माछापालन बन्न सक्छ गतिलो आम्दानीको स्रोत, थाहा पाइराखौँ सरकारी अनुदान कार्यक्रम (भिडियो)
नेपालमा माछापालन गतिलो आम्दानीको स्रोत भएको र सरकारले पनि माछापालन गर्ने किसानलाई लक्षित गरेर विभिन्न तालिम र अनुदानका कार्यक्रम सञ्चालन गरेको केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रका मत्स्य विकास अधिकृत सुभाष कुमार झा बताउँछन् ।
संक्षेपमा, मत्स्य विकास अधिकृत सुभाषको धारणा (साथमा भिडियो कुराकानी) :
जलस्रोत, पर्यटन र कृषि नेपालको विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन सक्ने प्रमुख आर्थिक क्षेत्रहरू हुन् । कूल ग्राहस्थ उत्पादनमा एक तिहाइ योगदान र दुई तिहाइ जनताको जीविकोपार्जनको मुख्य आधार रहेकोले कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो। कृषिका तीन प्रमुख उपक्षेत्र; बाली, पशुपंक्षी र माछामध्ये माछाले एक गतिशील र उदयमान उपक्षेत्रको रुपमा आफ्नो पहिचान बनाएको छ । नेपालको जलक्षेत्रको रुपमा नदी, घोल, ताल, धाप, सिञ्चित धानखेत, नहर, पोखरी, रिजर्भवायर आदिले देशको करिब ५.३ प्रतिशत भाग ओगटेको छ जसमा २३६ प्रजातिका स्वदेशी एवम् १६ प्रजातिका विदेशी माछा गरी जम्मा २५२ प्रजातिका माछा लगायत अन्य विभिन्न किसिमका जलचरहरूको आश्रय रहेको छ। यी मध्ये केही अति दुर्लभ तथा नेपालमा मात्र पाइने प्रजातिहरू पनि छन् । नेपालको पहाडदेखि तराईसम्म चिसो र न्यानो पानीमा फस्टाउन सक्ने माछाहरूको व्यवसायिक रूपमा पालन भइरहेको छ ।
माछा क्षेत्रको थप विस्तार र विकास गर्नसके आगामी दशकमा देशमा प्राणिजन्य खाद्य आहार उत्पादन एवं आपुर्ति गर्ने पहिलो क्षेत्रको रूपमा स्थापित हुने कुरामा पर्याप्त सम्भावनाहरू देखिएका छन्। गरिबी न्यूनीकरण र पोषण सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने देखेर नै नेपाल सरकारले माछा विकासका लागि कार्यक्रम तथा बजेटमा क्रमशः वृद्धि गरिरहेको अवस्था छ।
माछापालन क्षेत्रबाट आ.ब. २०७७/७८ मा ८३६२३ मे.टन. माछा उत्पादन भइरहेको छ भने सो उत्पादनको करिव ९२% कार्प माछापालन क्षेत्रको योगदान रहेको पाइएको छ । नेपालमा पालन हुने १० वटा प्रजातिहरू मध्ये ७ वटा प्रजातिहरू काप माछाको प्रजाति रहेको छ, जसले नेपालको सरदर ३.११ केजी प्रति व्यक्ति उत्पादन हासिल गर्न राम्रो योगदान पुर्याएको छ । नेपालको कुल भूभाग मध्ये माछापालन हुने क्षेत्रमा विभिन्न जलाशयहरू (घोल ताल लगायत पोखरीमा माछापालन हुने क्षेत्र) करिव १३८५४ हे. क्षेत्रफलमा कार्प माछापालन हुने गरेको छ। कार्प प्रजातिहरू मध्ये पालन हुने प्रजातिहरुको छुट्टा छुटै विशेषता रहेको तथा उपभोक्ताहरुको पाहिलो प्राथमिकता कार्प माछाको माग समेत रहेको पाइएको छ ।
हाल देशमा बार्षिक रूपमा करिव ५१ करोड माछा बिजको आवश्यकता रहेको र यस कार्यमा निजि क्षेत्रले ८० प्रतिशतभन्दा बढी योगदान पुर्याउँदै आएको पाइन्छ। देशलाई आगामी केहि बर्षभित्र माछामा आत्मनिर्भर गराउने उद्देश्यले व्यवसायीक रूपमा माछापालन गर्न क्षेत्र विस्तार एवं उत्पादकत्व अभिवृद्दिका कार्यक्रमहरू अभियानको रूपमा संचालन हुदै आएकोले गुणस्तरिय माछा बिजको आवश्यकता अझ बढी महसुस गरिएको छ। यस सन्दर्भमा निजि स्तरमा संचालित माछा ह्यचरी तथा नर्सरीहरूको भुमिका थप महत्वपुर्ण भएको छ। स्वस्थ माछा बिजको उत्पादन, विक्रि वितरण, संचय गर्न र माछा बिजको आयात, निर्यात व्यवस्थित गरी निर्धारित गुणस्तर कायम गराई माछाबिज व्यवसायको नियमन र व्यवस्थापन गरी आम माछापालक कृषक व्यवसायीहरूको गुणस्तरीय बिज प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गराइ थप उत्पादन एवं उत्पादकत्व अभिवृद्दि गरि देशलाई माछामा आत्मनिर्भर गराउन तथा कृषक व्यवसायीको आर्थिक हित कायम राख्न व्यवसायीक माछापालनमा माछा प्रजाती विविधिकरणको आवश्यकता महसुस भएको छ। नेपालको माछा उत्पादनमा कार्प बहुजातीय व्यवसायिक माछापालन प्रविधिको प्रमुख भूमिका रहेको छ। बढ्दो जनसंख्या र खाने माछाको बढ्दो मागलाइ मध्यनजर गर्दै माछाबिज उत्पादन प्रविधि विस्तार एवंम् गुणस्तरीय माछाबिज नियमनको नितान्त आवश्यकता रहेको देखिन्छ ।
सरकारले माछा उत्पादनका लागि आवश्यक सामाग्री खरिददेखि माछा उत्पादन र यसको बजारीकरणसम्म अनुदानको व्यवस्था गरेको छ । जसमा माछापालक किसानले माछापालन गर्न सुरु गरेदेखि उत्पादन गरूञ्जेलसम्म लाग्ने प्रत्येक वस्तु तथा सेवामा ५० प्रतिशतसम्म अनुदान छुट पाउने गरेका छन् ।
व्यवसायिक माछापालन गर्न के कस्ता विधि तथा प्रक्रियाहरू पूरा गर्नुपर्छ भन्ने सन्दर्भमा केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रका मत्स्य विकास अधिकृत सुभाष कुमार झासँग गरिएको भिडियो कुराकानी :
भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको