पढाई लगत्तै स्वरोजगार बन्न यस्ता विषय पढौं !
एस्ईई पछि के पढ्ने ?

जीविको २०७९ साउन ११ गते २१:०९

‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ लाई हेर्दा वैदेशिक रोजगारीमा गएका २७.८ प्रतिशत नेपालीको मासिक तलब २० हजारभन्दा बढी छैन । हालै ब्लिट्ज मिडियाले ह्युम्यानिटी युनाइटेडसँगको साझेदारीमा सार्वजनिक गरेको उक्त प्रतिवेदनका अनुसार वैदेशिक रोजगारीमा हुनेहरू मध्ये आधा जनसंख्या (४९.७ %) मासिक ३० हजार कमाउन खाडीका देशहरूमा निम्न र जोखिमयुक्त काम गर्न बाध्य छन् । प्राविधिक शिक्षा, व्यवसायिक सीप र तालिम लिने हो भने मासिक २० देखि ३० हजार रुपैयाँ कमाउन विदेशिनु नै पर्ला र ?

एस्ईई उत्तिर्ण विद्यार्थीहरूलाई अबको यात्रा सृजनशील‚ उत्पादनमूलक र उपलब्धीपूर्ण होस् भन्ने शुभकामना सहित् यो सामाग्री:

……………….

एस्ईईको रिजल्ट आएपछि अधिकांश विद्यार्थीहरू विषय छनोटमै रुमलिरहेका देखिन्छन् । यसअघि धेरै अंक वा जीपीए ल्याएका विद्यार्थीले साइन्स, म्यानेजमेन्ट लगायतका विषय पढ्न पाउने र कम जीपीए ल्याएकाले मानविकी र शिक्षा सङ्कायको विषयहरू पढ्नु पर्ने बाध्यता थियो । त्यसबाहेक प्राविधिक शिक्षालाई ‘अन्तिम विकल्प’ का रुपमा छनोट गर्ने गरिन्थ्यो । एसईईपछि कुन विषय पढ्ने र कुन क्षेत्रमा आफ्नो करिअर बनाउने भन्ने निर्णयमा विद्यार्थीले र उनीहरूका अभिभावकले बेलैमा उचित ध्यान दिन सकेमा जीवनयापन सहज बन्न सक्ने बताउँछन्, जनस्वास्थ्य अधिकृत सरोज श्रेष्ठ । अथाह सम्भावना र अवसर हुँदाहुँदै पनि अझै पनि जनमानसमा ‘अन्तिम विकल्प प्राविधिक शिक्षा हो’ भन्ने मान्यताले नराम्रोसँग जरा गाडेको कारण अधिकांश विद्यार्थीहरू र तिनका अभिभावक विषय छनोटमै रुमलिनु परेको उनको धारणा छ ।

“प्राविधिक शिक्षाले तपाईंलाई १२ कक्षा बराबरको अध्ययनपछि सरकारी सेवामा प्रमुख भएर काम गर्ने अवसर दिन्छ । जब कि अन्य विषयमा त्यस्तो सम्भावना कमै हुन्छ ।” प्राविधिक शिक्षाको महत्व बुझाउँदै जनस्वास्थ्य अधिकृत सरोज  भन्छन्, “एसईई दिएका विद्यार्थीहरूलाई मेरो सुझाव प्राविधिक शिक्षा पढेर भविष्य सुनिश्चित गर्नुहोस्”

कास्कीका सरोज श्रेष्ठले २०७० सालमा एच.ए. पास गरेर केही समय गैरसरकारी संस्थामा काम गरे । त्यसको दुई वर्षमा उनले लोकसेवामा नाम निकाले । सरोजले भोजपुर जिल्लाको आमचोक गाउँपालिका अन्तर्गत रहेको सरकारी स्वास्थ्य सेवा केन्द्रमा प्रमुख भएर काम गरे । अहिले उनी जनस्वास्थ्य अधिकृत बनेका छन् । उनी मात्र होइन उनको श्रीमती पूर्णकला मगर पनि भोजपुरकै एउटा सरकारी स्वास्थ्य सेवा केन्द्रको प्रमुख हुन् । यो जोडीले नै प्राविधिक शिक्षा पढेका कारण यस्तो अवसर पाएको बताउँछन् । 

जनस्वास्थ्य अधिकृत सरोज श्रेष्ठ

सरोज भन्छन्, “मैले जीवनमा लिएको एउटा महत्वपूर्ण निर्णय भनेको प्राविधिक शिक्षा पढ्नु हो । पढाई कै दौरानमा काम गर्न पाइन्छ, पढाई पछि के गर्ने भन्ने तनाव हुँदैन । अझ यसमा उच्च शिक्षा गरियो भने त अवसरै अवसर छ ।”

पढाइ लगत्तै छोटो समयमै कमाइ गर्ने अवसरको खोजी गरिरहेका विद्यार्थीहरूलाई एस्ईई पश्चात प्राविधिक शिक्षा लिन सुझाव दिन्छन् ट्रेनिङ सेन्टर नेपालका निर्देशक अर्नराज सिलवाल । उनी भन्छन्, “प्राविधिक शिक्षा भनेको ‘रिटर्न अन इनभेस्टमेन्ट’ हो । प्राविधिक शिक्षा लिएकाहरूले स्वदेश तथा वैदेशिक रोजगारीमा समेत राम्रो काम र दाम पाएका छन् । नेपालमा सबै विषयलाई प्राविधिक शिक्षा बनाइनु पर्दछ र कोर्स लिएपछि विद्यार्थीहरूसँग सीप हुनु पर्दछ ।”

नेपालमा रोजगारीका हिसाबले ३ वटा क्षेत्र; पूर्वाधार तथा निर्माण, कृषि र सूचना तथा प्रविधी लगायतका विषयमा धेरै अवसर रहेको अर्नराज बताउँछन् ।

पछिल्लो समयमा विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा, मानविकी विषयमा भर्ना हुने विद्यार्थीसँगै रोजगारमुखी शिक्षाको रुपमा हेरिएको प्राविधिक शिक्षामा पनि विद्यार्थीको आकर्षण बढ्नुलाई सकारात्मक रुपमा हेर्छन् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)का सदस्य सचिव जीवनरायण काफ्ले । देशमा व्याप्त बेरोजगारीको अवस्था र पढाइ सकिएलगत्तै रोजगारी पाउने सम्भावनाले गर्दा नेपालमा प्राविधिक शिक्षा प्रति विद्यार्थीको मोह बढ्दै गएको उनले बताउँछन् । जीवनरायण भन्छन्, “एसइईमा सामान्य अङ्क ल्याइएकाहरूले प्राविधिक शिक्षाबाट सम्मान, पैसा र राम्रो जीवनयापन व्यतीत गरिरहेका उदाहरण धेरै छन् । तसर्थ, अब कस्ता विषय पढ्दा अवसर र सम्भावना धेरै छन् भन्ने बारेमा विद्यार्थी र अभिभावकले राम्रोसँग अध्ययन गर्नु पर्दछ ।” 

जीवनरायणका अनुसार प्राविधिक तथा व्यवसायिक शिक्षाले छोटो समयमा धेरै अवसरहरु दिलाउने र स्वदेश तथा विदेशमा प्राविधिक शिक्षा लिएका जनशक्तिको माग उच्च रहेको छ ।

पढ्नुहोस्: प्राविधिक शिक्षा लिएर सम्मानजनक जीवन बिताइरहेका उदयपुरका २६ वर्षीय मिलनको कथा

पढ्नुहोस्: डाक्टर इन्जिनियर मात्र होइन, डकर्मी बन्ने लक्ष्य पनि राख्नुपर्छ :अर्नराज सिलवाल, निर्देशक-ट्रेनिङ सेन्टर नेपाल

