म्यादी मोह : ४० दिने रोजगारी, टन्टलापुर घाम अनि दिनभरको तनाव (फोटो फिचर)
म्यादी प्रहरीका लागि आवेदन दिने पहिलो दिनमा नै काठमाडौंमा मात्र ९ सय ८६ जनाको आवेदन दर्ता भएको छ । जसमध्ये २ सय ८५ जना महिला र ७ सय १ जना पुरुष रहेको महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंले जानकारी दिएको छ ।
अठार वर्षदेखि ५४ वर्षसम्मका आवेदकहरूको भिडले टेकु वरिपरिको माहोल दिनभर अस्तव्यस्त नै बनायो । पूर्वसुरक्षाकर्मी, पूर्व म्यादी प्रहरी, विद्यार्थी, दैनिक ज्यालामजदुरी गर्नेहरूदेखि विदेशबाट फर्किएका र जान खोजिरहेकाहरू ४० दिने रोजगारीका लागि चर्को घाममा फारम भर्न लामवद्ध थिए । फारम बुझाउने समय ५ बजेसम्म मात्र भएकाले सयौं आवेदकहरु घण्टौंसम्म लाइनमा बस्दा पनि पालो नपाएर निराश हुँदै फर्किएका छन् । आज फारम बुझाउन नपाएका आवेदक भोलीफेरी उस्तै ठेलमठेल, चर्को गर्मी अनि घण्टौं समय पर्खिएर आवेदन बुझाउनु पर्ने हुन्छ ।
सरकारले स्थानीय तह निर्वाचनका लागि ४० दिनका लागि भनेर १ लाख जना म्यादी प्रहरी भर्ना गर्न लागेको छ। ११ चैतसम्म आवेदन दिने समयावधि तोकिएको भएता पनि पहिलो दिन नै महानगरीय प्रहरी परिसर टेकु काठमाडौं लगायत देशैभरीका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा फारम बुझाउनेको अत्याधिक भीड देखिएको छ ।
नेपाल प्रहरीका केन्द्रिय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले प्रहरीप्रतिको आकर्षण, छोटो समयको रोजगारी र आकर्षक तलबका कारण आवेदकको संख्या उच्च भएको बताउँछन् । प्रवक्ता विष्णु कुमार भन्छन्, “आवेदन धेरै हुनुमा देशमा विद्यमान बेरोजगारी प्रमुख कारण त हो नै तर यसलाई हामीले सुरक्षा निकायप्रतिको आस्था र प्रहरीप्रतिको आकर्षणका रुपमा पनि बुझेका छौं । छोटो समयका लागि सुरक्षा निकायमा काम गर्न पाउनु र प्रहरी जवान सरह तलब पाउनुलाई धेरैजनाले महत्वपूर्ण अवसरका रुपमा लिएका छन् । म्यादी प्रहरीमा आवेदन दिने कतिपयले सुरक्षाकर्मी हुने लक्ष्य पनि राखेका हुन्छन्, उनीहरूका लागि यो अवसर ४० दिने रोजगारीभन्दा ठूलो हो ।”
विगत डेढ दशकभन्दा लामो समयदेखि युवा र वैदेशिक रोजगारी केन्द्रित अध्ययन अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता तथा विश्लेषक डा. प्रकाश भट्टराईले नेपालको निर्वाचन तुलनात्मक रुपमा हेर्दा जोखिमरहित हुने भएकाले र वैदेशिक रोजगारीमा पनि सेक्युरिटी गार्डमा नेपालीहरू धेरै जाने भएकाले वैदेशिक रोजगारीमा जान तयार भएर पासपोर्ट बनाएकाहरूले म्यादी प्रहरीको रोजगारीलाई उपयोग गरिरहेको बताउँछन् । डा. प्रकाश भन्छन्, ” नेपालमा भएका निर्वाचनहरू सुरक्षित रुपमा हुने गरेका छन् जसले गर्दा धेरै जनाले सहज कामका रुपमा म्यादी प्रहरीमा भर्ना हुने गरेका छन् । म्यादी प्रहरीमा काम गर्ने अवसर पाएमा वैदेशिक रोजगारीमा सेक्युरिटी गार्ड, सुरक्षाकर्मीका रुपमा काम गर्न जानेलाई फाइदा हुने गरेको छ ।”
निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन हुने र उनीहरूको तलब नेपाल प्रहरीको जवान सरह हुने प्रहरी प्रधान कार्यालय नक्सालको मानव स्रोत तथा प्रशासन विभागले जनाएको छ । आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ रहेकोमा ४० दिनको कुल तलब ३० हजार २४० रुपैयाँ म्यादी प्रहरीले पाउने छन् । यसका अतिरिक्त म्यादी प्रहरीले पोसाकका लागि ६ हजार, रासनका लागि एकमुष्ट ७ हजार २ सय र सवारी खर्चबापत एक पटकका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले पाउने छन् । चैत १५ बाट म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु गरेर चैत २२ सम्ममा अन्तिम नतिजा प्रकाशन गर्ने र चैत २८ मा प्रशिक्षण सुरु गर्ने नेपाल प्रहरीको योजना रहेको छ ।
फोटोहरू: सुप्रिम बिष्ट/जीविको