आखिर कोही मान्छे आफ्नो व्यवसायमा यति धेरै सफल कसरी हुनसक्छ ?
उनलाई धेरैले डाक्टर भन्छन्, ‘मोटरसाइकलको डाक्टर’। यसरी ‘मोटरसाइकलको डाक्टर’ भन्नु पछाडि केही कारणहरू भने अवश्य छन् । बिरामीको अवस्था हेरेर कुनै चिकित्सकले रोग पत्ता लगाए जस्तो मोटरसाइकलको आवाज सुनेर श्रीरामले त्यसको समस्या सहजै पत्ता लगाउँछन् र समाधान पनि निकाल्छन् । डाक्टर घन्टौँसम्म अस्पतालमा खटे जस्तै उनी पनि दैनिक १३-१४ घण्टासम्म वर्कसपमा खट्छन् । रोग निको भएपछि बिरामी जसरी डाक्टर प्रति कृतज्ञ हुन्छ त्यसैगरी उनका सेवाग्राहीहरू पनि आफ्नो दुईपाङ्ग्रे बनेपछि उनी प्रति आभार प्रकट गर्छन् ।
आखिर कोही मान्छे आफ्नो व्यवसायमा कसरी यति धेरै सफल हुन सक्छ ? उनी सहजरूपमा उत्तर दिन्छन् “इमान्दारिता, लगनशीलता र धैर्यता छ भने कुनै पनि व्यवसायमा सफल हुन सकिन्छ”
हेर्नुहोस्, मोटरसाइकलका डाक्टर श्रीरामको भिडियो कथा
हुन पनि श्रीरामले हिजोको आज नै यो सफलता पाएका होइनन् । धादिङ जिल्लाको कुम्पुरमा सात वटा सन्तान मध्ये कान्छो छोरोका रूपमा सेडाई परिवारमा जन्मिएका श्रीराम गाउँमा धेरै डुल्यो भनेर माइली भाउजूको करकापमा काठमाडौँ आए । उनको माइलो दाइको सानो वर्कसप थियो । दाइ र एकजना सहयोगीले जसोतसो वर्कसप चलाइरहेका थिए । १०-११ वर्षको उमेरदेखि नै उनी वर्कसपमा आएर मोटरसाइकल बनाएको हेरेर बस्थे । शुक्रबार स्कुल छुट्टी भएदेखि शनिबार साँझसम्म उनको बास वर्कसपमै हुन्थ्यो । १३-१४ वर्षको हुँदा त उनले फाट्टफुट्ट काम गरेर अलिअलि पकेट खर्च जुटाउने भइसकेका थिए । झण्डै डेढ दशकदेखि यही काम गर्दै आइरहेका श्रीरामले अन्त कतै औपचारिक तालिम लिन भने गएनन् । उनका लागि त्यही वर्कसप तालिम केन्द्र थियो र आफ्नै दाइ थिए ट्रेनर ।
एस.एल.सी लगत्तै श्रीरामले पुरै समय वर्कसपमै काम सिकेर बिताउन थाले । एस.एल.सी पछि उनका लागि यो ब्रिजकोर्स नै थियो भन्दा पनि हुन्छ । त्यसपछि उनी प्लसटु भर्ना भए र बिहानको समयमा पढ्न जान थाले अनि दिउँसोदेखि रातिसम्म वर्कसप मै काम गर्थे उनी ।
अब भने श्रीराम धेरै हदसम्म मोटरसाइकलका समस्यामा जानकार भइसकेका थिए । वर्कसपमा मोटरसाइकल र मेकानिक्सको संख्या थपिँदै गएको थियो । बिस्तारै दाइले वर्कसपको सम्पूर्ण जिम्मेवारी भाइलाई दिए । १८ वर्षको उमेरमा नै श्रीरामले वर्कसपको पूर्ण जिम्मेवारी लिए । मर्मतका लागि ल्याइने मोटरसाइकललाई इमानदार भएर बनाउने गर्थे । उनी भन्छन्, “रिन्च र सिरिन्ज चलाउने मान्छेले चाह्यो भने सजिलै ठग्न सक्छ तर त्यो ठगी केही क्षणको लागि मात्र हुन्छ”
उनले क्षणिक फाइदालाई हेरेनन् । त्यसैले त उनले गरेको काम मन पराएर साँखु, थानकोट, भक्तपुर जस्ता टाढाटाढाका ठाउँबाट पनि मान्छेहरू मोटरसाइकल बनाउन सिनामङ्गलसम्म आइपुग्छन् । सर्वसाधारणदेखि विभिन्न सरकारी निकायका उच्च तहका कर्मचारीहरू, उद्योगी, व्यापारीहरू उनको वर्कसपका नियमित सेवाग्राही हुन् । दैनिक ३० वटा जति मोटरसाइकल केही न केही रुपमा बनाउन आइपुगेका हुन्छन् । मोटरसाइकल कहीँ बनेन भने श्रीरामकोमा बन्छ भन्ने विश्वास छ उनीहरूलाई । छ जना मेकानिक्सलाई खाने बस्ने व्यवस्था सहित काममा राखेका छन् उनले । यस दौरानमा वर्कसपसँगै पार्ट्स र रिकन्डिसन सोरुम पनि सञ्चालन गरेका छन् । उनकै वर्कसपमा काम सिकेका २५ जनाभन्दा बढीले अहिले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । कतिपय साथीभाइले उनलाई “अब त अरुलाई काम लगाएर आफू आनन्दले बस” भन्छन् तर उनी अहिलेपनि बिहान ९ बजेदेखि राति १० बजेसम्म अन्य मेकानिकसंगै खट्छन् । उनी भन्छन्, “मसँग भएको यो सीपलाई उपयोग गरिएन भने त त्यो फ्रिज भइहाल्छ नि”
खर्च, बचत र लगानीमा सन्तुलन मिलाउँछन् उनी । परिश्रमको पैसा फजुल खर्च गर्नु हुँदैन भन्ने उनको मान्यता छ । त्यही वर्कसपबाट उनको संयुक्त परिवारको आवश्यकताहरू पूरा हुँदै आइरहेका छन् । आफ्नो व्यवसायको दायरालाई फराकिलो बनाएका छन् श्रीरामले । महिनाको अन्तिम शनिबार मात्र उनले विश्राम पाउँछन् । धेरै जनाको विश्वासको पात्र हुन पाउँदा गर्व गर्छन् उनी। सीप भयो भने सानै लगानीमा पनि व्यवसाय सञ्चालन गरेर त्यसलाई विस्तार गर्न सकिन्छ भन्छन् उनी ।
“विदेश पलायन कसैको इच्छा त कसैको बाध्यता होला तर २/४ पटक नेपालमै ट्राई अगेन किन नगर्ने ?” उनी प्रश्न गर्छन् ।
…………..
स्वदेशमै मेहेनत गरेर गरिखाएका यस्तै परिश्रमी युवाहरूलाई तपाईंले पनि भेट्नुभएको छ भने हामीलाई फेसबुक पेजमा म्यासेज गर्नुहोस् । हामी बनाउने छौं कर्मशील व्यक्तिका कथाहरू ।