प्राविधिक र व्यावसायिक शिक्षाको अभिवृद्धि गर्ने र सीपयुक्त जनशक्ती उत्पादन गर्ने उद्देश्यले २०४५ सालमा स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले ३ दशकदेखि पढाई लगत्तै रोजगारी पाउने वा स्वरोजगार बन्न सक्ने विभिन्न प्राविधिक कोर्सहरू सञ्चालन गर्दै आइरहेको छ । सिटिइभिटीले एसईई उत्तीर्णलाई ३ वर्षे डिप्लोमा-प्रमाणपत्र तह र १८ महिने प्री-डिप्लोमा (सब-ओभरसियर) कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म परिषदबाट डिप्लोमा-प्रवीणता प्रमाणपत्र तहमा ४० भन्दा बढी प्राविधिक एसईई सरहका २५ वटा पाठ्यक्रमहरु तयार गरी कार्यक्रम सञ्चालन हुँदै आएको छ । सीटीईभीटीको तथ्याङ्क अनुसार प्राविधिक शिक्षा र तालिम प्राप्त जनशक्तिको रोजगार दर अत्याधिक छ। हालै मात्र सिटिइभिटी र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले मिलेर गरेको एक अध्ययन अनुसार हालसम्म प्राविधिक शिक्षा अध्ययन गर्नेहरूको रोजगारको दर ६० प्रतिशतभन्दा बढी रहेको छ भने बाँकी ४० प्रतिशतमध्ये अधिकांशले सम्बन्धित विषयमा नै उच्च शिक्षा अध्ययन गरेको देखिएको छ ।

के कस्ता विषयहरु पढ्न सकिन्छ ?

एस्ईई पछि पढ्न सकिने विषयहरू बुझ्न यहाँ क्लिक गर्नुहोस् : प्राविधिक शिक्षाका विषयहरू

प्राविधिक शिक्षा पढाइ हुने ठाउँ : CTEVT सम्बन्धन संस्थाहरू

एस्ईई पछि प्राविधिक शिक्षा पढ्न आवश्यक न्यूनतम योग्यता ( ग्रेडमा)

स्वास्थ्यतर्फ 

जनरल मेडिसिन (एच.ए.) ३ वर्षको कोर्स: यो विषय पढ्नेले स्वास्थ्य चौकी, स्वास्थ्यसम्बन्धी सरकारी, गैह्रसरकारी तथा निजी  संस्थामा काम गर्न पाउँछन् । उच्च शिक्षाका लागि स्नातक तहमा जनस्वास्थ्य (पब्लिक हेल्थ) र एमबीबीएस अध्ययन गर्न पनि सक्छन् । 

त्यस्तै, सीटीईभीटीले उत्पादन गर्ने सबैभन्दा बढी जनशक्ति स्टार्फ नर्स हो । नर्सिङ पनि ३ वर्षको नै कोर्स हो । स्टार्फ नर्स गर्नेले दुई वर्षको कार्य अनुभव लिएर स्नातक नर्सिङ अध्ययन गर्न सक्छन् । बिगत लामो समयदेखि नेपालमा र मुलुक बाहिर स्टाफ नर्सको माग धेरै छ । 

ल्याब असिसटेन्टका रुपमा जागिर खानका लागि मेडिकल ल्याब टेक्नोलोजी विषय पढ्न सकिन्छ । डिप्लोमा इन रेडियोग्राफी, डिप्लोमा इन डेन्टल साइन्स, डिप्लोमा इन फार्मेसी जस्ता विषय पढ्नेहरुको माग पनि उत्तिकै बढ्दो छ। विभिन्न अस्पताल, औषधि व्यवस्था विभाग, औषधि कम्पनीमा जागिर गर्ने प्रयाप्त अवसरहरु यसबाट पाउन सकिन्छ ।

कृषि तर्फ 

कृषिमा डिप्लोमा (पशु विज्ञान, प्लान्ट विज्ञान), खाद्य र डेरी टेक्नोलोजीमा डिप्लोमा

इन्जिनियरिङ तर्फ 

सिभिल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, जियोमेटिक्स, कम्प्युटर, सूचना प्रविधि (IT), आर्किटेक्चर, हाइड्रोपावर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स, अटो मेकानिकल, बायो मेडिकल ईक्विपमेन्ट , Ref A/C विषयहरुमा डिप्लोमा इन्जिनियरिङ

आतिथ्य-सत्कार (हस्पिटालिटी) र अन्य 

होटल व्यवस्थापनमा डिप्लोमा, उद्यमशीलता विकासमा डिप्लोमा, सामाजिक कार्यमा डिप्लोमा, वन विज्ञानमा डिप्लोमा

