जापानमा नेपालीलाई शुन्य लागतमा रोजगारी भनेको के हो ? (विज्ञसँगको अन्तर्वार्ता)
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रोजगार व्यवस्थापन महाशाखाका सहसचिव राजिव पोखरेलसँगको कुराकानी:
मलेसिया, कतार, साउदी, दुबई जस्ता खाडी मुलुक बाहेक नेपालीहरू अब वैदेशिक रोजगारीको लागि जापान पनि जान पाउने भएका छन् । नेपाल सरकारले शून्य लागतमा एकै पटक आठ सय ५० जनालाई रोजगारीको लागि जापान पठाउन तयारी सुरु गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकालाई रोजगारीको लागि पठाउन लागेको छ । मन्त्रालयको अनुसार कामको प्रक्रिया र कम्पनी अनुसार फरक फरक तलब सेवा सुविधा पाउने गरी जापानले कामदार लाने छ ।
हाल सम्म करिव ५ हजार ३ सय जनाले जापानिज भाषा र सीप परीक्षा पास गरिसकेको मन्त्रालयले जनाएको छ । जापान लाने प्रकृया रोकिए पनि जापानिज भाषा र सीपको परीक्षा भने सञ्चालन भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रोजगार व्यवस्थापन महाशाखाका सहसचिव राजिव पोखरेलले बताए ।
जापानले कामदारलाई विशिष्टीकृत दक्ष मोडल (एसएसडब्ल्यू) बाट कामदार लैजाने छ । यसअघि जापान सन् २०१९ मा तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टको पहलमा नेपाली नागरिकलाई शून्य लागतमा जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो ।
“विविध कारणले तीन वर्षअघिबाट रोकिएको सम्झौता सुरुवात हुन लागेको छ यो नेपाली कामदारका लागि खुसीको कुरा हो । हामी सकेसम्म छिट्टो कामदार पठाउने तयारीमा छौँ,” सहसचिव राजिवले बताए ।
सरकारले जापान सरकारसँग गरेको सम्झौता अनुरूप कृषि, मेकानिक्स, इलेक्ट्रिसियन लगायतका विभिन्न १४ क्षेत्रमा कामदार लैजाने छ ।जापान गएका कामदारहरूको करार सम्झौता ५ वर्षको हुने सहसचिव राजिवले जीविको डटकमलाई जानकारी दिए । दुई सरकारबीच भएको आपसी समझदारीमा कामदार छनोट प्रक्रियाका जापान फाउण्डेसनले गर्ने सहमति भएको छ । त्यस्तै कम्प्युटर परीक्षा भने प्रोमोटिकले गर्ने छ । यी दुवै परीक्षा उत्तीर्ण गर्ने कामदारले मात्र जापान जान पाउनेछन् । दुवै परीक्षामा उत्तीर्ण भएका कामदार नेपालको वैदेशिक रोजगार विभागको जापान इकाइमा सूचीकृत हुनेछन् । सूचीकृतहरू जापानका कम्पनी र एजेन्टले माग गरेअनुरूप विभिन्न कामका लागि जापान जाने प्रावधान हुनेछ । विभागको जापान एकाइमा कामदारको माग भएपछि कामको प्रकृति र परीक्षा पास गरेका नेपाली कामदारको क्षमतालाई म्याच गरेपछि सक्षम कामदार विभागले छनोट गर्ने छ । यसरी कामदार र काम म्याचिङ भएको खण्डमा विभागले कामदारलाई सि.आई अर्थात् योग्यताको प्रमाण पत्र प्रदान गर्ने छ यसरी प्रमाण पत्र पाएपछि सि.आई प्राप्त गरेका कामदार भिसा प्रक्रियाका लागि योग्य हुनेछन् सि.आई प्राप्त गरेका कामदारहरूले त्यसपछि भिसा प्रोसेस गर्न पाउने छन् जसका लागि कामदारले कागजपत्र सहित जापानिज दूतावास जानुपर्ने हुन्छ । भिसा प्राप्त भएपछि कामदार मेडिकल परीक्षण, बिमा र कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्नेछ । त्यसपछि जापान इकाई श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन् । श्रम स्वीकृतिपछि कामदार जापान जान पठाउँनेछन् ।
सुन्नुहोस्, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रोजगार व्यवस्थापन महाशाखाका सहसचिव राजिव पोखरेलसँग गरिएको छोटो कुराकानी :