक्षा अनुसार उपलब्धिपूर्ण बनाउन र समग्र नेपाली युवालाई शसक्तीकरणको लागि सिर्जनात्मक नवीन कार्यमा लगाउन, क्षमतालाई उजागर गर्न उद्यमशील र रोजगारीपूर्ण कार्यमा लगाउन सफलता प्राप्त हुन नसकेको यथार्थ छ त्यसैलाई अन्त्य गर्न राष्ट्रिय युवा परिषद्ले कर्जाका लागि आवश्यक पर्ने व्यवसायीक योजनाको बारेमा युवाहरूलाई बताउने गर्दछ । जसमा उत्पादन गर्ने वस्तु वा सेवा उत्पादन बिक्री, प्रक्रिया आवश्यक धितो, कर्जा लिन लाग्ने लागत बारेमा जानकारी दिने तथा सहुलियतपूर्ण कर्जासम्म युवाको पहुँच सहज बनाउन परिषद्ले काम गर्दै आएको छ ।

…………….

राष्ट्रिय युवा परिषद्ले गर्ने कामहरुका बारेमा विस्तृत रूपमा बुझ्नका लागि : वेबसाईट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *