यसरी गरौँ व्यवसायीक मकै खेती : डा. टीका बहादुर कार्की
मकै नेपालको प्रमुख अन्नबाली मध्ये धान पछिको एक हो । हिमाल, पहाड, तराई सबै भेगमा मकै उत्पादन हुने गर्दछ । यी सबै ठाउँमा यसको उत्पादन पनि हुन्छ । ठाउँ अनुसार त्यहाँको हावापानी हेरेर बिभिन्न जातको मकै लगाइने गरिएको छ । स्वास्थ्यको हिसाबले पनि मकैलाई राम्रो मानिएको हुँदा मकै बाट बिभिन्न परिकार बनाएर खाने गरिन्छ । मकैबाट ढिँडो, रोटी, चिउरा, च्याँख्ला वा ग्रीटको भात बनाएर खाइन्छ भने अहिले मकै बाट खाने तेल पनि उत्पादन गर्न थालिएको छ. र जनावरको लागि दाना बनाउन पनि मकैको प्रयोग गरिन्छ ।
यसरी मकैको बढी खपत हुने हुँदा अहिले धेरैले यसलाई व्यवसायिक रुपमा खेती गर्दै आएका पनि छन् । यसको उत्पादन वृद्धि गर्नका लागि नेपाल सरकार तथा कृषि तथा पशुपक्षी मन्त्रालयले व्यापक जोड दिइरहेको छ । मकैको व्यवसायिक खेती गर्दा यसको गोडमेल, मलजल, रोग, रोप्ने विधि देखी व्यवस्थापन कसरी गर्न सकिन्छ? मकैको खेती गर्दा कस्ता कुरामा ध्यान दिए यसबाट राम्रो आम्दानी गर्न सकिन्छ? भन्ने सवालमा जीविको डटकमले नार्कका बरिष्ठ बाली विज्ञ तथा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका प्रमुख श्री टीका बहादुर कार्कीसँग छलफल गरेका छौ ।
ठाउँ अनुसार मकैको बिउ कसरी छान्ने ?
हुन त विश्वभर हेर्ने हो भने धेरै प्रकारका मकै खेती गरिन्छ । नेपालमा पनि बिभिन्न थरिका कमैका बिउ पाइन्छ । तर भौगोलिक क्षेत्रअनुसार त्यहाँको हावापानीलाई मध्यनजर गरी मकैको बिउ छनोट गरी खेती गरे राम्रो उत्पादन लिन सकिन्छ । त्यसैले तराई तथा भित्री मधेशका लागि विशेष रुपमा रामपुर कम्पोजिट, अरुण, रामपुर जस्ता जातहरू उपयुक्त छन्, भने मध्य पहाडको लागि खुमल पंहेलो , मनकामना १, मनकामना ३, देउती, शीतला, मनकामना ४, पोषिलो मकै १, मनकामना ५, मनकामना र उच्च पहाडको लागि गणेश १, गणेश २ जस्ता जातहरू राम्रो हुन्छ ।
मकै खेतीको लागि कस्तो हावापानी र माटो उपयुक्त हुन्छ ?
मकै न्यानो हावापानी मध्यम र वर्षाको समयमा खेती गर्दा राम्रो हुन्छ । मकै खेतीका लागि पानी नजम्ने, मलिलो, उर्वर, दोमट भएको ठाउँमा पि एच मान ७.०–७.३ भएको माटो उपयुक्त हुन्छ । मकै उम्रनका लागि २० डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ भने बिरुवा बढ्नको लागि २१ देखी २७ डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ । मकैको धानचमर निस्कने समयमा यदि अत्याधिक वर्षा भएमा मकैमा बिभिन्न खालका कीरा लाग्ने तथा रोगले आक्रमण गर्ने अनि घोगामा कम दाना लाग्ने जस्ता समस्या आउने गर्दछ । त्यस कारण चैत्रको अन्तिम हप्ता देखी बैशाखको पहिलो हप्ता सम्म मकै रोपी सक्नु पर्दछ ताकी धानचमरलाई वर्षाले असर नगरोस् ।
कति क्षेत्रफलमा कति मकैको बीउ रोप्ने ?
सामान्यतया ड्याङ बनाएर लाइनमा मकैको बीउ रोप्दा प्रतिकठ्ठा ६७० ग्राम बीउ छर्नुपर्ने हुन्छ । रोपनीको हिसाब गर्दा प्रति रोपनी १ केजी मकैको बीउ छर्नुपर्ने हुन्छ । यसरी हिसाब गर्दा प्रतिहेक्टर ३० केही बीउ राम्रो व्यवसायीक मकै उत्पादनका लागि ठीक हुन्छ।
मकैको बोटहरू बीचमा दूरी कति हुनुपर्छ ?
ड्याङ्ग बनाएर मकै रोप्दा एक लहरदेखि अर्को लहर बीच ७५ से.मीको दूरी हुनुपर्छ । यसो गर्दा मकैको बोटमा पातहरू मज्जाले फैलन पाउँछ, साथै मलखादको पनि उपयोग गर्न पाउँछ । त्यसका साथै एक बोट देखि अर्को बोटको दूरी २५ से.मी. कायम गरेमा उक्त बोट संख्या कायम गर्न सकिन्छ ।
मकैमा बीउ कसरी लगाउने ?
