वैदेशिक रोजगारीको आफ्नो अनुभव साट्नुहोस् र पुरस्कार जित्नुहोस्
नेपाल ट्रेड युनियन महासंघ (जिफन्टले ) वैदेशिक रोजगारीमा रहँदाको अनुभव लेखनको लागि आव्हान गरेको छ । वैदेशिक रोजगारीको क्रममा हाल विदेशमा भएका वा स्वदेश फर्किएकाहरूले आफू रोजगारीका लागि पहिलो पटक विदेशी जाँदाको अनुभव भोगेका अनुभवहरूलाई समेटेर लेख लेख्न सकिने छ । जसमा मेनपावर कम्पनी कसरी छनोट गरियो । मेनपावर कम्पनी ठीक थियो वा थिएन र विदेश जान चाहने हरूलाई के सुझाव दिन सकिन्छ भन्ने जस्ता विषयमा केन्द्रित रहेर लेख लेख्नुपर्ने जि-फन्टले बताएको छ ।
यसरी लेखिने लेख बढिमा २ सय शब्दको हुनुपर्ने छ । प्राप्त लेखकहरूमध्ये उत्कृष्ट ३ लेखलाई छानेर जिफन्टले क्र.म.श २५ हजार, १५ हजार, र दश हजार नगद पुरस्कार प्रदान गर्नेछ । लेखहरू आउँदो मार्च २५ ( चैत्र ११ ) गते सम्म संस्थाको इमेल ठेगाना [email protected] मा पठाउन सकिने छ । लेखकले आफ्नो लेख पठाउँदा हाल बसोबास गर्दै आएको देश ह्वाट्सएप, इमो, फोन नम्बर तथा फेसबुक आईडी पनि खुलाउनु पर्ने छ । थप जानकारी www.recritmentadvisor.org/np मा प्राप्त गर्न सकिने छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले यसरी आफ्ना अनुभवहरू लेख्दा अहिले विदेशिन चाहेका युवाहरूलाई राम्रो मेनपावर खोज्न सहज होस् भन्ने हेतुले यो कार्यक्रम सुरुवात गरिएको कार्यक्रमका आयोजक सुनिल न्यौपानेले जानकारी दिए । “श्रमिकहरूले दुःख सुखका आफ्ना अनुभव सुनाउँदा के गर्दा ठगीमा परिने रहेछ, कसरी जाँदा वैदेशिक रोजगारी सहज हुने रहेछ, र कसरी राम्रो मेनपावरको खोजी गर्ने जस्ता विषयमा यो प्रतियोगीबाट अनुभव आउँदा विदेशिन चाहने नयाँ श्रमिकले थुप्रै कुरा सिक्न पठाउँनेछन्,” सुनिल सुनाउँछन् ।
यस किसिमका कार्यक्रमहरू जिफन्टले पहिला पनि गर्दै आएको र पछि पनि यसलाई निरन्तरता दिने उनले बताए। प्रतियोगिताको आयोजना गरेको नेपाल ट्रेड युनियन महासंघ, निरंकुश पञ्चायती शासन कालमा २०४६ साउन ५ ( जुलाई २०, १९८९ ) मा भूमिगत रूपमा स्थापना भएको हो । जिफन्टमा कृषि, उद्योग र सेवा क्षेत्र गरी तीनवटै क्षेत्रलाई समेटी उत्पादनमूलक उद्योग र कारखाना, खनिज– रसायन–फलाम, खाद्यपेय पदार्थ, टेक्सटाइल, गार्मेन्ट, गलैंचा तथा जुट, यातायात, अटोमोबाइल, रिक्सा तथा पेट्रोलियम, होटल, रेष्टुराको, ट्रेकिङ, ट्राभल, वायुसेवा तथा र्याफ्टिङ , कृषि तथा चिया बगान, प्रिन्टिङ प्रेस, निजी तथा आवासीय विद्यालय, बैंक तथा वित्तीय क्षेत्र, निजी–सहकारी , निजी क्षेत्रका कर सहयोगी, निर्माण, स्वरोजगार व्यापार, सुरक्षा गार्ड, सफाइ, घरेलु र घर आधारित श्रम, कुरियर/कार्गो देखि सुनचाँदी कालिगढ, थाङ्का कला, नाई तथा ब्युटी पार्लरको, अस्पतालका स्वास्थ्यकर्मीदेखि स्वास्थ्य स्वयंसेवी लगायतका मजदुर तथा श्रमजीवी वर्ग सङ्गठित छन् ।
सदस्य सङ्ख्याको हिसाबले देशको सबैभन्दा ठूलो ट्रेड युनियन महासङ्घको रूपमा क्रियाशील जिफन्टमा छैटौँ राष्ट्रिय महाधिवेशनसम्म पञ्जिकाधिकारी कार्यालयमा दर्ता भएका २० वटा राष्ट्रिय ट्रेड युनियन सङ्घहरू आबद्ध छन् । ती सदस्य संघहरूमाथि ३ लाख ८७ हजार ४ सय १८ (२०७० चैतसम्मको तथ्याङ्कका आधारमा ) श्रमिकहरू सङ्गठित छन् । पाँचौँ राष्ट्रिय महाधिवेशनदेखि निर्वाचित राष्ट्रिय कमिटीमा ३३% महिला प्रतिनिधित्व कायम छ ।