खाडीको चर्को गर्मीमा मर्छन् नेपाली, सरकार बेखबर

प्रतिक ढकाल २०७९ जेठ ३१ गते २१:१५

जेठ लाग्दै गर्दा देशभर गर्मी बढ्दै थियो । त्यो भन्दा चर्को गर्मी थियो ४ लाखभन्दा बढी नेपाली काम गरिरहेको देश कतारमा । यो गर्मी दिनहुँ बढ्दो छ । अत्याधिक गर्मी हुँदा कतारमा ५० डिग्रीभन्दा माथि तापक्रम पुग्ने गर्दछ । मेदेखि अक्टोबर महिनासम्म कतारमा अत्याधिक गर्मी हुने गर्दछ जसका कारण विशेषगरी बाहिर निर्माणसम्बन्धी काम गर्नेहरूलाई स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने गर्दछ । प्रायः नेपालीहरू बिना सीप वैदेशिक रोजगारीमा जाने गरेका कारण जोखिमयुक्त स्थानमा निर्माणसम्बन्धी काम गर्नुपर्ने बाध्यता छ । त्यसैले बाध्यात्मक रुपमा कतारमा बाहिर चर्को घाममा काम गर्ने नेपालीहरूको संख्या उच्च छ । केही सातादेखि त्यहाँ अत्याधिक गर्मिका कारण साधारण काम गर्न सक्नेसम्म अवस्था रहेन । 

बिहान घाम घाम उदाउने बेलादेखि नै तापक्रम ४० डिग्री नाघ्ने भएपछि त्यहाँ बस्ने धेरै श्रमिकले ठूलै समस्या भोगिरहेका छन् । झापा चारआलीका युवराज बराल (२८) अहिले पनि निरन्तर बाहिरी काममा नै व्यस्त छन् । कतारको दोहामा रहेको नविना इन्टेरियरमा काम गर्ने उनको दैनिकी बाहिरी घाममा काम गरेर नै बित्ने गर्छ । चर्को घाममा काम गर्दा उनको ज्यान खुबै थाक्छ । पसिना पनि अत्याधिक बग्छ भने शरीर पनि डढ्ने गर्दछ । उनी भन्छन्, “कोही बेला त बिहान उठेदेखि नै टाउको दुख्छ, तर काम नगरी बस्न पाइँदैन।” 

कतार, कुवेत लगायतका देशमा कार्यरत श्रमिकलाई गर्मीयाममा ३२ डिग्रीभन्दा माथिको तापक्रममा काम लगाउन प्रतिबन्ध लगाइएको छ । यी देशले श्रम कानुनमै यो नियम बनाएर कार्यान्वयनमा ल्याएका छन् । तर युवराजलाई भने यो नियमका बारेमा थाहा नै छैन । न यहाँबाट जाँदा अभिमुखीकरणमा भनियो न त त्यहाँको रोजगारदाताले नै । उनको दैनिकी नै ४० डिग्रीभन्दा माथिको गर्मीमा काम गरेरै बित्ने गरेको छ ।  

“अच्चम ! यस्तो पनि नियम छ र ? खै नियम छ भनेर त मैले अहिले सुनेँ । मैले त यो गर्मीमा नियमित काम गरिरहेको छु ,” युवराज सुनाउँछन् ।

“नेपाली श्रमिकले पैसा पठाएकै छन्, सरकारले त्यो पैसा खुरुखुरु पाएकै छ । अनि किन गर्थ्यो उनीहरूको हितका लागि काम ?” आप्रवासन विद् तथा समाजशास्त्री डा. गणेश गुरुङ भन्छन्, “वैदेशिक रोजगारीमा जानेहरूले नै देशको अर्थतन्त्र धानिरहेका छन् । तर राज्यले भने यिनीहरूलाई नै विभेद गर्ने गरेको छ ।” एम्नेस्टी इन्टरनेशनल ले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०१० देखि २०२० सम्म कतारमा कुल १ हजार ८ सय ८४ जना नेपाली श्रमिकको मृत्यु भएको छ । जसमध्ये ८ सय ९४ जनाको मृत्यु उच्च गर्मीका कारण भएको उल्लेख छ ।  

त्यसो त झापा गौरादहका खगेन्द्र प्रसाद पौड्याल पनि विगत पाँच वर्षदेखि कतारमा नै टन्टलापुर घाममा काम गर्छन् । ह्याभी ड्राइभरको रूपमा काम गर्ने उनलाई दिउँसो काम गर्दिन भनेर फुर्सद छैन । दिनको १० घण्टा काम गर्ने उनको अधिकांश समय चर्को घाममा बाहिर काम गरेर नै बित्ने गर्छ । “सामान लोड अनलोड सबै गर्नुपर्छ । घाम चर्को हुन्छ, पसिना बग्छ, टाउको दुख्छ त्यै पनि काम नगरी कहाँ सुख छ र,” उनी सुनाउँछन् ।  

 खगेन्द्र विदेशिएको पनि १० वर्ष नाघ्यो । घरमा श्रीमती र छोराछोरी राखेर विदेशिएका उनी नेपाल फर्कँदा धेरै पटक यतै केही गर्न खोजे तर व्यापार गर्न पूँजी थिएन । जागिर गरौँ भने हातमा पढाईको सर्टिफिकेट अनि पहुँच पनि । उनको छोराछोरी, श्रीमतीसँगै बसेर नेपालमै केही गर्ने सपना पनि पूरा हुन सकेन ।

“नेपाल बस्ने वातावरण बनाउन सकिन । त्यसपछि तातो घाममै काम गर्न जान्छु भन्ने लागेर विदेशिए,” खगेन्द्र दुःखेसो पोख्छन् । श्रमिकले ३२ डिग्रीमा काम गर्न नपाउने भन्ने नियमले धनकुटा १ हिलेका  दिपेश सिञ्जालीलाई पनि छोएको छैन । देशमा गरिखाने बाटो नभेटेपछि २२ वर्षीय दिपेशले खाडीलाई नै काम गर्ने थलो बनाउने सोच गरेर कतार होमिए । कतारमा उनी एक कन्स्ट्रक्सन कम्पनीमा काम गर्छन् । टन्टलापुर घाममा काम गर्दा जिउ गलेर काम नै गर्न नसक्ने समस्या सुनाउँछन् दिपेश । 

“कोही बेला त घामले पोलेरै मरिन्छ कि जस्तो हुन्छ, तर घरमा गरिबी छ । यो ठाउँमा घाम, गर्मी छ भनेर कसले बुझ्ने?” दिपेशको व्यथा पनि उस्तै छ । यसरी खाडीका ६ वटा राष्ट्रमा उच्च गर्मीका कारण खगेन्द्र, युवराज र दीपेशजस्ता लाखौँले सास्ती पाइरहेका छन् भने सयौँको मृत्‍यु हुने गरेको छ ।  

कारगेर इन्टरनेशनलको एक अध्ययनअनुसार २००९ देखि २०१७ को बीचमा सरदर  १ लाख कामदार मध्ये १ सय ५० जना कामदारले उच्च गर्मीका कारण ज्यान गुमाउने गरेको कारगेरको  रिपोर्टमा उल्लेख गरिएको छ । सोही रिपोर्टमा उच्च गर्मीमा काम गर्दा मुटु सम्बन्धी दीर्घकालीन रोगहरू लाग्ने नेपाली श्रमिकहरूको सङ्ख्या पनि अत्याधिक रहेको बताइको छ । जसमा २५ देखि ३५ वर्ष उमेरसमूहका १५ प्रतिशत नेपाली युवाको मृत्यु कार्डियो भास्कुलर डिजिज अर्थात् मुटु सम्बन्धी रोग लागेका कारण हुनेगरेको तत्थ्य छ । 

“गर्मीलाई प्रत्यक्ष कारण देखाइँदैन, मुटु रोगका कारण श्रमिक मरे भनिन्छ । तर वास्तवमा मुटु रोग लाग्नुपछाडिका मुख्य कारण भने गर्मी नै हो,” एक दशकभन्दा बढी कतारमा रहेर त्यहाँ गर्ने नेपालीहरूलाई स्वास्थ्य उपचार र परामर्श गरेका फिजिसियन डा. नरेन्द्र कुमार श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, “अत्याधिक गर्मीका कारणले शरीरमा पोटासियम र सोडियमको मात्रा सकिन्छ जसले सोझै मुटुमा अट्याक् हुन्छ र श्रमिकको मृत्यु हुन्छ ।”  

त्यसो त खाडीका देशहरूमा तापक्रम उच्च भएको भन्दै केही समयअघि एम्नेस्टी इन्टरनेशनलले सरकारलाई श्रमिक सुरक्षाको माग गर्दै विज्ञप्ति बुझायो । उक्त विज्ञप्तिमा पनि एम्नेस्टीले नेपाली आप्रवासी श्रमिकहरूबारे चासो देखाउँदै  यदि कोही  श्रमिकको मृत्यु भएमा प्रमाणपत्र जारी गर्नुअघि अनुसन्धान गर्न माग गरेको छ । विज्ञप्तिमा 

काम गर्ने समय लामो हुने, शारीरिक श्रम बढी हुने तथा चर्को गर्मीका कारण हुने मृत्युका सम्बन्धमा एम्नेस्टीले विशेष चासो देखाएको हो । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा १ हजार २ सय ४२ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा ६ सय ७४ जनाले ज्यान गुमाएका थिए ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/ ७८ मा विदेशमा ज्यान गुमाएका मध्ये ४ सय ७४ जनाको मृत्युको कारण नै खुलेको देखिँदैन । सडक दुर्घटनाका कारण १ सय ७१ जनाको ज्यान गएको छ भने प्राकृतिक रुपमा मृत्यु भएका १ सय २९ जना रहेका छन् । यस्तै विभिन्न रोगबाट ज्यान गुमाउनेको संख्या ३ सय २७ छ । हृदयघातबाट ७०, कार्यस्थलमा ज्यान गुमाउने १९ र हत्या भएका २ जनाको तथ्यांक वैदेशिक रोजगार बोर्डको छ । विशेषगरी लामो समय चर्को गर्मीमा काम गर्दा जवान र स्वस्थ व्यक्तिको अचानक मृत्यु हुने हुँदा यसले कतारमा काम गर्ने सुरक्षा अवस्थाबारे एम्नेस्टीले चासो देखाएको हो ।

“अत्यधिक गर्मीमा लामो समय काम गरेपछि तुलनात्मक रूपले जवान र स्वस्थ पुरुषहरूको अचानक मृत्यु हुँदा यसले कतारमा काम गर्ने अवस्थाको सुरक्षाबारे गम्भीर प्रश्नहरू खडा गर्छ । आप्रवासी श्रमिकको मृत्युको मुख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीले केही महत्त्वपूर्ण सङ्केतलाई बेवास्ता गरिरहेका छन्,” विज्ञप्तिमा सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले  लेखेका छन्, ‘श्वासप्रश्वास वा मुटुको समस्याका कारण ज्यान गएको भन्ने विषयलाई मृत्यु प्रमाणपत्रमा समावेश गर्नु हुँदैन । मुख्य कारण नै उल्लेख गरिनु पर्दछ । 

तर त्यस्तो समस्याले नै सबैको मृत्यु हुन्छ र त्यसको कारण नखुलाइएका वाक्यांश अर्थहीन हुन्छन् ।’  खाडीको उच्च तापक्रममा काम गर्दा श्रमिकहरूले ज्यानकै बाजी राख्नुपर्ने अवस्था सिर्जना हुनुमा सरकारको अभिमुखीकरण कार्यक्रम औपचारिकतामा मात्र सीमित भएको र विदेशिएका श्रमिकको स्वास्थ्यप्रति सरकारले गैरजिम्मेवार बनेको श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाल बताउँछन् ।

उनी भन्छन्, “सरकारको अभिभुखिकरण कार्यक्रम नै आफैँमा हाँस्यास्पद किसिमको छ । जहाँ कुवेत र कतारमा ३२ डिग्रीभन्दा बढीको तापक्रममा श्रमिकलाई काम गर्न रोक लगाइने विषय पनि बताइने गरेको छैन,” उनी भन्छन्, “कतार, कुवेतमा जाँदा ३२ डिग्री माथिको तापक्रममा काम गर्न लगाए उजुरी दिनु भनेर विदेश जानु अगाडि दिइने अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारले समेटेकै छैन । बाध्य भएर वर्षौँदेखि नेपाली श्रमिक चर्को घाममा काम गर्दै आएका छन् ।”

त्यसो त सरकारले ल्याएको पन्ध्रौँ योजनामा पनि आन्तरिक रोजगारीको प्रबर्द्धन गर्दै, बाध्यात्मक रोजगारीको अन्त्य गर्ने र उत्पादकत्व वृद्धि गर्ने विषय समेटिएको छ । खाडीको गर्मी र नेपाली श्रमिकको श्रम सुरक्षामा विभिन्न अन्तराष्ट्रिय संघ संस्थाको चासो हुँदा हुँदै पनि प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित  समितिमा भने यस विषयमा कुनै बहस चलेको छैन । 

समितिका सभापति विमल प्रसाद श्रीवास्तव भन्छन्, “खाडीको गर्मी केन्द्रित भएर त्यस्तो केही बहस समितिमा चलेको छैन । अन्य श्रम सुरक्षाका विषयहरूमा भने हामीले निरन्तर चासो देखाइरहेका छौँ ।”

संसदीय समितिमा श्रमिकलाई समयमा नियमित तलबको सुनिश्चितता गराउने, ४ देखि ८ तारिख सम्ममा श्रमिकले तलब सुविधा पाइसक्नुपर्ने, ८ घण्टे ड्युटी सुनिश्चित गर्ने जस्ता विषयमा बहस हुने गरेको भएपनि गर्मी र यसले निम्त्याउने स्वास्थ्य समस्याबारे भने छलफल नहुने गरेको विमल बताउँछन् ।

एकातिर कतार र कुवेतले नियम नै बनाएर बाहिरी घाममा काम गर्न नपाइने भनेको छ भने अर्कोतिर नेपाल सरकारले बहस तथा कूटनीतिक पहल र पैरवी गर्न नसक्दा नेपालीहरू खाडीमा अधिकारबाट बञ्चित छन् ।

संसदीय समिति जस्तै वैदेशिक रोजगार विभाग पनि खाडी राष्ट्रमा काम गर्ने श्रमिकहरूलाई सुनिश्चित गरेको अधिकार बारे जानकार छैन । विभागका महानिर्देशक शेष नारायण पौडेल भन्छन्, “यस प्रावधानबारे विभागलाई कुनै जानकारी छैन । श्रम मन्त्रालयले यस सम्बन्धी समन्वय गर्दै होला ।”

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *