लोपोन्मुख आरन पेसा: लाखौं हुन्छ आम्दानी, संरक्षण कसले गर्ने ?
काठमाडौं, चन्द्रागिरी-०६ स्थित दाउराडिपोमा जस्ताले वरिपरि बेरेर बनाएको घरमा बाहिरैबाट टङ.. टङ.. घन ठोकेको आवज सुनिन्छ ।
ढोकाबाट भित्र छिर्ने बित्तिकै हपक्क आगोको रापले जिउ नै तातेर आउँछ । माटोको टुडोमा गोलको आगोको भुक्रो रन्किएको थियो । भुङ्ग्रोमा फलाम तात्तिएर रातो भइसकेको थियो । यसरी तात्तिएको फलामलाई दायाँ हातले सनासुले च्याप्प समातेर फलामको लीँ माथि राखेर दाँया हातले आफूसँगै राखेको हम्बर उठाएर फलामलाई ठोक्न थाले, ३९ वर्षीय राजन सुनार ।
राजनको वरिपरि बनाउन ल्याएका कोदालो, हसिँया, बञ्चरो थिए । आरनको कुना कुनामा २० बोराजति गोलका धोक्रोहरु राखिएको थियो । आगो फुक्ने मेसीन, आगोको टुँडो औजारमा धार लगाउनका लागि चाहिँने पानी राख्ने ढुंगो र आरनमा आवश्यक पर्ने हम्बर, सनासो, घन, छिना थिए ।
जस्ताले बेरेर बनाएका राजनको आरनमा फलामबाट बन्ने सबै प्रकारका सामान बन्छ । खुकुरी, बन्चरो, हँसिया, कुटो, कोदालो, फाली, छिनो,जस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान नयाँ बनाउने र पुरानो भएकालाई मर्मत गर्ने काम पनि उनी यही गर्छन् ।
विगत ७ वर्षदेखि आरन व्यवसाय गर्दै आएका राजन २०७२ सालको भूकम्प अगाडिसम्म कहिले गाडीमा सहचालक त कहिले अरुकोमा सुनचाँदीका गहना बनाउने काम गर्थे । यसरी अर्काको काम गरेर उनको आर्थिक अवस्था त्यत्ती सुध्रन सकेन । भनेको बेलामा पैसा नपाउने, थोरै रकममा धेरै काम गर्नुपर्ने र परिवारको जिम्मेवारि पुरा गर्न नै धौँधौं परेको कारण राजनले आफ्नै व्यवसाय गर्ने सोच बनाए । कुनै ठूलो व्यापार व्यवसाय गर्न उनीसँग बचत थिएन, यस्तो अवस्थामा कस्तो काम गर्न सकिएला भन्दै घोत्लिदै गर्दा दिमाखमा आइडिया आयो – बाबु बाजेले नै आंगालेको पेसा अर्थात्, आरन संचालन गर्ने ।
“बच्चै बेलादेखि देख्दै आएको काम भएकोले मलाई सिक्नु पनि परेन । यो व्यवसाय सुरु गर्नको लागि त्यत्ती धेरै पैसा पनि नचाहिने । त्यसैले जति हन्डर खाए पनि अन्तमा बाबुबाजेले गरेकै कर्म सनासु समाउने निर्णय गरे,” राजन भन्छन् ।
पछिल्लो समय विशेषगरी दलित समुदायमा बाबु बाजेले गरेको पुर्ख्यौली पेशालाई ब्यवसाय बनाएर अघि बिरलै भेटिन्छ । आरन काम गर्नेलाई समाजमा तल्लो दर्जाको रूपमा व्यवहार गर्ने भएको हुनाले पनि पछिल्लो समयमा दलित समुदायका युवाहरूले यो पेशालाई पछ्याउन चाहेनन् तर राजनले भने कामलाई सम्मान गरेर पुर्ख्यौली पेशा नै रोझे ।
“मेरो लागि लाज भन्दा पनि पैसा ठुलो थियो । घर परिवार पाल्न काम नगरी भएन, जागिर खान पढाई थिएन । मैले कामलाई ठूलो सानो सोचिन । यो कामलाई नै अगाडि बढाउने निधो गरें । जे गरे पनि मेहनत गरेर पैसा कमाए भैगोनी नि होइन र ?” पसिना पुछ्दै राजन प्रश्न गर्छन् ।
पछिल्लो समयमा धेरै युवाहरू आफ्नो परम्परागत पेशाभन्दा पनि अन्य पेशा व्यवसाय तथा वैदेशिक रोजगारीमा जान थालेका छन् । राजनको ३ दाजुभाइमा उनले मात्र आरन व्यवसाय गरेका छन् । बाँकी एकजनाले पसल गरे भने अर्का भाइ विदेश गए ।
राजनले पनि वैदेशिक रोजगारीमा जाने नसोचेका भने होइनन् । आर्थिक अभावका कारण परिवार धान्न कठिन परेपछि ॠणमाथि ॠणको भारी थपिदै गयो । ॠणको भुमरीबाट उम्कन विदेश जाने सोचेका उनले दुबई जान १ लाख रुपैयाँ साथीभाइसँग सापटी लिएर मेनपावरलाई बुझाए। “आज भिसा आउँछ भोलि आउँछ भन्दै दलालले झुलायो तर भिसा आएन । न विदेश जान पाएँ न त पैसा नै फिर्ता पाएँ । दश बीस रुपैयाँ गरेर जोडेको मेरो पैसा यत्तिकै डुब्यो,” राजन भन्छन् ।
आफू ठगिए पछि राजनले आरन काम गर्दै आएका आफ्नो मामासँग सोधे ‘यो कामबाट कत्तीको कमाई हुन्छ ?’ मामाको कुरा आयो ‘मजाले हुन्छ, खट्न सक्यो भने तिमी विदेश जानु पर्दैन’, यसरी मामाको जवाफले राजनलाई हिम्मत मिल्यो अनि आरनकै काम गर्ने निधो गरे ।
“खाडीको ५० डिग्री तापमा खटिनुभन्दा, आरनको आगोमा रापिनु ठीक लाग्यो,” राजन सन्तुष्ट हुँदै भन्छन् ।
राजनजस्ता केही युवाहरुले यो पेशा सम्हाले पनि धेरै युवाको रोजाइमा यो पर्दैन । गोदावरी नगरपालिका ५, टिकाभैरबका ८५ वर्षिय मुरली रसाइली अहिले आरन काममा आफ्ना छोराहरु नलागेकोले दिक्क मान्छन् । “मैले बाउको बिडो थामें, बाउले हजुरबाको, हजुरबाले पनि आफ्ना बाबु बाजेकै काम अघि बढाएका थिए । तर मेरा ४ छोरा सबै विदेशिए, कसैले पनि यो काम गर्ने रुचि देखाएनन् । आफुलाई उमेरले दिँदैन अहिले । खोइ अब त आरन पेसा नि थियो र भन्ने दिन आउन टाढा छैन,” निराश हुँदै मुरली बताउँछन् ।
आरनबाट सजिलै मनग्य आम्दानी नहुनु, शारीरिक श्रम धेरै गर्नुपर्ने अनि यो काम गर्नेलाई अझै पनि तल्लो दर्जाको रुपमा व्यवहार गर्ने हुँदा युवाहरुले यसलाई नरोजेको हुनसक्ने मुरली ठान्छन् । “पहिले–पहिले वर्षभरि फलाम ठटाए बापत दुई-चार पाथी अन्न (बाली घरे प्रथा) पाइन्थ्यो । त्यतिबेला काम अनुसारको दाम हुनुपर्छ भन्ने थिएन । बेला अनुसारको अन्न, तरकारी, चामल, पिठो जे छ त्यही दिन्थे । तर अहिले त्यो चलन हराएको छ, अहिलेका मान्छेहरू बलको काम पनि गर्न सक्दैनन् हाम्रो जस्तो जमाना छैन ।” मुरली आफ्नो अनुभव सुनाउँछन् ।
कच्चा फलामलाई आगोमा तताएर त्यसबाट आवश्यक सामानमा ढाल्न ठुलो मेहेनत गर्नुपर्ने हुन्छ । आगोमा बसेर काम गर्ने हुँदा तातो राप त सहनु पर्छ नै, फलाम पिट्न धेरै बल पनि लगाउनु पर्छ अनि मात्र आफूले भनेको सामान बन्छ । यती मात्र होइन, कुन सामान बनाउन लागेको हो त्यसलाई आकारमा ल्याउन दिमागको पनि त्यतिकै उपयोग गर्नुपर्ने हुन्छ आरनमा । तर यसरी दिनरात शारीरिक र मानसिक कसरत गर्नु पर्ने काम भएता पनि राजन भने खुशी छन् । “काम भन्ने कुरा सजिलो त हुँदैन, जे गर्न पनि गाह्रो त हुन्छ नै । यो काममा बल लगाउनु पर्छ तर फलाम पिटेर सामान मात्र होइन पैसा पनि त बनाइराखेको छु,” मुसुक्क हाँस्दै राजन सुनाउँछन् ।