प्री-डिप्लोमा (सब-ओभरसियर) अन्तर्गत यस्तै विषयहरुमा १८ महिने कोर्स लिन सकिन्छ । परिषद्ले  सञ्चालन गरेका अधिकांश विषय कामपछिको रोजगारीको महत्व बोकेको छ।

रोजगारी, स्वरोजगारी र उच्च शिक्षाका लागि प्राविधिक शिक्षा उत्तम विकल्प : अनिलमुनि, उपनिर्देशक (सीटीईभीटी)

प्राविधिक शिक्षाले हाम्रो दैनिक जीवनलाई सहज त बनाउँछ नै त्यसबाहेक अध्ययन लगत्तै र कतिपय अवस्थामा अध्ययनको दौरानमा नै तपाईंले कमाइ गर्नसक्नुहुन्छ, अन्य विषयमा भने यो लाभ बिरलै देखिन्छ । सरकारले पनि आफ्ना नीति तथा कार्यक्रममा प्राविधिक शिक्षालाई महत्वपूर्ण स्थान दिएको छ । सन २०३० सम्म प्राविधिक शिक्षा पढ्ने जनशक्ति ७० प्रतिशत पुर्‍याउने र सोही अनुपातमा  प्राविधिक विद्यालयहरू पनि विस्तार गर्दै जाने सरकारको योजना रहेको छ । 

अर्को महत्वपूर्ण कुरा भनेको, अन्य विषय पढेर जागिर खोज्नु पर्छ तर प्राविधिक शिक्षा पढियो भने तपाई आफै स्वरोजगार बन्न सक्नुहुन्छ । बजारको माग हेरेर प्राविधिक शिक्षा लिनुभयो भने पढेर के गर्ने भन्ने दुबिधा नै हुँदैन । तसर्थ, प्राविधिक शिक्षाले जागिर खानेभन्दा पनि स्वरोजगार बन्ने अवसर दिन्छ तपाईंलाई ।

स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा होटल म्यानेजमेन्ट अर्थात् आतिथ्य सत्कारका विभिन्न विषयहरू पढेर स्वदेश तथा विदेशमा राम्रो अवसर प्राप्त गर्न सकिन्छ । काठमाडौँलगायत देशका मुख्य शहरहरूमा मात्र होइन नेपाल अधिराज्य भरिनै प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीका आङ्गिक, सामुदायिक तथा साझेदार शैक्षिक संस्थाहरू  छन्  जहाँ गएर तपाईंले सहजै प्राविधिक शिक्षा लिन सक्नुहुन्छ ।

हालै मात्र सिटिइभिटी र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले मिलेर एउटा अध्ययन गरेको थियो । यस अध्ययन अनुसार हालसम्म प्राविधिक शिक्षा अध्ययन गर्नेहरूको रोजगारको दर ६० प्रतिशतभन्दा बढी रहेको छ भने बाँकी ४० प्रतिशतमध्ये अधिकांशले सम्बन्धित विषयमा नै उच्च शिक्षा अध्ययन गरेको देखिएको छ ।

सिटिइभिटीले दुई प्रकारका लामो अवधिका कोर्सहरू सञ्चालन गरिरहेको छ । प्री-डिप्लोमा (सब-ओभरसियर) जुन डेढ वर्षको हुन्छ भने अर्को हुन्छ ३ वर्षको डिप्लोमा कोर्स । यस अन्तर्गत स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा होटल म्यानेजमेन्टका बिभिन्न कोर्सहरू पढ्न पाइन्छ र यसका लागि धेरै खर्च लाग्ने पनि होइन । डेढ वर्षको प्री-डिप्लोमा (सब-ओभरसियर) कोर्स पढ्न चाहनुहुन्छ भने औसतमा १५ हजारदेखि २२ हजारसम्म लगानी गरेर सिटिइभिटीका आंगिक स्कुलमा पढ्न पाइन्छ । यसका अलावा सिटिइभिटी  सम्बद्ध प्राविधिक शिक्षा पढाइ हुने सामुदायिक विद्यालय र  साझेदार विद्यालयमा  पढ्ने हो भने ५५ हजारदेखि ६५ हजार रुपैयाँसम्ममा डेढ वर्षको कोर्स लिन सकिन्छ ।

अब कुरा गरौँ ३ वर्षे डिप्लोमा कोर्सका बारेमा; यसमा पनि स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा होटल म्यानेजमेन्टका बिभिन्न कोर्सहरू पढ्न पाइन्छ । प्री-डिप्लोमाभन्दा यो कोर्स अझै ब्यापक र अवसर पनि उत्तिकै छ । सिटिइभिटीका आंगिक स्कुलमा पढ्न चाहनुहुन्छ भने ३ वर्षको औसतमा ८५ हजारदेखि १ लाख ६० हजारसम्म लगानी गर्नु पर्दछ भने सिटिइभिटी  सम्बद्ध प्राविधिक शिक्षा पढाइ हुने सामुदायिक विद्यालय र साझेदार विद्यालयमा पढ्दा १ लाख ७५ हजारदेखि १ लाख ९० हजार रुपैयाँसम्ममा ३ वर्षको डिप्लोमा पढ्न सकिन्छ ।

अन्य विषयको तुलनामा प्राविधिक शिक्षाका प्री-डिप्लोमा र डिप्लोमाको पढाई खर्चलाई न्युन नै मान्नु पर्दछ ।

प्राविधिक शिक्षा पढ्ने हो भने फाईदा नै फाईदा छ । हातमा सीप अनि बजारमा उच्च माग भएपछि जागिरका लागि भौतारिरहनु पर्दैन । एक त यसको लागत कम छ त्यसबाहेक पनि उच्च शिक्षा गर्न चाहने हो भने पनि बिकल्प राम्रै छ । रोजगारी, स्वरोजगारी र उच्च शिक्षाका हिसाबले पनि प्राविधिक शिक्षा पढ्नु भनेको उत्तम विकल्प हो ।

हाम्रो देशमा अहिले उद्यमी बन्ने सोचको विकास हुँदै गएको छ । अन्य विषय पढेका व्यक्तिहरु भन्दा प्राविधिक शिक्षा पढेकालाइ उद्यमी बन्न धेरै सहज र सम्भावना पनि उत्तिकै छ ।

प्राविधिक शिक्षाका बारेमा बुझ्न पनि सजिलो छ । सिटिइभिटीका सातवटै प्रदेशमा यस कार्यालयहरु छन्, तपाईंलाई जहा सहज हुन्छ त्यहाँ गएर बुझ्न सक्नुहुन्छ । त्यस्तै वेबसाईट, सामाजिक सन्जाल र टेलिफोनका माध्यमबाट पनि यसका बारेमा थप जानकारी लिन सकिन्छ । सिटिइभिटीका आंगिक स्कुल, सम्बद्ध प्राविधिक शिक्षा पढाइ हुने सामुदायिक विद्यालय र साझेदार विद्यालयमा गएर पनि तपाईंले बुझ्न सक्नुहुन्छ । प्राविधिक शिक्षा नै पढेकाहरु वा पढेर रोजगार वा स्वरोजगार बनेकाहरुलाई नै सोध्नुभयो भने पनि यसका सम्भावना र अवसरका बारेमा पूरा जानकारी पाउन सकिन्छ ।

तसर्थ, एस्ईई उत्तिर्ण गर्नुहुने सबैलाई मेरो सुझाव; कुन विषय पढ्ने भनेर निर्णय लिने भन्ने कुरा तपाईंको नितान्त अधिकारको कुरा हो । तर पढेपछि यसका सम्भावना र अवसरहरु के के छन् भन्ने बारेमा भने तपाईंले मेहेनत गरेरै बुझ्नु पर्दछ । पढाई सकिएपछि धेरै विद्यार्थीहरू अब के गर्ने भन्ने दुविधामा हुन्छन् तर कुनै पनि विषय पढ्नुभन्दा अगाडि नै त्यसका दुविधाहरुका बारेमा प्रष्ट हुनुपर्दछ र उचित समयमै सही निर्णय लिनुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *