सिन्धुपाल्चोकको गाउँदेखि कफी ट्रेनरसम्मको मधुको यात्रा
घरको ५ छोरी मध्ये कान्छी छोरी मधु भण्डारी, सिन्धुपाल्चोक बाह्रबिसेबाट ६ वर्षको कलिलो उमेरमा गाउँको एक दिदीसँग काठमाडौं आइन् । सुनौलो भविष्य र सहाराको खोजीमा । काठमाडौंमा उनी एक घरमा सहयोगीको रुपमा बसिन् । भाग्यवस उनी बसेको परिवारले भने मधुलाई सहयोगीको रुपमा होइन, आफ्नै घरको सदस्यको रुपमा राखे । सहारा दिए अनि जिउने प्रेरणा पनि । सानोमा मधुलाई स्कुल जान मन लाग्दैन थियो । पछि बिस्तारै पढाईको आवश्यकता महसुस हुँदै जाँदा १२ वर्ष को उमेरमा काठमाडौंको घट्टेकुलोमा अनौपचारिक प्रौढ शिक्षाका लागि भर्ना भइन् । । पढाईको भोक बढ्दै गयो , १४ वर्षमा बल्ल काठमाडौं तीनकुनेस्थित उत्प्रेरणा मा.वि. मा औपचारिक शिक्षाको निम्ति भर्ना भइन् । उत्प्रेरणा माबिले १४ वर्ष माथिका महिला, सडक बालिका, आर्थिक अवस्था कमजोर भएका, घरेलु कामदार र विभिन्न कारण स्कुल जान छुटेका छात्राहरूलाई औपचारिक शिक्षा दिने गर्दछ ।
२१ वर्ष मा एस एल सी पास गरेपछि उनलाई उनी बसेको घरका सदस्यले जागिरे होइन उद्यमी बन्न प्रेरित गरे । त्यसै घरका एक सदस्य अन्तरप्रेरणाका संस्थापक निरज खनालको सहयोगमा उनले काठमाडौं कमलादीमा रहेको युवा संस्थाबाट बरीष्टाको तालिम लिइने मौका पाइन् । चार सय जनाको आवेदनमा १२ जना छानियो, जसमा मधु पनि परिन् । ३५ दिने तालिम लिएपछि सीप अनुसारको काम गर्न काठमाडौं नयाँ बानेश्वरस्थित रेड मड क्याफेमा काम सुरु गरिन् । २ वर्ष मात्र जागिर खान्छु भनेर गएकी उनी ४ वर्षसम्म त्यही काम गर्न बाध्य हुनुपर्यो। यस अवधिमा मधुले अरु कुरा जस्तै बेकरी, बार, लेखा, व्यवस्थापनसम्बन्धी थप कुरा नजिकबाट नियालेर सिकिन्, सँगै अरु कर्मचारी साथीहरूलाई यसै विषयमा तालिम दिन समेत सक्ने भइन् ।
जिन्दगीमा अगाडि बढ्नु छ भने सधैँ अरुकोमा काम गरेर हुँदैन, आफूसँग सीप, अनुभव, क्षमता छ भने आफ्नै व्यवसाय सञ्चालन किन नगर्ने भनेर क्याफेको जागिर छाडेर मधुले घर परिवार र साथीभाइका सहयोगमा काठमाडौं डिल्लीबजारमा २०७६ साल फागुन महिनामा झण्डै २५ लाख ऋण खोजेर आफ्नै क्याफे खोलिन् । ऋण खोज्न उनी बसेको परिवार र निरज खनालले पनि निकै सहयोग गरे । सुरुवाती दिनदेखि नै क्याफेले राम्रै ब्यापार गरेको थियो । आफ्नो सपना पूरा हुन लागेको देखेर मधु उत्साहित थिइन् । तर त्यो उत्साह धेरै दिन टिकेन, महिना दिन बित्न नपाउदै कोरोना महाव्याधीका कारण नेपालमा लकडाउन भयो । ब्यापार नै गर्न नपाएपछि आम्दनी हुने कुरै भएन । क्याफेको भाडा तिर्न धेरै गाह्रो हुँदै गयो, अन्तत: मधुको क्याफे सुरु भएको केही महिनामै बन्द हुने अवस्था आयो ।
धेरै दु:खहरुले बाटो छेके पनि स्वरोजगार हुने र उद्यमी बन्ने मधुको सपना अझै मरेको थिएन । यसै क्रममा काठमान्डौंमा रहेको बालाजी सेराटन टुरिजम एण्ड होटल म्यानेजमेन्ट ट्रेनिङ बिक्रीमा रहेको थाहा पाइन् र ऋणमाथि ऋण नै भए पनि घरका सदस्यको सहयोगमा उनले त्यो तालिम केन्द्र ८ लाख रुपैयाँमा किनिन् । यस सेन्टरबाट बरीष्टा तथा बेकरीमा गरी सयौं जनाले तालिम लिइसकेका छन्। तालिम लिने केहीले त आफ्नै क्याफे व्यवसाय समेत सुरु गरिसके ।
“जीवनले धेरै कुरा सिकायो । सबैभन्दा धेरै धैर्य गर्न सिकायो, जति सुकै अप्ठेरोमा पनि सकारात्मक भएर मेहेनत गरिराख्न सिकायो अनि पालो सबैको आउँछ भन्ने सिकायो,” मधु भन्छिन्, “आज मेरो टाउकोमा लाखौंको ऋण छ, काँधमा धेरै जिम्मेवारी छ, समस्याहरू धेरै छन् तर मेरो मुहारमा सधैँ हाँसो छ । म धेरै खुशी छु। घरमा सहयोगी भएर काठमाडौं छिरेको म आज उद्यमी बनेको छु, आफ्नै कम्पनीको मालिक बनेको छु । म यहाँ बसेर व्यवसाय गर्दा ३ जनाले रोजगारी पाएका छन् । म जस्तै अरु ३ जनाले व्यवसाय गर्दा ९ जनाले रोजगारी पाउँछन् भने नेपालमै केही किन नगर्ने ?
मधु अहिले आफ्नो व्यवसायलाई अघि बढाउन एउटा नयाँ कफी शप र तालिम केन्द्रको अवधारणामा पनि काम गरिरहेकी छन् । उनको यस नयाँ सोचमा अन्तरप्रेरणाले पनि सहयोग गरिरहेको छ । जस्तोसुकै परिस्थितिमा पनि उनको कफी यात्रा भने जारी छ।