धेरै जसो मकैमा गाईको गोबरबाट बनेको मलको प्रयोग गर्दा उचित मानिन्छ । घरमा नै बनाएको प्राङ्गारिक मल बारी जोत्दा माटोसँगै मिलाएर प्रयोग गर्न सकिन्छ । डि.ए.पी. र पोटासको सम्पूर्ण भाग जमिन तयारीमा हाल्ने र युरियाको आधा भाग बोट घुँडा घुँडा भएको अवस्थामा र आधा भाग जुँगा र चमर निस्कने बेलामा हाल्ने गर्नुपर्छ ।
मकैमा प्रति हेक्टर डि ए पि १५० के जी, युरिया २०० के जी, पोटास ५० के जी, गोबर मल १५००० के जी, प्रति रोपनी डि ए पि ७.५ के जी, युरिया १० के जी, पोटास २.५ के जी, गोबार मल ७५० के जी, प्रति कठ्ठा डि ए पि ५ के जी, युरिया ६.६ के जी, पोटास १.५ के जी, गोबर मल ५०० के जी प्रयोग गर्दा उत्पादन राम्रो हुन्छ ।
मकैलाई कतिवेला सिंचाइ गर्ने ?
प्राकृतिक हिसाबले आकासबाट परेको पानी नै मकैका लागि पर्याप्त हुन्छ । तर मकै रोप्नु भन्दा पहिले माटो मलिलो छ, छैन हेरेर आवश्यकता अनुसार माटो भिजाउन सिँचाइ गरे राम्रो हुन्छ । मकैको जुँगा निस्कने अवस्था र दाना पोटिलो हुने अवस्था भनेको संवेदनशील अवस्था हो र यस्तो अवस्थामा माटोमा चिस्यान कमी देखिएमा सिँचाइ दिनुपर्दछ ।
मकैमा गोडमेल या झारपात व्यवस्थापन कहिले गर्ने ?
मकै दुई चरणमा गोडमेल गर्ने प्रचलन छ । मकै रोपेको क्षेत्रमा झारपात बढी भएमा उत्पादकत्व घट्ने भएका कारणले मकै उम्रेको ३ देखि ४ हप्तामा पहिलो पटक मकै गोड्नुपर्छ । त्यसपश्चात् दोस्रो गोडाइ मकै उम्रेको ६ देखि ७ हप्तामा गर्नुपर्ने हुन्छ । पछिल्लो समय मल्चिङ प्रविधिको प्रयोग गरेर पनि मकै खेती गरिने हुँदा मल्चिङ गरेर मकै रोपिएको खण्डमा यसलाई सामान्य गोडमेल गरे पुग्छ ।
मकै कहिले भाँच्ने ?
मकै पाकेको निश्चित गर्नका लागि मकैको दाना उप्काइ खोयामा गाडिने भाग तिर कोट्याई हेर्नुपर्छ । यसरी हेर्दा मकैको भित्री भागमा कालो पत्र देखिएमा मकै पाकेको निश्चित हुन्छ । त्यसपछि मकैलाई भण्डारण गर्न मिल्छ । मकै पाकेको लामो समयसम्म बारीमै छाडेको खण्डमा मकैमा ढुसी आउने कीरा लाग्ने सम्भावना हुन्छ ।
कस्तो ठाउँमा मकैको भण्डारण गर्ने ?
मकैलाई जति सक्दो बढी घाममा सुकाई भण्डारण गर्नु पर्दछ । भण्डारण गर्नको निमित्त १२ देखि १४ प्रतिशत चिस्यानमा ल्याउनु पर्दछ । यसरी राखेको मकैलाई घुन तथा किराले खान नपाउन भनेर एउटा सिडबीन (१ देखि २ क्विन्टल) मा एक चक्की सेल्फस राखी हावा नछिर्ने गरि बन्द गर्नु पर्दछ ।
मकैमा धेरै लाग्ने रोग गोब्रे कीरा कसरी नियन्त्रण गर्ने ?
गवारोको आक्रमण देखिएमा सेभिन गेडा, थायोडेन गेडा, फोरेट गेडा, फ्युराडेन गेडा मध्ये कुनै एक ३–४ दाना मकै बोटको प्रत्येक गुवोमा ४ र ५ पातको अवस्थामा पहिलो पल्ट र २५ र ३० दिन पछि दोश्रो पल्ट प्रयोग गर्नु पर्छ ।
मकैमा लाग्ने घुनको नियन्त्रण कसरी गर्न सकिन्छ ?
बोझोको धुलो २०\२५ ग्राम प्रति केजी अनाजका दरले राख्दा घुनबाट बचाउन सकिन्छ। झुसेतिलको तेल १–२ मि.लि. प्रति किलोग्राम अनाजका दरले उपचार गरेर थन्क्याएको अनाजमा घुन र पुतलीले क्षति गर्न सक्दैनन् ।
मकैको मूल ( श्रोत ) बीउ कसरी प्राप्त गर्न सकिन्छ ?
नेपाली किसानहरूले एउटै बीउबाट उत्पादन भएको मकैलाई पटक पटक बीउ बनाउँदै प्रयोग गर्ने हुँदा मकैको उत्पादकत्व घटेको पाइएको छ । स्रोत बीउको प्रयोग नगरी पुरानो मकैलाई नछानी बीउ निकाल्ने प्रचलनले मकै उत्पादनमा ह्रास आएको देखिन्छ । यसको लागि प्रत्येक दुई वर्षको अन्तरालमा स्रोत बीउ लिएर मकै रोप्नुपर्छ जसको लागि राष्ट्रिय बीउ बिजन कम्पनी, नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका कार्यक्रम, स्थानीय स्तरमा रहेका बीउ उत्पादक समूह या सहकारी, निजी कम्पनी र जानकारीको लागि जिल्ला कृषि विकास कार्यलयमा मकैको स्रोत बीउ पाइन्छ यी संस्थाहरूसँग सम्पर्क गरि मकैको स्रोत बीउ प्राप्त गर्न सकिन्छ ।