परम्परागत सीपमा आधारित आरनमा सबैभन्दा ठूलो भूमिका गोलको हुन्छ । पहिले जङ्गलमा गएर दाउरा काटेर गोल बनाउने चलन थियो । तर अहिले सामुदायिक वनले गोल पोल्न निषेध गरेपछि घरमा खाना बनाउँदा पारेको गोल ल्याएर काम गर्ने गरेको राजन बताउँछन् । उनले १ बोरा गोलको ७ सय रुपैयाँमा ल्याउने गरेका छन् भने फलाम कवाडीबाट उठाउने गरेका छन् ।
दलित समुदायभित्रका विश्वकर्मा जातिले विशेषरुपमा अंगाल्दै आएको आरन व्यवसाय बजारमा पाइने विभिन्न प्रकारका रेडिमेट औजारले गर्दा लोप हुँदै गएको छ । तर यो व्यवसायलाई पनि परम्परागत रुपमाभन्दा समयअनुकुल परिमार्जन गर्दै अघि बढाउन सक्ने हो भने यसबाट राम्रै आम्दानी गर्न सकिन्छ भन्छन्, राजन । २ छोराछोरी र श्रीमान श्रीमती गरी ४ जनाको परिवार रहेको राजनले आरन पेशाबाटै बालबच्चाको पठनपाठन र परिवारको गुजारा चलाएका छन् । आरनबाट हुने आम्दानीले खान बस्न र पसलको भाडा तिरेर पनि उनको राम्रै बचत हुनेगरेको छ ।
“बिहानदेखि बसे पछि केही भएन भन्दा पनि २ हजारदेखि २५ सय कहिँ कतै जाँदैन । कहिले त ३ हजारभन्दा पनि माथि नै कमाइ हुन्छ,” राजन बताउँछन् ।
कमाइ राम्रो हुने भएतापनि अहिलेका युवा बर्गमा यस पेसाप्रति आकर्षण नहुँदा भोलिका दिनमा आरन व्यवसाय बन्द हुने हो कि भन्ने उनलाई चिन्ता लाग्छ । उनी चिन्तित हुँदै भन्छन्, “मैले त परम्परागत पेसा जोगाएँ आउने पुस्तामा आरन नै लोप हुने होकी भन्ने डर छ ।”
सरकारले पुर्ख्यौली पेसा व्यवसाय अंगाल्ने दलित समुदायका उद्यमीहरूलाई दश लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । जसअनुसार परम्परागत बजाउने बाजा निर्माण तथा खरिद गर्न, सिलाइ कटाइ तालिम सञ्चालन तथा सिलाइ मेसिन खरिद गर्न, फलाम, कोइला आदि वस्तु खरिद बिक्री गर्न, आरन बनाउन चाहिने सामग्री खरिद तथा निर्माण गर्न, जुत्ता बनाउनका लागि चाहिने कच्चा पदार्थ, प्रशोधित छाला, जुत्ता, चप्पल, ब्याग आदि बनाउन, कच्चा पदार्थ खरिद एवं प्रशोधन र उत्पादित वस्तुहरू बिक्री गर्न, परम्परागत सुनचाँदीका गहना एवं भाँडाकुँडा बनाउने पसल तथा सोसँग सम्बन्धित कालिगढी सेवा तथा सरसफाइ पेसाका लागि चाहिने सामानहरू खरिद गर्न सस्तो दरको कर्जाको व्यवस्था गरिएको छ । यो सँगै आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिनका लागि चाहिने कच्चा पदार्थ खरिद गर्न, वस्तु तथा सेवा बिक्री गर्न, व्यवसायका लागि सामूहिक यन्त्रशाला निर्माण गर्न पनि कर्जा पाइन्छ ।
“सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” लागू भएपछि यस अन्तर्गत विभिन्न १० शीर्षकमा कर्जा लगानी हुन थालेको छ । तर यसरी सरकारले दिने ॠण सेवाको बारेमा राजनलाई भने कुनै जानकारी छैन । “ खोइ मलाई यो बारे केही थाहा छैन । ॠण दिने थाहा पाएको भए त यो आरनलाई अली ठूलो बनाउने थिएँ । धार लगाउले मसिन पनि थप्न हुन्थ्यो नि ।” आश्चर्य मान्दै राजन भन्छन् ।
राजनजस्ता धेरैलाई सरकारले दिने ‘दलित समुदाय व्यवसाय विकास कर्जा’ बारेमा जानकारी छैन । सस्तो ब्याजदरमा ल्याइएको यस कार्यक्रम मार्फत ठूलो सङ्ख्यामा दलित उद्यमीहरूलाई सेवा दिने उद्देश्य राखिएपनि यसको प्रभावकारिता भने त्यति देखिएको छैन । आर्थिक वर्ष २०७५-७६ देखि २०७८-७९ जेठ मसान्तसम्म यस कर्जा कार्यक्रमबाट लाभान्वित हुने दलित समुदायको सङ्ख्या १ हजार १ सय ३ जनामात्र भएको राष्ट्र बैङ्कको तत्थ्यांक छ ।
“तथ्याङ्कमा कर्जा पाएकाहरू पनि पहुँचवाला मात्र छन्, वास्तविक पुर्ख्यौली व्यवसाय गरिरहेकाहरूले भने यस कर्जा कार्यक्रमबाट लाभ उठाउन सकेका छैनन्,” दलित अधिकारकर्मी गणेश बिक बताउँछन् ।
उनी भन्छन्, “सहरी क्षेत्रमा बसोबास गर्ने केहीलाई यो कर्जा कार्यक्रमबारे जानकारी छ तर वास्तविक ग्रामीण समुदायका नागरिकसम्म यो कार्यक्रम पुग्न सकेको छैन ।” सरकारले महिला उद्यमशील कर्जा, कृषि परियोजना कर्जालाई जस्तै दलित समुदाय विकास कर्जालाई ठूलो महत्व नदिएका कारण यो कर्जा कार्यक्रम त्यति सफल हुन नसकेको उनको तर्क छ ।
नेपालको जनसङ्ख्याको करिव १३ प्रतिशत भन्दा बढी सङ्ख्या दलित समुदायको छ । दलित समुदायभित्र ३३ जातजाति रहेका छन् । सबै जातिको आफ्नो छुट्टै परम्परागत सीप र पेसा छ । तर पछील्लो समयमा दलित समुदायको परम्परागत पेसालाई युवाहरूले व्यवसाय बनाउन नसक्नुको मुख्य कारण यस्ता पेसालाई सम्मान हुने वातावरण नहुनु, परम्परागत पेसा नयाँ पिँढीमा हस्तान्तरण नहुनु, यो पेसालाई अन्य समुदायले पछ्याउनु, उचित श्रोत साधनको कमी तथा सरकारले दिने कर्जा\ अनुदान फितलो हुनाले हो भन्छिन्, सांसद अन्जना विशङ्खे । उनी भन्छिन्, “दलित समुदायको पेसा व्यवसायिक र आर्थिक समृद्धि तर्फ अगाडि बढ्न नसक्दा युवाहरु आकर्षित हुन सकिरहेका छैनन् । यसले उनीहरुमा पेसाप्रति वितृष्णा थपिएको छ ।”
पुर्ख्यौली पेसा गरिरहेका दलित समुदायलाई उनीहरूको सीपको आधारमा प्रमाणपत्र दिने र प्रतिस्पर्धामा ल्याउने सक्ने बनाउन सरकारले व्यवस्था गर्नु पर्ने अन्जना बताउँछिन् । “दलित समुदायको सीपको प्रमाणीकरण गर्न सक्यौँ भने पनि पक्कै पनि यो व्यवसायले आय आर्जन सँगै दिगो रूप लिन्छ,” अन्जना भन्छिन् ।
केही स्थानीय पालिकाहरूले भने दलित समुदायको सीपलाई प्रवर्द्धन गर्नको लागि कार्यक्रमहरू ल्याएको देखिन्छ । बाँकेको कोहलपुर नगरपालिकाले दलित समुदायका परम्परागत पेसा र सीपमा संलग्न व्यवसायीहरूलाई मेसिनरी औजार तथा सामग्री सहयोग गर्नको लागि गत असारमा ४ लाख रुपैयाँ बिनियोजन गर्यो । जसबाट पुर्ख्यौली पेसा गरिरहेका १५ जना दलित समुदायका उद्यमीहरू लाभान्वित भएको कोहलपुर नगरपालिका बाँकेका आर्थिक विकास शाखा प्रमुख बिर बहादुर बिकेले बताए ।
“यो कार्यक्रमका कारण पुर्ख्यौली पेसा व्यवसाय चलाइरहेका दलित उद्यमीहरूलाई आफ्नो व्यवसाय जारी राख्न थप टेवा पुगेको छ, नगरपालिकाले यस किसिमका कार्यक्रमहरू आगामी दिनमा पनि गर्दै लैजाने छ,” बिर बहादुर भन्छन् ।