सुनसान चिहानघरमा दर्शक बिनाको त्यो कला प्रस्तुती फोटो : सुन्दर लामा

प्रतिक ढकाल २०७८ चैत २० गते १६:४७

सुनसान मुर्दाघरमा जाँदा जो कोहीलाई पनि आङ फुलेर आउने गर्छ, तर कलकत्ता स्थित किपाफ १७ को चिहानघरमा गएर सुन्दर लामा (३८) ले निर्धक्क सँग आफ्नो कला देखाए । कलकत्ताको एक थिएटरले सन् २०१८ मा सुन्दरलाई कला विधा अन्तर्गतकै प्रर्फर्मेन्स आर्ट देखाउनका लागि एक कार्यक्रममा बोलाएको थियो ।  सुन्दरले पनि कलकत्ता जानुअगाडि आफ्नो प्रस्तुतीको राम्ररी तयारी गरेका थिए । मसानघाटमा दर्शक राखेर आफ्नो सांकेतिक कला प्रर्दशन गर्ने उनको चाहना थियो ।   

“खुबै उत्साहित थिएँ, आफ्नो लामो समयको तयारी, साधना प्रस्तुत गर्न पाउँछु भन्ने लागेको थियो” सुन्दर सुनाउँछन् ।   उनले कला प्रदर्शन गर्ने भनेपछि चिहानघर बाहिर दर्शकहरूको  भिड लागेको थियो, त्यहाँ केही कलाकर्मीहरू पनि आएका थिए ।  

 विडम्बना, त्यस दिन  किपाफ १७ चिहानघर व्यवस्थापनले कार्यक्रम गर्न नै दिएन । लामो समय र कठिन मेहेनतले तयार पारेको आफ्नो प्रस्तुती सुन्दरले देखाउन पाएनन् । 

 “नमज्जा लाग्यो ! ठूलो तयारी थियो, दर्शक आएका थिए तर प्रस्तुती देखाउन अनुमति नै पाइएन,” सुन्दर सम्झन्छन् । सुन्दरको प्रस्तुती नहुने भयो, सुन्दरलाई हेर्न पुगेका दर्शक निराश फर्किए, केही छिनमा नै चिहानघर सुनसान बन्यो ।

दर्शक फर्किए, सुन्दर भने फर्किएनन् । सुन्दरलाई आफ्नो कला देखाउन पाइन्छकी भन्ने आश लागि रह्यो । उनले व्यवस्थापन सँग प्रस्तुती देखाउन अनुमति मागिरहे । उनको अनुरोधलाई मानेर  व्यवस्थापनले एक्लै प्रस्तुती देखाउन भन्यो ।  

 दर्शक नभएपछि सुनसान चिहान अगाडि आफूले तयारी गरेको प्रस्तुती देखाए सुन्दरले । कला प्रस्तुतीको समयमा उनीसँग एकजना उनकै सहकर्मी भने साथमा थिए, उनैले बिना दर्शक देखाएको प्रस्तुतीलाई छायांकन गरे ।  

उनी भन्छन्, “दर्शक थिएनन्, प्रस्तुतीको माया थियो तयार गरेको प्रस्तुती नदेखाइ फर्कन मन लागेन, मैले मुर्दालाई जीवित सम्झिएर कला देखाएँ ।”

प्रर्फर्मेन्स आर्ट सुन्दरले देखाउने कलाको एक विधा मात्र हो । कला क्षेत्रमा उनको सुरुवात भने चित्रबाट भयो । बाल्यकालमा ढोकामा, झ्यालमा कुँदिएका चित्रहरूलाई कापीमा उतार्ने सुन्दर पछि क्यानभासमा कुची चलाउन थाले । उनको जीविका पनि क्यानभासले नै धानेको छ । उनी चित्र बनाउँछन्, चित्र बेच्छन् अनि चित्र पढाउँछन् । सुन्दर पाठशाला विद्यालयमा चित्रकला सिकाउने शिक्षक हुन् ।   

 “मेरो जीवन नै चित्र बनाएर बितेको छ, मेरो गरिखाने बाटो भनेको पनि यही हो,” उनी भन्छन् ।   २०४० सालमा जन्मेका सुन्दरलाई सानैबाट बुट्टा अनि चित्रहरूसँग छुट्टै  लगाव थियो चित्रहरू देख्ने बित्तिकै उनी कापी लिएर चित्र उतार्न लागिहाल्थे ।  

क्यानभासमा हुबहु चित्र उतार्ने सुन्दरको बाल्यकाल भने क्यानभासको चित्र जस्तो सुन्दर थिएन । कहिले पारिवारिक असन्तुष्टि अनि गरिबीसँगै उनको बाल्यकाल बित्यो । उनका बुवा पनि उनी १७ वर्षको हुँदा संसार छाडेर गए ।  बाबुको मृत्‍यु पछि उनीमाथि परिवारको जिम्मेवारी थपियो, तर पनि उनले चित्र कोर्न भने कहिल्यै छाडेनन् ।  

“अभाव थियो, त्यही अभावले पिरोलिएको मनलाई पनि चित्रमा पोख्थे, दुःखमा होस् , सुखमा होस् क्यानभासबाट पर भाग्न सकिन,” उनी सम्झन्छन् ।

अनेक पारिवारिक पीडा भित्रबाट उनले १२ कक्षा सम्मको पढाइ सके । १२ पछि उनलाई रङ्गसँग खेल्ने रहर थियो, ललितकला क्याम्पसमा चित्रकला पढाई हुन्थ्यो । उनलाई त्यहाँ जाने चाहना थियो ।  तर आई. कम सकेका उनले आमाको जिद्दीले वि. कम को अध्ययन गर्ने सोच बनाए । वि. कम पढ्नको लागि उनले पब्लिक युथ क्याम्पसमा भर्ना लिए ।  

“आमाको कमाइले मेरो खर्च धान्न मुस्किल थियो, छोराले कोट पाइन्ट लाएर बैंकमा जागिर खाओस् भन्ने इच्छा थियो आमाको, मैले आमाको रहरलाई सुनेँ,” सुन्दर भन्छन् । 

सुन्दरकी आमा वीर अस्पतालमा कार्यालय सहयोगी थिइन्, ठूलो कमाइ थिएन । पढाई र खानपिनको खर्च धान्न मुस्किल थियो । सुन्दरले क्यानभास र रङ्ग किन्न सम्म सक्ने अवस्था थिएन ।  उनी भन्छन् “आर्थिक अभाव थियो, तर मलाई ललितकलामा पढ्न पनि जानु थियो, पारिवारिक खर्चले नपुग्ने भएपछि मैले हनुमान स्थानमा झुम्का पसल थालेँ ।”

उनको रात्रिकालीन व्यापार थियो । व्यापारबाट आएको रकम सुन्दर रङ्ग, क्यानभास र कूची किन्नमै सक्ने गर्थे । झुम्काको व्यापारबाट सामान्य खर्च उठ्न थाल्यो । सानो आर्थिक आड पाएपछि उनी आफ्नो सपना पूरा गर्न ललितकलामा भर्ना लिन पुगे । 

“त्यसबेला मलाई कलामा नै करियर बनाउँन थिए। बि. कम पढ्न छाडेर ठूलै जुवा खेलेको थिएँ,” सुन्दर हाँस्दै विगत सम्झन्छन् । 

चित्रकलाबाट उदाएका सुन्दर अहिले  रङ्गकर्मी, चित्रकार कवि अनि प्रफर्मेन्स आर्ट सबैतिर आफ्नो कला पोख्छन् । जीवनका अनेकौं उत्तारचढाव, भोगाइ, पीडा, कयौं निराशा, आशा र खुसीका पललाई उनी शब्द मार्फत कवितामा पनि उतार्छन् । त्यतिले पनि उनको मन सन्तुष्ट नभएपछि उनी प्रर्फमेन्स आर्टका माध्यममा समेत अनुभूतिहरू व्यक्त गर्छन् । कलाका अनेक विधामा अभिव्यक्तिलाई उतार्ने कलाकार लामाले उनको कलालाई शीर्षक दिएका छन्, ‘एकालाप’ अर्थात् उनकै शब्दमा मनभित्रको वार्तालाप । 

जहाँ उनले सिर्जनाबाट नै जीवनका प्रत्येक क्षण, मनको सवाल, जवाफ जस्ता पक्षहरूलाई अभिव्यक्त गर्दै आएका छन् । उनी भन्छन् “कहिले क्यानभासमा कहिले थिएटरमा त कहिले कवितामा वेदना पोखेको छु, तर अझै पनि मन भित्रको पीडा भने सकिएको छैन।”

जीवनमा भोगेका थुप्रै दुःख पीडा खुसी भोगाइ अनि आशा र निराशाका सबैलाई समेटेर उनी कलम र कुची मार्फत आफ्ना भावना प्रस्तुत गर्छन् ।  सुन्दर भन्छन्, “मैले आफूभित्र रहेका भावना आफैँमा पोख्दा सन्तुष्टि भेटाउँछु, मनभित्रको वार्तालापले दुःखका समाधान पनि पाउने गर्छु ।”

सुन्दरले बनाउने  चित्रमा पनि फरक किसिमको सन्देश लुकेको हुन्छ जो कोहीले त्यसलाई सहजै बुझ्नै सक्दैन । उनले बनाउने चित्र देखेपछि  साथीभाइ अनि आफन्तलाई अचम्म लाग्छ । अझ उनकी आमाले त उनलाई बौलाहा चित्रकार पनि भन्ने गर्छिन्। उनको चित्रको भावलाई सहजै बुझ्न गार्हो भएपनि कलाका पारखीहरू भने उनको कलाको कायल नै हुन् । उनको क्षमतालाई बुझेर अरनिको युवा कला सम्मान २०७६, समकालीन चित्रकला विषेश सम्मान ( नेपाल कला प्रतिष्ठान ), हार्टविट हिडेन हिरो सम्मान २०१४, भिडियो कला विधा विषेश सम्मान ( राष्ट्रिय कला प्रतिष्ठान ), वर्ष कलाकार (इस्टासे) २००९, सीता श्री प्रतिभा पुरस्कार २००८   जस्ता पुरस्कार बाट सम्मानित गरिएको छ । 

‘अप्टिकल इलुजन’, ‘बुद्धज प्यासन्ट’, ‘मेमोरिस अफ डी एन ए (बेल फ्लावर)’, ‘स्याडो अफ फ्रेग्नेन्स’ शीर्षकका उनका कलाकृतिहरूमा आफ्नो संस्कृति, पुर्ख्यौली इतिहास, स्मरण, जीवनका लहर र यी विविध आयामहरूमा उनका प्रतिक्रियाहरू प्रतिबिम्बित भएका छन् । 

उनी आफ्ना अधिकांश कलाहरूमा जनवारलाई बिम्बको रूपमा प्रयोग गर्छन् । जसमा घोडा र काग विशेषरूपले प्रयोग गरेको पाइन्छ । यसबाहेक पनि माछा, महिला, झिँगा आदिलाई पनि उनी प्रतिविम्बको रूपमा प्रयोग गर्छन् । 

 उनी भन्छन् “मैले घोडालाई शक्ति र वेगको रूपमा प्रयोग गर्छु, कागले सन्देशबाहकको रूपमा प्रतिबिम्बित गर्छु, फुल र माछाले सकारात्मक सोच बताउँछन् भने महिलाले प्रकृति र चराले स्वतन्त्रता वर्णन गर्छन् ।”

 यसरी चित्र बनाउने शिक्षक सुन्दर क्यानभासमा रङ्गको कुची मात्र चलाउँदैनन् , कविता पनि लेख्छन् । उनले २०७६ मा शुसेलीरहेको मान्छे नामक कविता संग्रह नै प्रकाशित गरेका छन् ।

जुन हेराइ चिन्तन सँगै शून्य हुन्छ

त्यो शून्य आकाश हो

शून्यता निलो हुन्छ

प्रतिविम्ब आकास पनि निलो झैँ लाग्छ

हरेक निमेष भद्र शून्यतामा परिवर्तन हुँदैछन्

निन्द्राहरु एकाएक ओछ्यानबाट लिप्त् हुँदैछ

लाग्छ ! आँखा खुल्लै छ ‍

          कविता : सुन्दर लामा / शुशेलीरहेको मान्छेबाट

 उनलाई आफ्नो कविता सङ्ग्रहको पनि खुब माया लाग्छ उनी भन्छन् “मैले शुसेलीरहेको मान्छेमा आफूलाई पोखेको छु” ।  कला क्षेत्रले दिएको सबैभन्दा ठूलो उपहार चाहिँ के हो भनेर सोध्दा उनले सहजै उत्तर दिए “सन्तुष्टि”

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *